`

इलाममा किशोरीको शव गाडिएको अवस्थामा फेला

इलाम । इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो ।

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।

देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल महिला गएको अवस्थामा यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए ।

मकवानपुरमा सवारी दुर्घटनामा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१च ३०१२ नम्बरको जीप एकापसमा ठोक्किँदा जीपका चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाजवादी मोर्चाले प्रदर्शनी मार्गको सडकमै बनायो मञ्च

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनी मार्गमा हुने सभाका लगि मञ्च निर्माण गरेको छ । मोर्चाले राष्ट्रिय सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपाले राजावादीलाई काउन्टर दिन आज प्रदर्शन गर्न लागेका हुन् ।

त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् । दुई पक्षको प्रदर्शनका कारण उपत्यकाको सवारीआवागमन विहानैदेखि प्रभावित भएको छ ।

एसइईका परीक्षार्थीले घर फर्किन सवारीसाधन नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं । काठमाडौं महानरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट फर्किन समस्या भएर खबर गर्न आग्रह गरेको छ ।

काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो । महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताएको छ ।

महानगर प्रहरी बलले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न आग्रह गरेको छ । गणतन्त्रवादी र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।

सरकार डिजिटल मिडियालाई नियन्त्रण गर्ने मुडमा छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुःखद भएको बताएका हुन् ।

‘प्रविधिको विकाससँगै डिजिटल मिडियामा हरेक नागरिकको सहजै पहुँच भएकाले सामाग्री उत्पादन तथा प्रशारण गर्ने डिजिटल सामाग्री उत्पादहरु झनै जिम्मेवार हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

पछिल्लो समय समाजमा नकारात्मक सन्देशहरु फैलाउने पत्रकारिताको न्यूनतम मर्यादा विपरीत कार्य गर्ने लगायतका गतिविधिहरु बढेको भन्दै त्यसलाई सुधार्ने नेतृत्व डिम्यानले गर्नुपर्ने बताए ।

डिम्यानका पदाधिकारीहरुले सरकारले राष्ट्रिय सभामा पेश गरेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक डिजिटल मिडियामैत्री बनाउन माग आग्रह गरेका थिए ।

डिम्यानले उठाएका सवाललाई सकारात्मकरुप लिएको भन्दै प्रधानमन्त्री ओलीले व्यवसायिकरुपमा कानुनसंवत सञ्चालनमा आएका डिजिटल मिडियाहरुलाई सरकारले संरक्षण गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘समाजमा नकारात्मक सन्देश र भ्रम फैलाउनेहरू बढेका छन् त्यसैले विद्येयक नियन्त्रणका लागि होइन, नियमनका लागि ल्याइएको हो, सकारात्मक सुझावहरु समेटिने छन्।’

प्रधानमन्त्री ओलीले कानुनसम्वत संचालनमा आएको डिजिटल मिडियाहरु संगठित भएकोमा खुशी व्यक्त गर्दै डिजिटल मिडियाहरुमा देखिएको विकृत अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।

गणतन्त्र पक्षधर र राजावादी समूहले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् । प्रदर्शन हुने भएपछि सरकारले उपत्यकाको सुरक्षालाई चुस्त बनाएको छ।

प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ।

दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन् ।

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए । सुरक्षाका लागि आज दुई हजार पाँच सय प्रहरी परिचालन गर्ने उनले बताए ।

गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दूराज्यको माग राखी राप्रपासहित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ।

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार, विश्व बैंक समुहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।

साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।

यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरु विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।

उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरुमा निजी क्षेत्रको प्रवद्र्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।

तस्करीका सामान छुटाउन ३० हजार घुस लिने प्रहरीका सई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ ।

प्रहरी चौकी दुर्गाैलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

३० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जनाको नेपाली सेनाद्वारा उद्दार

काठमाडौं । कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जना स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुरयाएको नेपाली सेनाले जनाएको छ ।

त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ। लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो।

कसैले रहर गरेर राजसंस्था आउँदैनः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब राजतन्त्र पुनःस्थापित हुने सम्भावना नरहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको विकल्प नभएको बताएका हुन् ।

उनले जनताको इच्छानुसार गणतन्त्र आएको भन्दै कसैको रहरमा अर्को व्यवस्था आउन नसक्ने बताए । सभापति देउवाले नेपाली जनताले गणतन्त्र मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे ।

उनले भने, ‘बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथीहरू लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ। कसैले रहर गरेर हुँदैन। राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन।’

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

काठमाडौँ  । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आएका छन् ।

अहिले ६७ वर्षको उमेरमा पनि उनी आफ्नो पेशा र कामप्रति युवावस्थामा जस्तै समर्पित र गम्भीर देखिन्छन् । युवा कलाकारजस्तै सक्रिय भई मेहनतका साथ कर्म गर्छन् । यसै सन्दर्भमा आयोजित एक कार्यक्रममा वरिष्ठ अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने भएकाले आत्मअनुशासनमा जोड दिई लगनशील भई काम गर्नुपर्ने बताए ।

उनले भने, “चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटू ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको हो, जस्तो लाग्छ ।”

नकारात्मक सोचबाट मुक्त भई स्वस्फूर्त रूपमा लगनशील भई काममा समर्पित हुन सुझाव दिँदै हाँस्य अभिनेता आचार्यले समर्पणभावले आफू सम्बद्ध पेशा, व्यवसायमा होमिए सफल होइने दृष्टान्त पेश गरे ।

‘मह’जोडीका रूपमा स्थापित वरिष्ठ कलाकार ‘द्वय’लाई समर्पण र निष्ठाको उपजका रूपमा लिने गरेको पाइन्छ । उनीसँगै ‘मह’ जोडीका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाउन सफल भएका छन् ।

रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्य लामो समयदेखि नाटकमा भूमिका निर्वाह नगरेको बताउँछन् । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटकउस्तै भएको अभिनेता आचार्य बताउँछन् ।

“नाटक र प्रहसनउस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन”, उनले भने ।

उनले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काँख झैँ भएकाले यहाँ सिकिने कलाकारिता दीगो हुने अनुभव सुनाए । राष्ट्रिय नाँचघरमा ‘गुरू हरिप्रसाद रिमाल’सँग नाटक तथा कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै वरिष्ठ अभिनेता आचार्यले अभिनयमा रुचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।

“मैले आदरणीय गुरू रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकें, त्यहाँ मैले मदन दाईसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र ४०० को हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो”, उनले भने ।

हाँस्य कलाकार आचार्यले अभिनय गरेको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देखेपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको भनी निवेदन दिएको रहेछ । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरेपनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताए ।

“मैले राम्रो ‘अडिसन’ दिए पनि मेरो उमेरका कारण ट्रक चालकसँग सहचालकको भूमिका गर्न पाइन् । उक्त भूमिका गर्दा बालश्रमका समस्या देखिने भएपछि मैले एउटा सानो भूमिका गरेँ । त्यसपछि ‘सिन्दुर’मा एक ज्योतिषको भूमिका निर्वाह गरेँ”, उनले भने ।

स–साना भूमिकामा देखिएता पनि उनले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने अवसर प्राप्त गरे । त्यसपछि अभिनयमा सक्रिय रहेका अभिनेता आचार्य अहिले पनि उस्तै रूपमा निरन्तर क्रियाशील छन् । आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरूका चलचित्रमा पनि कलाकारका काम गर्न रुचाउँछन् ।

“अन्य कलाकर्मीका चलचित्र तथा प्रहसनमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ”, उनले भने ।

उनले अभिनय गरेको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ ।

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु

कायरो । इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि ६ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन् ।

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए ।

पनडुब्बी किन डुब्यो भन्ने कुरा तुरुन्तै स्पष्ट भएन । इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो ।

पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीहरूले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन् ।

इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु

गाजा । इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) ले जनाएको छ ।

समूहले उत्तरी गाजाको जबालिया क्षेत्रमा रहेको एक टेन्टमा भएको ‘हवाई’ आक्रमणमा मारिएका अब्दुल लतिफ अल–कानौको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

मार्च १८ मा इजरायलले गाजामा आफ्नो बमबारी अभियान पुनः सुरु गरेसँगै गाजामा हप्तौंको सापेक्षिक शान्ति कायम गरेको कमजोर युद्धविराम समाप्त भएको थियो। हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ८५५ जनाको मृत्यु भइसकेको छ ।

कानौ हालै इजरायलको आक्रमणमा मारिएका हमासका पछिल्लो उच्च पदस्थ अधिकारी हुन् । इजरायली सेनाले गत साता हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख रसिद जाहजौहलाई हवाई आक्रमणमा मारिएको बताएको थियो ।

केही दिनअघि हमासले गाजा पट्टीमा आफ्नो सरकारका प्रमुख एसाम अल डालिस र गृह मन्त्रालयका प्रमुख महमुद अबु वात्फालाई आक्रमणमा मारिएका अधिकारीहरूको सूचीमा राखेको थियो।

इजरायली सेनाले सन् २०२१ को जुनमा गाजामा प्रशासनको प्रमुख बनेका हमासको राजनीतिक ब्यूरोका सदस्य डालिसको मृत्यु भएको पुष्टि गरेको छ ।

हमासले आफ्नो राजनीतिक ब्यूरोका सदस्य सालाह अल बर्दाविल र यासेर हर्बको मृत्यु भएको पनि पुष्टि गरेको छ ।हमासले बिहीबार भनेको छ, “हमास आन्दोलनका नेता र प्रवक्तालाई निशाना बनाउने कार्यले हाम्रो इच्छालाई तोड्ने छैन ।” 

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेश विजयी

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

बाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल ग¥यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए ।

उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।

बाग्मती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक/एक विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । बाग्मतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।

मधेसका लागि हरिशङ्कर साह, पवन सर्राफ र अनिल साहले समान दुई/दुई विकेट लिए ।
प्रतियोगितामा चार जित र पाँच हारसहित आठ अङ्कले सातौं स्थानमा छ भने चार जित र पाँच हारसहित बाग्मती अङ्कतालिकाको चौथो स्थानमा छ । उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालसँग छलफल गरेको छ ।

मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अङ्कभन्दा नीतिगत रुपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उनले सङ्घीयताको मूल मर्म र भावना, सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार सङ्घमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकारबीचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घीय सरकारले गर्दा सङ्घीयता बलियो नहुने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाको समीक्षा गरी सङ्घीय योजनामा केन्द्रित हुन, कार्यक्रम तथा योजना रोक्न, घटाउन, समायोजन गर्न, अत्यावश्यक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समयअनुसार जनता केन्द्रित कार्यक्रम तथा योजना समावेश गर्न आग्रह गरे । उनले तीन करोडभन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गरे ।

अर्थमन्त्री पौडेले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्न पनि जोड दिए । कार्यक्रम तथा योजना पेस गर्दा रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्न उनले आग्रह गरे ।

उपलब्ध साधनस्रोतलाई ख्याल गर्दै जनताको आङ्काक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेगरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ छ ।

दुईदिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल गरी बजेट विनियोजनाका साथै पुँजीगत खर्चमा विशेष ध्यान दिन आग्रह गरेको थियो ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गर्दै आएको छ । तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम देखा पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, सङ्घीय मामिला, उद्योग, स्वास्थ्य, ऊर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरेको थियो । आगामी बजेटका सम्बन्धमा बाँकी मन्त्रालयसँग पनि छलफल गर्ने अर्थ मन्त्रालयको कार्यक्रम छ ।

नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौं । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।

भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासङ्घको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’मा सहभागी भारतका व्यावसायिक घरानाले, नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड दिए ।

उनीहरुले लगानी गरेपछि प्रतिफलको सुनिश्चितता, सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्नेलगायत जलविद्युत् आयोजनाले सामना गर्नुपरेका समस्या समाधानमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)का आयोजना निर्देशक सुशील शर्माले नेपालमा काम गर्न वन, जग्गा प्राप्ति, भन्सार र सडकको समस्या रहेकाले ती समस्या समाधानमा सरकारले सहजीकरण गरिरहेको उल्लेख गरे ।

एसजेभीएनले २१७ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरिरहेको र सरकारको सहयोग रहेकाले ९०० मेगावाटको आयोजना तीन वर्षमै ८४ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

अरुण–३ मा ३४ हजार करोड भारतीय रुपैयाँ लगानी गरेर २५ वर्षपछि सरकारलाई हस्तान्तरण गरिने भएकाले यसले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उनको दाबी थियो । यो आयोजनाले भारतीय लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने शर्माले बताए ।

अडानी ग्रूपका उपाध्यक्ष जयरमन पुनिधानले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न कम्पनीले राम्रा आयोजनाको खोजी गरिरहेको बताए । विश्वभर २७ हजार ३०० मेगावाट विद्युत् उत्पादनका लागि अडानी ग्रुपले ‘एमओयू’ गरेको जानकारी दिँदै उनले अडानीको प्राथमिकतामा छिमेकी मुलुक र क्षेत्रीय ऊर्जा बजार रहेको उल्लेख गरे।

भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारतबीच एक हजार मेगावाट विद्युत् आदानप्रदानको संरचना तयार भइसकेको र आठ हजार मेगावाट विद्युत् आदानप्रदान गर्ने क्षमताका चारवटा प्रसारणलाइन निर्माणाधीन भएकाले नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि समस्या नहुने बताए ।

उत्तर भारत हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक नरेश गोयलले नेपाल सरकारले प्रशासनिक अवरोध हटाएर लगानीको वातावरण बनाइदिएमा भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताए ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राप्तिका लागि दूतावासले सम्मेलन आयोजना गरेको बताए । उनले भारतीय लगानीकर्ताले नेपालमा आयोजनाको स्वामित्व किनेर वा ‘जोइन्ट भेन्चर’मा पनि काम गर्न सक्ने जानकारी दिए । 

संसद बैठक बस्दै नबसी शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसे स्थगित गरिएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

तर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने  प्रतिपक्षीले अडान नछाडेपछि दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।

शुक्रबारको प्रदर्शनमा शान्ति सुरक्षाप्रति गम्भीर हुन सरकारलाई आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले गर्ने प्रदर्शनमा सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।

बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन दिएका हुन् ।

आयोगसँगको छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर सुरक्षा योजना तयार पारिएको जानकारी गराएका थिए ।

त्यसक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समर्थकबीच छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।

आयोगले विभिन्न टोलीहरू बनाएर शुक्रबारको प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने बताएको छ ।

वीरगञ्ज नाका हुँदै आठ महिनामा तीन खर्ब ९० अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आवको आठ महिनामा तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार चालु आवको आठ महिनामा एक खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने एक खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

यो नाका हुँदै चालु आवको आठ महिनामा २९ अर्ब २९ करोड मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको पनि सोही समयमा भटमासको कच्चा पदार्थ पाँच अर्ब ७८ करोड मूल्य बराबरको भित्रिएको थियो । चालु आवको आठ महिनामा २२ अर्ब ५१ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिमा २१ अर्ब ९४ करोड मूल्य बराबरको आयात भएको थियो ।

चालु आवको आठ महिनामा २१ अर्ब ६७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात भएको छ भने गत आवमा १८ अर्ब ६५ करोड मूल्य पर्ने सोही सामान आयात भएको थियो । चालु आवको आठ महिनामा ११ अर्ब ६८ करोड मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन् ।

गत आवको सोही अवधिमा १० अर्ब १० करोड मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए । 

नेप्से ४१ अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।

आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव ३०, होटल तथा पर्यटन शून्य दशमलव ४४, जलविद्युत् एक दशमलव शून्य नौ र लगानी समूह दुई दशमलव २० प्रतिशतले बढेको छ ।

त्यस्तै जीवन बिमा एक दशमलव ७१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, लघुवित्त दुई दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ८५ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य एक दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ ।

‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई तोक्यो कमान्डर

काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ ।

नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई कमान्डर तोकेको हो ।

बिहीबार काठमाडौंमा अयोजित पत्रकार सम्मेलनमा सुवेदीले प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई समर्थन रहने बताए । प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै शुक्रबार काठमाडौंमा तीनकुनेमा प्रदर्शन हुँदैछ ।

महिला एसियन कप–२०२६ को छनोटमा नेपाल समूह एफमा

काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप–२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।

एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।

सिनामंगलबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौको सिनामंगलबाट करिव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

खोटाङको लामिडाँडा–७ घर भई काठमाडौ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षीया लक्ष्मी परियारलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ।

साथै उनीहरुले प्रयोग गरिरहेको दुई थान मोटरसाईकल, ६ थान मोवाइल र केही नगद समेत बरामद गरिएको उनले बताए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरीलाई बुझाइएको छ।

यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५÷५ किलोग्राम सोही लागूऔषधसहित तीन युवकलाई नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसद्वारा आर्मीलाई १४९ रनको लक्ष्य

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणअन्र्तगत अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १४९ रनको लक्ष्य दिएको छ ।

रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाएको हो ।

पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौक र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यसैगरी आरिफ शेषले २२ रन र गुलशन झाले १७ रन बनाएका छन् ।

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका साहब आलमले चार विकेट लिँदा नरेन साउदले तीन, कुशल मल्ल र भीम सार्कीले समान एक/एक विकेट लिए ।

आठ खेल खेलेको पुलिस अहिलेसम्म अविजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । आठ खेल खेलेको आर्मी सात खेलमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनलमा पुगिसकेको छ ।

आजको खेल जुन समूहले हारे पनि फाइनल समीकरणमा यसको कुनै असर हुने छैन् । यही चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यी दुवै समूहबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेका छन् ।

अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्। ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताएका छन् भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिए ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताए ।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ।”

घोषणामा भनिएको छ, “यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजे पछि लागू हुनेछ र यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ । अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन् ।”

ट्रम्पले क्यानडा र युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्याउन मिलेर काम गरेमा ‘हालको योजना भन्दा धेरै ठूलो मात्रामा कर लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’ को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्युन ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताए ।

उनले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेको र सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गरे ।

वासिङ्टनको करले ट्रम्पका सहयोगी तथा टेस्लाका मालिक एलन मस्कले आफ्नो फर्मको कारमा लागत प्रभावलाई ‘प्रभाबित’ नगरेको बताएका थिए ।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन् ।

नयाँ करहरू उत्पादनहरूको लागि पहिले नै लगाइएका करको अतिरिक्त कर हुनेछ तर ह्वाइट हाउसले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत प्रवेश गर्ने सवारी साधनले आफ्नो अमेरिकी सामग्रीको आधारमा कम दरका लागि योग्य हुन सक्ने बताएको छ ।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले मन्दी निम्त्याउन सक्ने चिन्ताले वित्तीय बजारलाई तरंगित बनाएको छ र हालैका महिनाहरूमा उपभोक्ताको विश्वास पनि घटेको छ।

ट्रम्पको घोषणा अघि नै जनरल मोटर्स र स्टेलेन्टिसको शेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो।

जापानमा कार निर्माता कम्पनी निसानले २.५ प्रतिशत, होन्डाले ३.१ प्रतिशत र मित्सुबिशी मोटर्सले ४.५ प्रतिशतले गुमाएका छन् भने माज्दा र सुबारुले करिब छ प्रतिशतले शेयर मूल्य गुमाएका छन् । दक्षिण कोरियाको हुण्डाई कम्पनी सियोलमा २.७ प्रतिशतले पछि परेको छ ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा करहरूको बचाउ गरेका छन् । तर आयातित कारलाई लक्षित गर्दा जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको र जर्मनीजस्ता नजिकका साझेदारहरूसँगको सम्बन्ध बिग्रन सक्छ। 

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुने

पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं सङ्घका पूर्वअध्यक्ष डा. शेष घलेले सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियामा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा सङ्घको महाधिवेशन हुने बताएका हुन् । घलले भने, “तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनैपनि हालतमा मिति परिवर्तन हुँदैन ।”

उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरुलाई आह्वान गरे । आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भइ एकताको महाधिवेशनलाई सफल पार्न घलले आग्रह गरे ।

पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए ।

सङ्घका पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका अर्का सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधि अनुरूप एकताको महाधिवेशन तयारी भइरहेको बताए ।

सङ्घका अध्यक्ष राजेन्द्रकुमार शर्माले सङ्घलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरुको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी मिलेर पूरा गर्नुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा सङ्घको एकता महाधिवेशनको मिति तय गरिसकेको छ ।

एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्नु गलतः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् ।

महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।

उनले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरे । ‘वषौँसम्म त्यही निकायमा कामा गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।’
प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तज र विकासको यात्रामा अघि

बढेको बताए । उनले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

कार्यक्रममा वरिष्ठ समाजसेवी अनुराधा कोइरालालगायतलाई प्रधानमन्त्रीबाट सम्मान गरिएको थियो । आजदेखि यही चैत १८ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।

चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको भनाइ

बेइजिङ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान गरेका छन् ।

युक्रेनमा रुसी युद्धको समाधानका साथै मध्यपूर्वको द्वन्द्व र चीन र युरोपेली सङ्घबीचको व्यापार तनावको समाधानमा वार्ता केन्द्रित हुने पेरिसले अपेक्षा गरेको छ ।

ब्यारोटले बिहीबार बिहान बेइजिङमा चीनका उच्च कूटनीतिज्ञ वाङलाई भेटेर भने, “जताततै सङ्कटको गति तीव्ररूपमा बढिरहेको छ। यतिवेला चीन र फ्रान्सबीचको सहकार्य सशक्त हुनु जरूरी छ।”

कोरियाली प्रायद्वीप र युक्रेनमा बेइजिङ र पेरिसबीच ‘मतभेद’ रहेको स्वीकार गर्दै उनले भने, “हाम्रा दुई देशले मिलेर काम गर्नुपर्छ।”

“राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरूको सामना गर्दै द्रूत गतिमा नयाँ युरोप उदय भइरहेको छ। यसको एकमात्र मार्गनिर्देश रणनीतिक स्वायत्तता हो,” उनले भने । “यो नयाँ युरोपले आफ्नो रक्षा, ऊर्जा सुरक्षा र भविष्यका प्रविधिहरूमा ठूलो लगानी गरिरहेको छ,” ब्यारोटले भने ।

उनले भने, “आफ्नो हित र मूल्यमान्यताको रक्षाका लागि फ्रान्स विशेष सजग रहनेछ ।” भेटमा चिनियाँ कुटनीतिज्ञ वाङले ‘अन्तर्राष्ट्रिय परिस्थिति फेरि परिवर्तन भएको र यो अझ अराजक हुने’ चेतावनी दिएका थिए ।

उनले दुवै देशलाई ‘बहुपक्षीयताको पालना गर्न’ र ‘विश्व शान्ति र विकासका लागि मिलेर काम गर्न’ आग्रह गरे ।

ब्यारोटले चीनमा रहेका फ्रान्सेली विदार्थीहरूसँगको भेटमा भने, “वर्तमान सन्दर्भमा भूराजनीतिक स्थिरता, समृद्धि र हाम्रो ग्रहको भविष्यको सेवामा शक्तिशाली फ्रेन्को–चिनियाँ साझेदारीको पहिलेभन्दा बढी आवश्यकता छ,” उनले विद्यार्थीहरूलाई भने ।

चीनले यस साताको ब्यारोटको भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेको छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सङ्केत गर्दै दुवै पक्षले ‘एकपक्षीयता र जङ्गलको कानुनको पुनरुत्थान’ को संयुक्त रूपमा प्रतिरोध गर्ने उपायबारे छलफल गर्ने बताइएको छ ।

– रूसमाथि दबाव –

बेइजिङमा उच्च अधिकारीसँगको भेटपछि ब्यारोट चिनियाँ आर्थिक नगरी साङ्घाई जान कार्यक्रम रहेको छ । साङ्घाइमा रहँदा उनले फ्रान्स–चीनबीचको एक व्यापार मञ्चमा भाग लिने र शुक्रबार एयर लिक्विड समूहद्वारा निर्मित हाइड्रोजन उत्पादन प्लान्टको उद्घाटन गर्नेछन् ।

बेइजिङले यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने बताएको छ ।

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्ध बढाउन खोजेका छन्, तर पेरिसले मस्कोसँगको सम्बन्धलाई लिएर बेइजिङको नीति परिवर्तन हुनुपर्ने दबाब दिएको छ । युक्रेनको आक्रमणपछि चीन र रूसबीचको पारस्परिक सम्बन्ध थप बलियो भएको छ।

चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ रहेको बताएको छ ।

चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक सहयोगी हो र नेटोका सदस्यराष्ट्रहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सहयोगी’ को संज्ञा दिएका छन्। 

कुलमानको रिटको शुक्रबार सुनुवाइ हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए । तर रिट बिहीबारमात्रै दर्ता भएको हो । यसको पेसी शुक्रबारका लागि तोकिएको छ ।

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्कालगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

संखुवासभामा बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

सङ्खुवासभा । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डङ्गोलले सदरमुकाम खाँदबारीका छ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए ।

बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । 

दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ।न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए।आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रप्रति एमाले महासचिवको टिप्पणीः ‘अपुताली राजा’

काठमाडौं । राजनीतिक दलका नेताहरुमा यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहप्रति अमर्यातित टिप्पणी गर्ने होडबाजी नै चलेको छ ।

यसैक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह अपुतालीको राजा भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले उनी अपुतालिमा राजा हुँदा समेत असहज मानेकै बताएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरुले उनको गुनगान गाउनु बेग्लै कुरा हो । तर आमजनताले त उनी अपुतालिमा राजा हुँदा समेत असहज मानेकै हुन् ।’

उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने

सियोल। उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीसेनाले बिहीबार जनाएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन् र सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताएका छन् ।

मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गरेका छैनन् तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षासम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दक्षिण कोरियाका सेना प्रमुखले भने, “जनवरी र फेब्रुअरीको बीचमा थप तीन हजार सैनिकलाई सुदृढीकरणको रुपमा पठाइएको अनुमान गरिएको छ ।”

रुसमा पठाइएको उत्तर कोरियाली सेनाको प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ ।

“जनशक्तिका अतिरिक्त उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदको आपूर्ति जारी राखेको छ,” जेसीएसको प्रतिवेदनमा भनिएको छ।

“अहिलेसम्म उत्तर कोरियाले महत्वपूर्ण मात्रामा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एमएम मल्टिपल रकेट लञ्चरका करिब २२० युनिट उपलब्ध गराएको आँकलन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसले चेतावनी दिएको छ, “युद्धभूमिको स्थितिको आधारमा यो सङ्ख्या बढ्न सक्छ ।”

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै उत्तर कोरियाले गत वर्ष ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्ने रुसमा निर्यातका लागि हतियारको परीक्षण गर्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । 

शान्ति प्रक्रिया मैले सुरू गरेको भएपनि त्यसको श्रेयको भोको छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका काम किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन जिम्मेवार पक्ष हामी सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चित गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको स्मरण गरे ।

संसद्बाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बनेपछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभइ त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्शमा फेरि अर्काे सिफारिस समिति गठन गरेको छ ।

‘सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन् । हिंसाको बाटो हामीले छोडिसकेका छौँ । अब उप्रान्त त्यस्ता काम नहोउन्, पीडितलाई न्याय दिन सकौँ । अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा हामीलाई अन्तर्राष्ट्रियस्तरमा मुख देखाउन लाजलाग्ने स्थिति भएको छ, त्यसकारण अब हामी काम पूरा गर्न गम्भीर हुनुपर्छ । गम्भीर मानवअधिकारको उलङ्घन गर्नेलाई कारवाही हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्धलाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्ने कुरा गरिरहन आवश्यक छैन । यस्ता कुराले पीडितलाई झन् पीडित बनाउन सक्छ ।’

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लान अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ प्राप्त भइरहनुपर्नेमा जोड दिँदै यस प्रक्रियालाई मौलिक तरिकाले समाधान निकाल्न नेपालले प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्रीले नेपालमा शान्ति प्रक्रिया टुंग्याउने श्रेय आफूलाई नचाहिएको बताए । । उनले आफ्नो उद्देश्य पीडितका घाउमा मल्हम लगाउने र उनीहरुको आँशु पुछ्ने मात्र रहेको बताए ।

उनले भने, ‘कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन । पीडितका घाउमा मल्हम लगाउँ, उहाँहरुको आँशु पुछौं ।’ उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने बताए ।

द्वन्द्वपीडितलाई न्याय दिने कुरामा कसैको दुईमत छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा सभापति देउवाले पीडितलाई न्याय दिने कुरामा कुनैपनि दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौंताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन् ।

उनले सक्रमणकालीन न्यायका लागि वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए । उनले सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ । आयोगले शान्ति सम्झौंताका मर्म अनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ । वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं । सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्ने आवश्यक छ ।’

संक्रमणकालीन न्यायको विषय फौजदारी कानुन जस्तो होइनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा दलहरुबीच कहिले पनि विवाद नभएको र अब पनि हुन नहुने बताएका छन् ।

बिहीबार ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा प्रचण्डले राजनीतिक दलहरूबीच अहिले धेरै विषयमा विवाद भएपनि शान्ति प्रक्रिया टुंग्याउने विषयमा भने विवाद नरहेको बताएका हुन् ।

उनले पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलहरूमा अहिले पनि विवाद छन्। प्रमुख दलहरू कोही सत्तापक्षमा छौं कोही विपक्षीमा छौं। विगतमा पनि तमाम विवाद भएपनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा कहिले पनि विवाद भएन र हुँदैन पनि ।’

उनले टीआरसी विधेयक ढिलै पारित भएपनि राजनीतिक कारणले भने ढिलाइ नभएको दावी गरे। टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि पनि सिफारिस समिति गठन भइसकेको भन्दै प्रचण्डले पीडितहरूको न्याय दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘संक्रमणकालीन न्यायका आफ्नै मान्यता छन् । यो फौजदारी कानुन जस्तो होइन । सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने हुन्छ ।’

प्रमुख तीन दलका शीर्ष नेता एउटै मञ्चमा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता एकै मञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा बिहीबार तीन नेता एउटै मञ्चमा देखिएका हुन् ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

म सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिन्थेंः बाबुराम भट्टराई

दाङ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिएको भए हुने बताएका छन् ।

रिपोर्टर्स क्लबको दाङ शाखाले बिहीबार बिहान आयोजना गरेको साक्षात्कारमा भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए ।

उनले कुलमानलाई सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जान्ने कुरा भएको टिप्पणी गरे । उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरुमा दलीय हस्तक्षेप र नियन्त्रण चरम रुपमा रहेको आरोप लगाए ।

यस्ता समस्या विधिले समाधान गर्नको लागि आफू सरकारको नेतृत्वमा रहँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि स्मरण गराए । उनले नेपालको अर्थ राजनीतिमा यतिवेला गम्भीर संकटमा रहेको टिप्पणी गरे ।

उनले मिश्रित निर्वाचन प्रणालीले नै अहिलेको राजनीतिक संरचनामा समस्या निम्त्याएको औंल्याए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म यस्तो अस्थिरता आइरहने दाबी गरे ।

उनले नेपालमा राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको समाधान नहुने दाबी गरे । नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्नु मुर्खता हुने उनको टिप्पणी छ ।

उनले नेपालमा राजसंस्था आउँदै नआउने ठोकुवा गरे । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर जानुपर्नेमा जोड दिए।

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो, मृतकको संख्या २६ पुग्यो

बीबीसी । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन् ।

हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन् । अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन् । प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन् । मार्च २१ मा सुरु भएको डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ ।

डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ । दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ ।

अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन् । डढेलो निभाउन तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ ।

आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन् ।

ललितपुरको इमाडोलमा एक युवकको हत्या, आरोपी पक्राउ

काठमाडौँ । ललितपुरमा एक युवकको हत्या भएको छ । ललितपुरको इमाडोलस्थित ओचुहाइटमा रामेछापका ३० वर्षीय रिपक खातीको हत्या भएको हो ।

गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् ।