`

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा आमसभा गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

बैठकमा यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे समीक्षा भएको थियो । त्यस्तै बैठकमा सरकारको पछिल्लो गतिविधिकाबारेमा पनि गम्भीर समीक्षा भएको उनले बताए ।

जननिर्वाचित संसद छलेर सरकार अध्यादेशको बाटोमा निरंकुश ढंगले अघि बढ्न खोजेको हो कि भन्ने आशंका रहेको उनको भनाइ थियो ।

मोर्चालाई सक्रिय बनाउन प्रचण्डले पछिल्लो केहीदिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतका नेतासँग निरन्तर संवाद गरिरहेका छन् ।

नेपालको शान्ति प्रक्रिया चाँडो टुंग्याउन इयान मार्टिनको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।

बेलायतको भ्रमणमा रहेका कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो ।

भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टङु्गोमा पुर्याउन सुझाव दिएका छन् ।

कोइरालाको निजी सचिवालयका अनुसार उनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए ।

तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले कोइरालालाई आग्रह गरे ।

भूकम्प पूर्वतयारीका कामलाई प्रभावकारी बनाउँछौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिएका छन् ।

२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बुधबार कीर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएका एकीकृत बस्तीहरुमा तुलनात्मकरुपमा सुरक्षाको स्थिति रहेको बताए ।

उनले एकीकृत बस्तीमा रोजगारी र आय आर्जनको वातवरण भने कम हुने स्थिति नहुने गरी आगामी दिनमा पुनः विचार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भूकम्प प्राकृतिक कारणले आउने हुँदा यसलाई टार्न नसकिने भएकाले भूकम्प प्रतिरोधी घर र संरचना बनाउन सकिए क्षति कम हुने उल्लेख गर्दैे माघ महिनालाई भूकम्पीय सुरक्षाको स्मरणका साथै नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनको सङ्घर्षमा होमिएका सहिदहरुको स्मरणको महिनाका रुपमा पनि लिइएको बताए ।

“ २०७२ सालको भूकम्पपछि हामीले पुनः निर्माणमा राम्रा उपलब्धि र हासिल गरेका छौँ । त्यसका सिकाइलाई लिएर आगामी दिनमा अझ व्यवस्थित बस्ती विकास पूर्व तयारीका काममा लाग्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “विज्ञहरुसँग छलफल गरेर हामीले आगामी दिनमा भूकम्प र विपद्बाट हुन सक्ने क्षतिको पूर्वतयारीमा गम्भीर भएर लाग्नुपर्छ । सरकारले यसको अगुवाइ गर्नेछ ।”

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य राजेन्द्र केसीलगायतको उपस्थिति थियो ।

शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

इलाम । इलाम को सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुगेको छ। कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्।

नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिए। उनका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन्। “यी कार्यक्रमले विद्यालयबीच स्वास्थ्य प्रतिस्पर्धा बढाएको छ। विद्यार्थीको अतिरिक्त क्रियाकलापमा क्षमता मापन गरिने भएकाले क्षमता वृद्धि भइरहेको पाएका छौँ।”

‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १० का विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै आइएको नगरप्रमुख राईले बताए।

“कक्षा ८, ९ र १० मा दश हजार चार सय ४३ विद्यार्थी छन्। एक पटक तीन वटाका दरले कापी दिँदा सबै विद्यार्थी उत्साहित भई अभ्यास गर्छन्। वर्षमा तीन पटक वितरण गरिरहेका छौँ”, उनले भने, “फुर्सद मिलाएर सबै विद्यालयमा पुग्ने गरेको छु। पछिल्लो समय अधिकांश विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्न छोडेका छन्।”

कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक तथा विद्यार्थीले प्रतिक्रिया दिएका छन्। सूर्योदय–१० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा विन्दा ढुङ्गेलले पहिले निकै गाह्रो लाग्ने गणित विषय आजभोलि सजिलो लाग्न थालेको बताइन्।

“पहिले पास गर्नै गाह्रो हुन्थ्यो। अहिले नगरप्रमुख स्कुलमा आएर तीन वटा कापी दिँदै एक महिनामा सक्नुपर्छ भन्नुहुन्छ। धेरै अभ्यास भइरहेकाले होला, आजभोलि गणित सजिलो लाग्छ”, विन्दाले भनिन्। उनी मात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थी गणित सजिलो लाग्न थोलेको बताउँछन्।

बाह्र महिना १२ कार्यक्रमअन्तर्गतका सबै कार्यक्रम प्रभावकारी भइरहेका शिक्षक बताउँछन्। हिमालय माध्यमिक विद्यालय गोर्खेका शिक्षक विशाल मास्केले भने, “वर्षको एकपटक नगरका सबै विद्यालयका विद्यार्थी भेला गरेर विज्ञान र गणित प्रदर्शनी गर्ने गर्दछौँ। प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत लुकेका कला, क्षमता प्रस्फुटन गराउन प्रतियोगिता गराइन्छ। हरेक महिना फरक किसिमका खेलकुद प्रतियोगिता सञ्चालन हुन्छन्।”

परीक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको नगरप्रमुख राईले बताए। “पहिला गणितलाई अप्ठ्यारो ठान्ने विद्यार्थी अहिले सजिलो छ भन्न थालेका छन्। नतिजामा पनि विगतमा भन्दा सुधार आएको छ”, उनले राईले भने, “हामीले अङ्ग्रेजी, गणित र विज्ञान विषय प्राथमिकतामा राखेर सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएका छौँ। कोरोना कहरका बेला विद्यार्थीको पढाइमा ठूलो क्षति पुगेपछि नतिजा सुधार्न अभियान सुरु गरेका हौँ।”

विद्यार्थीलाई कापी बाँड्न नगरप्रमुख राई जानरी बिना विद्यालय पुग्छन्। “बेखबर जाँदा अनुगमन र विद्यार्थीसँग अन्तक्र्रिया पनि हुन्छ”, उनले भने। नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ। नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ। पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गरिरहेको हो।

यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरप्रमुख राईले बताए। “कतिपय विद्यालयमा विषयगत शिक्षक अपुग हुन्छन्। त्यहाँ ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यहाँका सबै विद्यालयमा इन्टरनेट सेवा पुगेकाले कम्प्युटर र प्रयोगशालाको व्यवस्था गरेका छौँ। सबै विद्यार्थीको बाल बचत खाता खोलिएको छ।” यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी रहेको उनले उल्लेख गरे।

सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ। यहाँबाट उत्पादन भएका जनशक्तिलाई नगरले कम्तीमा एक सय दिन रोजगारी दिइरहेको छ। नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड निःशुल्क दिएको नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले बताए। नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दा विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ।

सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कूलमा पढ्न जाने विद्यार्थीलाई यतै आकर्षित गर्न सहज र सुन्दर वातावरणको व्यवस्था गरिएको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताए। अहिले पढ्नका लागि दार्जिलिङ जाने विद्यार्थीको सङ्ख्यमा कमी आएको बताउँदै उनले भने, “विद्यार्थीलाई उच्च शिक्षामा नगर र देशभित्रका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ।”

नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालयमा गरी ११ हजार छ सय १२ विद्यार्थी छन्। शिक्षा शाखा प्रमुख भट्टराईका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दीमा छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन्। यीबाहेक विद्यालयले निजी स्रोतबाट समेत शिक्षक राखेको छ। सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेस्रो र मुलुकको दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो।

विवाहको उमेर २० बाट १८ झार्न संसदीय समितिको सुझाव

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद १८ वर्ष कायम गर्न सुझाव दिएको छ ।

उपसमितिले विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्न सुझाव दिएको हो । ६ सदस्यीय उपसमितिले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कानुन कार्यान्वयनबारे अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।

उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र रिसिबीको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसूर जवरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने उपसमितिले सुझाव दिएको छ । अहिले मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ ।

त्यस्तै उपसमितिले लिभिङ टुगेदरमा केटाकेटी बस्ने गरेको र पछि केही कुरामा केटा र केटी दुवै वा कुनै एक पक्षको कुरा नमिल्दा उक्त कार्य समेत जवरजस्ती करणीमा जाहेरी पर्ने गरेकाले उक्त कुरा पनि कानूनमा समेटिनुपर्ने समितिलाई सुझाव दिएको छ ।

उससमितिमा समितिका सदस्य नागिना यादव, पुष्पबहादुर शाह, प्रतिक्ष तिवारी, रञ्जुकुमारी झा र शेरबहादुर कुँवर सदस्य छन् ।

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ८१, वित्त तीन दशमलव ४८, लगानी शून्य दशमलव शून्य सात, लघुवित्त शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य दशमलव १७ र निर्जीवन बिमा शून्य दशमलव ४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

विकास बैंक एक दशमलव शून्य आठ, होटल तथा पर्यटन एक दशमलव ६३, जलविद्युत् एक दशमलव ७६, जीवन बिमा शून्य दशमलव शून्य आठ, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४८, व्यापार शून्य दशमलव शून्य एक र अन्य समूह शून्य दशमलव शून्य चार प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ कित्ता शेयर किनबेच भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता नवराज अधिकारीले उनलाई पक्राउ गरिएको जानकारी दिए ।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ।

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए। 

तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शङ्कास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन्,“अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप सङ्क्रमितहरू फेला पर्न सक्ने सम्भावना छ ।”

डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ ।

छिमेकी मुलुक रुवान्डामा तीन महिनाभन्दा बढी मारबर्गको महामारी फैलिएको डब्लुएचओले घोषणा गरेको एक महिना नबित्दै यो घोषणा गरिएको हो । डब्लुएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक रक्तस्रावी ज्वरो निम्त्याउँछ। यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसहरूको एउटै परिवारसँग सम्बन्धित छ।

मारबर्गको ज्वरोसँगै रक्तस्राव र अङ्ग फेल हुने गर्छ र भाइरस सङ्क्रमण पछि हुने मृत्यु दर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्ने डब्लुएचओले जनाएको छ ।

कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो, जसमा छ जनाको मृत्यु भएको थियो भने नौ जना सङ्क्रमित भएका थिए।

उनले भने, “हामी छिमेकी देशहरुलाई सतर्क रहन र सम्भावित सङ्क्रमितको व्यवस्थापनका लागि तयार रहन सुझाव दिन्छौं । हामी अहिले तान्जानियासँग यात्रा वा व्यापार प्रतिबन्धको सिफारिस गर्दैनौँ ।”

डब्लूएचओले भनेको छ कि मारबर्ग सजिलै फैलिँदैन । भाइरस सर्नका लागि सङ्क्रमित बिरामीको शरीरबाट आउने तरल पदार्थसँगको सम्पर्क आवश्यक पर्दछ।

उनले सावधानी अपनाउन सुझाब दिँदै अगाडि भने,“भाइरसको सम्पर्कमा आएका व्यक्ति एक देशबाट अर्को देश वा एक समुदायबाट अर्को समुदायमा पुगेको हुनसक्ने कुरालाई नकार्न सकिँदैन।”

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन् ।

ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भने, “मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।”

वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन र ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी सहयोगी इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भने, “हामी कुनै पनि कदमको जवाफ दिनेछौं । ‘हामी युद्ध चाहँदैनौँ अनि युद्धसँग डराउँदैनौँ पनि’ ।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली शक्तिहरू आणविक कार्यक्रम पुनः सुरु गर्न गम्भीर रहेको बताए ।

सन् २०१५ मा इरान र फ्रान्स, बेलायत र जर्मनीलगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा तेहरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने सम्झौता भएको थियो ।

ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हटेको थियो र आर्थिक प्रतिबन्धहरू पुनः लागू गरेको थियो।

तेहरानले आणविक सम्झौताबाट वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले आफ्नो प्रतिबद्धताबाट क्रमशः पछि हट्दै जाँदा अहिले सम्झौता कायान्वयनमा छैन ।”

पेजेस्कियानले भने, “हामी आणविक हतियार वा अन्य हतियार बनाउन चाहँदैनौं तर उनीहरूले हामीमाथि आणविक बम बनाउन खोजेको आरोप लगाएका छन् ।”

एनबीसी न्यूजकी प्रस्तोता लेस्टर होल्टले ट्रम्प सत्तामा फर्किएपछि उनीसँग वार्ता गर्न सकिने सम्भावनाबारे सोधेको प्रश्नमा इरानी नेताले यो सम्भावना अहिलेसम्म नदेखिएको बताए ।

उनले भने, “हाम्रो समस्या संवादमा छैन, प्रतिबद्धतामा छ । यो वार्ता र संवादका क्रममा हुने प्रतिबद्धताहरूमा निर्भर हुन्छ।“

अमेरिकालाई सङ्केत गर्दै पेजेस्कियानले भने, “वार्ताको अर्को पक्षले आफ्नो वाचा र दायित्वहरू पूरा नगरेपछि इरान पनि पछि हट्न बाध्य हुनुपरेको हो।”

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगलागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ ।

आगलागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगलागीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।

सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् ।

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए।

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।

सरकारले ल्याएका अध्यादेशका विषयवस्तु प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन् ।

बुधबार अपरान्ह सिंहदरबारबाट ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा संचारमाध्यमहरुलाई समेत बोलाइएको छ ।

सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो। जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो ।

अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले भूमिसम्बन्धी अध्यादेश भने रोकेको छ।

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका छन् ।बुधबार  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ-संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्रीसहित ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्री वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासंघका अध्यक्ष भगीरथ सापकोटा सहभागी भिए ।

निजी क्षेत्रका प्रतिनिधिले कोभिड- १९ पछि सङ्कुचित अर्थतन्त्रलाई उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले तिनको कार्यान्वयनमा यथाशक्य उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे । उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएकाले थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने क्रममा रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मकरुपमा लिइदिएकामा खुसी व्यक्त गर्दै सरकार ढल्दैछ भन्नेर बजार हल्ला लाइएपनि सत्ता गठबन्धनमा रहेका दल आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढङ्कले कदम चालिरहेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए । सुशासन, विकाससँग सम्बन्धित व्यावहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने उनले बताए ।

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबार एक औंस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।

स्थानीय बजारमा प्रतितोला सुनमा चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य रु एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु १० ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार आठ सय ३० निर्धारण भएको छ ।

भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि रैथाने निर्माण सामग्री र विधिकाबारेमा बहस चलाउनुपर्छः उपमेयर डंगोल


काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभा आयोजना गरिएको छ ।

१९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्याउने प्रतिवद्धता जोडिएको छ । विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।

स्मृति सभालाई सम्बोधन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनु पर्छ । नागरिकको आँगनको सरकारले यो काम गर्छन् । संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ । यसकोणबाट सबै तहका सरकारको समान भूमिका छ ।’

उनले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ । स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ ।’

विपदमा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनु पर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुषालले १९९० सालको भूकम्पपछिको पुनःस्थापनाको विषयमा धारणा राख्दै भने, ‘त्यस बेला कुटनीतिक क्षेत्रबाट व्यवस्थापनका लागि सहयोग के चाहिन्छ भनेर सोद्धा सरकारबाट जवाफमा हामी लिन जन्मेका होइनौँ । दिन जन्मेका हौँ । हामीलाई हाम्रा नागरिकमाथि भरोसा छ । नागरिककै क्षमताले पुनःस्थापना हुन्छ, भनिएको थियो । सुन्दा सामान्य लागे पनि यो भनाइ मननीय छ ।’

भवन संहिताको कडाइका साथ पालनासँगै निर्माण सामग्री उपयोगका विषयमा पुनर्विचार गर्नु पर्ने भुषालको भनाइ थियो ।

विश्वमान चित्रमा भूकम्पजन्य विपदका दृष्टिले नेपाल ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम, २०८० सालमा मध्य पश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेका छन् ।

स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

सरकार स्वेच्छाचारी ढंगले अघि बढेको विपक्षी दलहरुको निष्कर्ष, संसद अधिवेशन बोलाउन माग

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले सरकारलाई अध्यादेशबाट शासन गर्ने चेष्टा नगर्न भन्दै संसद अधिवेशन बोलाउन माग गरेको हो ।

सरकारले संसद अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी भएको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् ।

उनले भने,‘सरकार संसद नबोलाएर अध्यादेशमार्फत स्वैच्छाचारी ढंगले सञ्चालन गर्ने जो रवैया देखाएको छ, त्यसले सरकार स्वेच्छाचारी बनेको छ भन्ने स्पष्ट भएको छ ।’

त्यस्तै बैठकले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्षसमेत निकालेको छ । बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । कांग्रेस–एमालेको गठबन्धन सरकारले अध्यादेशबाट शासन गर्न लागेको भन्दै माओवादीले विपक्षी मोर्चाको बैठक बोलाएको हो ।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि छलफल भएको थिय

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए ।

मझौला ट्रक खरिद गर्दा रु २३ लाख ४० हजार र ट्रकको छत बनाउन रु एक लाख ५० थप खर्च भएको उनको भनाइ छ । “अनुदानमा ट्रक चाहियो भन्ने कुरा पनि भएन । दूध ढुवानी गर्न मासिक भाडा खर्च धेरै जाने भएपछि ट्रक नै किन्ने निधो गर्यौँ”, उनले भने, “अब ट्रक नै किनेपछि दूधमात्र नभई कृषि उपजसमेत बढाई नजिकै रहेको दमौली बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।”

ट्रक किनेपछि आफूहरूले ७ किलोमिटर दूरीमा रहेको व्यास–९ गजौडमा दुग्ध उत्पादनका लागि उपशाखा सञ्चालन र व्यास नगरपालिका–१० मा सुपथ मूल्य पसल सञ्चालन गरिएको अर्का किसान डिल्लीराम शर्माले बताए । आफूहरूले पनि कृषिबाली बढाउन विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उनको भनाइ छ ।

“अब दूधमात्र नभई कृषिबाली उत्पादनमा पनि हात हाल्ने निधो गरेका छौँ”, उनले भने, “अब किसानकै ट्रक भएपछि हामीलाई ढुवानीमा समस्या हुने कुरा भएन ।” किसानले किनेको ट्रक यही माघ १ गतेदेखि चलाउने जिम्मेवारी आफूलाई प्राप्त भएको स्थानीय चालक बुद्धिमान दरैले बताए । ट्रक सञ्चालन गर्ने योजना बनाएपछि तत्काललाई विदेश जाने योजना पनि त्यागेको उनले जनाए ।

“घरमै परिवारसँग बसेर ट्रक चलाउन पाएकामा खुसी छु”, कृषक समूहमा आबद्ध रहनुभएका चालक दरैले भने, “अब गाउँमै कृषि क्रान्ति होलाजस्तो छ त्यसैले विदेश जाने योजना तत्काललाई त्यागेको छु ।” किसानले किनेको ट्रकको व्यवस्थापन भने दुम्सी दुग्ध उत्पादक सहकारीमार्फत गरिने स्थानीय किसान तथा उक्त सहकारी संस्थाका सहायक व्यवस्थापक कृष्ण रिजालले जानकारी दिए ।

“सहकारीमार्फत नै ट्रक सञ्चालन गर्ने किसानको छलफलले टुङ्गो लगाएको छ”, उनले भने, “निश्चित मापदण्ड बनाएर ट्रक सञ्चालन गरिने तयारीमा छौँ ।” स्थानीय गाईभैँसीपालक ५८४ किसानबाट दैनिक उत्पादित ३ हजार लिटर दूध दमौलीस्थित जिल्ला दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री हुँदै आएको छ । ट्रक खरिद गरेपछि तरकारी बालीसमेत प्रवद्र्धन गरी किसानलाई राहत प्रदान गर्ने योजना बनाइएको रिजालको भनाइ छ । दमौली पुग्न ४ किलोमिटरको दूरी तय गर्नुपर्छ ।

किसानले ट्रक खरिद गरेको जानकारी पाएपछि मङ्गलबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दुम्सीमै पुगेर किसानका कामको प्रशंसा गरे । दुम्सीका किसानको मेहेनतबाट अन्य किसानले पनि प्रेरणा लिनुपर्ने उनी बताउँछन् ।

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

खजुरा (बाँके) । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।

“चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ”, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, “चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।”

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपालिका–४ का मजदुर रामदिन गोडियाले भने, “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।”

दैनिक ज्यालादारी काम गर्न पहाड तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउछन् । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । “घरभन्दा बाहिर जान सक्ने अवस्था भएन”, उनले भने, “त्यसैले घरमा आगो तापेर बसेको छु ।”

चिसोबाट विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घ रोगीका बिरामीलाई समस्या बनाएको छ ।

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर ।  मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ। सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो।

मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले मङ्गलबार उद्घाटन गर्दै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर्र खुला सांस्कृतिक सङ्ग्रालयका रूपमा विकास गर्न सकिने बताएका छन्।

पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उनको भनाइ छ। सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिँडाउन चाहेको उनको भनाइ छ। पर्यटनको माध्यमबाट राज्यको जिडीपी बढाउन सकिने मन्त्री पाण्डले बताए।

मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका–४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सव सञ्चालन भइरहेको छ। महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रदर्शनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ।

महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार, संस्कृतिसँगै झाँकी प्रदर्शन गरिएको छ। महोत्सवमा जैविक (अग्र्यानिक) खानाका परिकार तथा प्रदर्शनी राखिएको छ।

पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीय परिकार रहेको आयोजकको भनाइ छ। कृषि, पर्यटन तथा स्थानीय संस्कार, संस्कृतिको विकास तथा प्रवर्द्धन गर्न मुन्दुम भ्रमण वर्षलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

“गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको छ”, उपाध्यक्ष राईले  भनिन्, “महोत्सवमार्फत यहाँका सम्भावनाको उजागरसँगै कृषि उत्पादनको बजारीकरणमा जोड दिएका छौँ। यसले यहाँको सम्पूर्ण क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ।”

यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। ‘

कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको विकासका गतिविधि अघि बढाएको अध्यक्ष बस्नेतको भनाइ छ। “मुन्दुम भ्रमण वर्ष २०२५ लक्षित गरेर महोत्सवको सञ्चालन गरेका छौँ”, अध्यक्ष बस्नेतले भने, “महोत्सवको माध्यमबाट मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको जोड दिएका छौँ। यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ।” 

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।

त्यसतै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् । कांग्रेस–एमालेको गठबन्धन सरकारले अध्यादेशबाट शासन गर्न लागेको भन्दै माओवादीले विपक्षी मोर्चाको बैठक बोलाएको हो ।

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि छलफल भएको थियो।

कालीगण्डकी लोकमार्गको फलेवास–अर्मादी सडकको बजेट सुनिश्चित

पर्वत । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि रु एक अर्ब ५० करोड बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ ।

लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो ।

उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भई २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो ।

कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुनसकेको थिएन । सांसद पदम गिरीले फलेवास–अर्मादी सडक खण्डको काम सुरु हुने बताए ।

यसअघि उक्त खण्डका लागि नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका–६ ढिकबाट कुश्मा नगरपालिका–४ अर्मादीसम्मको १४ किलोमिटर ट्रयाक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुनसकेको थिएन ।

मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्रयाक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जानेछ । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ ।

यसअन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको भाग कालोपत्र भइसकेको छभने मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गरिरहेको छ ।

अब बाँकी रहेको फलेवास–अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तर–दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ ।

वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।

दामोदरकुण्डबाट सुरु भई वारागुङ मुक्तिक्षेत्रको कागबेनी हुँदै बग्ने कालीगण्डकी देवघाटमा पुगेर त्रिशूलीसँग मिसिएर नारायणी बनेको छ । दुईवटा स्थानीय तहले धार्मिक भगिनी सम्बन्ध कायम गरेका हुन् ।

असल अभ्यास आदानप्रदानका साथै मुक्तिनाथ, कागबेनी र देवघाटको धार्मिक सम्बन्धलाई थप मजबुद बनाउन भगिनी सम्बन्धले मद्दत गर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।

कृषि, पर्यटन, सुशासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान र अध्ययन अवलोकनका लागि देवघाट पुगेका वारागुङ मुक्तिक्षेत्र र देवघाटका जनप्रतिनिधिबीच धार्मिक भगिनी सम्बन्धको प्रस्तावपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

प्रस्तावनापत्रमा देवघाटका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोविन्द पौडेल र वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति सुक पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका छन् । देशमा सैन्य कु को असफल प्रयास गरेपछि संसदले उनलाई महाभियोग लगाएको थियो । उनीमाथि देशद्रोह र भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका लागि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास गरिएपनि राष्ट्रपति सुरक्षा दलले अवरोध गरेको थियो ।

दोस्रो पटकको प्रयासमा ठूलो संख्यामा प्रहरी परिचालन गरि उनलाई पक्राउ गरिएको हो । उनले डिसेम्बर ३ मा मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी तथा उनकै दलको विरोध भएपछि उनले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए ।

भूकम्पबाट जोगिने एउटै उपाय प्रतिरोधी संरचना नै हो

प्रगति ढकाल, काठमाडौं । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो ।

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए । ‘विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो’, उनले भने, ‘यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ । यस दिवस भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिबृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै, हाम्रा कमीकमजोरीलाई पनि सुधार गर्ने लक्ष्यका साथ आइरहेका छौ ।’

भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उनको जोड छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘भूकम्प पश्चात्को सम्भाव्य अवस्थालाई पूर्वआकलन गरी प्रभावकारी र दूत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी छ ।’

भवन संहिता कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरुमा आवश्यक कार्यहरु निरन्तर रुपमा भइरहेको महर्जनले बताए । विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्शा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको उनको भनाइ छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन् । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

पूर्वतयारीको अभाव

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ । ‘अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरु अस्थायी आवासमै कष्टपूर्ण रुपमा बस्नु परेको छ’, उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सातसय ८७ छ । भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना योजनाको योजना कार्यान्वयनका लागि रु एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रतिरोधी संरचनामा जोड

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आवश्यक रहेकोमा जोड दिन्छन् ।

‘हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौ, सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ,’ उनले भने, ‘भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिदैन । तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरुप पूर्वतयारी गर्न सकिन्छ । यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरुलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो ।’

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय सङ्कल्प आवश्यक भएको उनको भनाइ छ । ‘राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेता अभिबृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ’, उनले भने, ‘यसका साथै व्यक्ति आफैले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ । कसरी संयमता अपनाउने, आफ्नो घर भूकम्प प्रतिरोधि छ कि छैन ? लगायतका विषयमा सचेत हुनुपर्छ ।’

इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता औँल्याए । ‘अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन, भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ’, उनले भने ।

आजदेखि लाभग्राहीसँगको सम्झौता सुरु गरी पुनःनिर्माण थालनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिए ।

गत आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ ।

एमालेका अर्का नेतामाथि पनि कारबाही, नेतृत्वविरुद्ध आलोचना गरेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी पूर्वसांसद विमल कार्कीलाई कारबाही गरेको छ । नेतृत्व र पार्टी निर्णयबिरुद्ध लगातार सामाजिक सञ्जालमा अफवाह फैलाउने काम गरेको अभियोगमा एमाले कोशीले नेता कार्कीलाई कारबाही गरेको हो ।

कोशी प्रदेशसभाका पूर्वसांसद कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो । पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

‘६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ’, खतिवडाले भने । कार्कीलाई गत मंसिर १६ गते अध्यक्ष खतिवडाले तीन दिने स्पष्टीकरण सोधेका थिए ।

‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ । त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने ?’

कार्कीलाई सोधिएको स्पष्टीकरणमा भनिएको थियो । कार्कीले तोकिएको समय सीमाभित्र स्पष्टीकरण नबुझाएको र स्पष्टीकरण पनि चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले ६ महिना निलम्बनको निर्णय गरेको हो ।

कार्कीले पछिल्लो समय एमालेबिरुद्धको अफवाह फैलाउने बिरोधी समूहलाई सघाउँदै एमालेमै रहेर एमाले सकाउने अस्त्र अर्थात ‘आलोचनात्मक चेत’ भन्दै नेतृत्व र पार्टी निर्णयबिरुद्ध नै जथाभावी लेखेका थिए ।

काठमाडौंमा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर जडान

काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभागले गरिरहेको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरु आफैँले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका छन् ।

केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३ को सुरुङ गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ ।
वडा नं. १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ ।

मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो । वडा नं. १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नं. १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ ।

पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरेको हो ।

यसको लागत करिब ८ लाख रुपैयाँ हो । वडा नं. २९ को कालिञ्चोक मार्गमा, वडा नं. २५ को मांस गल्लीहुँदै महावौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको छ ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।

गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोटे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता हुनुभएको हो । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका–१२ स्थित ‘बहु प्राविधिक शिक्षालय भवन’को आज उद्घाटन गर्दै उनले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यवहारिक सीपले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले भने, ‘सबै वर्गका बालबालिकालाई समान अवसर र स्रोत उपलब्ध गराउनुको साथै सामुदायिक विद्यालयको शैक्षकस्तरलाई माथि उठाउन सामूहिक प्रयत्नको खाँचो छ ।’ माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरका सामुदायिक विद्यालयमा बलम्बु माध्यमिक विद्यालयले मानक कायम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा उक्त मानक कायम राख्न सुझाव दिए।

दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिकाले उक्त विद्यालयमा अत्याधुनिक प्रयोगशालासहित बहु प्राविधिक शिक्षालय तयार गरेको छ । यसका लागि दुई तले भवन र चार प्रयोगशाला बनाउन दुई करोड ५० लाख खर्च भएको जनाइएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत गरी चार विधामा स्नातक तह बराबरको बहु प्राविधिक शिक्षालयमा सीप सिकाइने छ ।

बलम्बु माध्यमिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो रुचिको ती विधामध्ये एक विधामा अध्ययन गर्न सक्ने छन् । उनीहरूले कक्षा १२ उत्तीर्ण हुँदा ती चार विधामा स्नातक तह बराबरको सीप पूरा गर्न सक्ने जनाइएको छ ।

कार्यक्रममा पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले हरेक सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सीप कक्षा सञ्चालन गर्न जरुरी रहेको चर्चा गरे। उनले यस्ता सीपमूलक कक्षाले स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सामुदायिक विद्यालयले बालबालिकालाई प्रदान गर्ने सैद्धान्तिक ज्ञानसँग प्राविधिक सीपलाई जोड्न बहु प्राविधिक शिक्षालयले सहयोग पुग्ने बताए।

पहिलोपटक‘स्काइवाक टावर’मा योगाभ्यास

काठमाडौँ । कमलादिस्थित ‘स्काइवाक टावर’मा आज विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ । स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए ।

प्रबन्ध निर्देशक पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

त्यसअवसरमा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिकाका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिए ।

“दसौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्येक साता स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ”, उनले भने । योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीको भनाइ थियो ।

यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे । योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनले बताए ।

आजको योगाभ्यासका क्रममा एकसय पटक आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा महिला तथा पुरुषहरुको उल्लेख्य सहभागिता थियो । 

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडान । सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको स्वयंसेवक उद्धारकर्ताहरूले बताएका छन् ।

पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो सङ्ख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न सङ्घर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए ।

सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाइँ बढेको छ ।

सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको सँघारमा पारेको छ । सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ ।

ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ ।

नाइल नदीका दुवै तर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन् । त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन् ।

ललितपुरका ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

ललितपुर ।  ललितपुरका प्राचीन धरोहर लिच्छविकालीन ढुंगेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।

राजकुलो विस्तारका लागि महानगरले  २२ करोड बजेट छुट्याएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म  ६ करोडको लागतमा ३.४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । ०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए।

लगनखेलको सप्ताताल पोखरी पुनर्निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुंगेधारामा पानी झार्ने महानगरको योजना रहेकाे उनले बताए । महानगर प्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दा बढी ढुंगेधारा छन् ।

आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टंग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मंगल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मंगल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन ढुंगेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।

ललितपुर महानगरपालिका– ६ र वडा नं. १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउँछन्।

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुंगेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर ०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनर्निर्माण गरेका थिए । पुनर्निर्माणपश्चात् बाह्रैमास धारामा पानी झरे पनि केही वर्षयता पानी आउन छाडेको छ ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुंगेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका– ६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउँछन् । लिच्छविकालदेखिको इतिहास बोकेका ढुंगेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

काठमाडौं। सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ। संसद्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई सरकारले अध्यादेश जारी गरेको हो।

सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसद्बाट पारित नभएपछि स्वतः खारेज भएको थियो। यसपटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ जारी गरेको छ।

एउटै अध्यादेश दुईपटक जारी

विगतमा हरेक वर्ष बजेटका सिद्धान्त एवं प्राथमिकता र नीति तथा कार्यक्रममा पर्याप्त छलफल नगराएकामा सांसदहरुबाट सरकारको आलोचना हुने गरेको थियो। ‘बजेट क्यालेण्डर’ नमिलेकाले त्यसलाई संशोधन गर्नुपर्ने विषय संसद्मा बारम्बार आवाज उठ्न थालेपछि गत आर्थिक वर्षको वार्षिक बजेटको बुँदा नम्बर २९मा ‘आगामी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सङ्घीय संसद्मा पेश गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरियो।

बजेटको यही व्यवस्था कार्यान्वयनका लागि सरकारले गतवर्ष माघमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ जारी ग¥यो। उक्त अध्यादेशले सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खोल्यो भने बजेटको सीमा तोकिसक्ने साबिकको समयसीमामा पनि संशोधन गरेको थियो।

विधेयक फिर्ता

बजेट क्यालेण्डर संशोधन गर्न सरकारले गत साउन ३२ गते ‘आर्थिक कार्यविधि तथा उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता गरेको थियो। अध्यादेश जारीसँगै संसद्मा विचाराधीन उक्त विधेयक स्वतः निष्क्रिय भएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक फिर्ता लिने प्रक्रिया थाल्न संसद्लाई सरकारको पत्र प्राप्त भएको बताउनुभयो।

बजेट निर्माण प्रक्रियामा अलमल

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्मा विचाराधीन रहेकाले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अलमलमा परेको थियो। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अध्यादेशबाट बजेट क्यालेन्डर संशोधन भएर आएपछि सोहीअनुसार काम गर्न सहज हुने बताए।

विद्यमान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ले माघ १५ गतेसम्ममा ‘राष्ट्रिय स्रोत अनुमान समिति’को बैठक बसिसक्नुपर्ने र ‘बजेट सिलिङ’ प्रस्ताव गरिसक्नुपर्ने व्यवस्था गरेको छ। उक्त ऐनको दफा ७ (१) मा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ। हालसम्म स्रोत अनुमान समितिको बैठक हुन नसकेको राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले बताए।

इजरायल र हमासबीचको वार्ता सहमति नजिक

बीबीसी । गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक गर्न लागेका छन् ।

युद्धविराम गर्ने सहमतिका लागि इजरायल र हमास दुवै पक्ष सहमतिनजिकै पुगेको सङ्केतहरू प्राप्त भएका छन् । दुई पक्ष युद्धविराम र बन्धक मुक्तिका सर्तहरू टुङ्ग्याउने चरणमा पुगेको वार्ताबारे जानकार एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएका छन् ।

गाजामा युद्ध सुरु भएपछि दुवै पक्षका प्रतिनिधिहरूले पहिलो पटक एउटै भवनमा भेट गरेको बुझिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सहमति सफल हुने ‘सँघारमा पुगेको’ र आफ्नो प्रशासनले तत्काल सम्झौता गराउन पहल गरिरहेको बताए ।

त्यसलगत्तै प्यालेस्टिनी पक्षले जारी वार्ताबारे जानकारी दिएको हो । इजरायली अधिकारीले पनि रोयटर्स समाचारसंस्थालाई वार्ता ‘निकै अगाडिको चरणमा’ पुगेको बताएका छन्। उनका अनुसार केही ‘घण्टा, दिन वा थप केही समयमा’ सम्झौता हुन सक्ने सम्भावना छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आइतवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र सोमवार वार्ताको मध्यस्थता गरिरहेका कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीसँग कुराकानी गरेका थिए ।

कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता, विपीनको रिहाईका लागि सहयोग माग

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

मंगलबार बिहान परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाईका लागि पलह गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जवाफमा कतारका राज्यमन्त्रीले वार्तामा विपीनको रिहाईको कुरा राख्ने आश्वासन दिएका थिए । इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता भइरहेको छ ।

वार्ताका क्रममा हमासको नियन्त्रणमा रहेका बन्दी रिहा गर्नेको सूचीसमेत सार्वजनिक भइसकेको छ । तर त्यो सूचीमा विपीनको नाम समावेश छैन ।

पुस मसान्तसम्म सरकारको वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।

चालुगत शीर्षकमा  ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात्  चार खर्ब ५२ अर्ब खर्च भएको छ ।

पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा  तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा  तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म  एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा  १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा  पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ ।

यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात्  चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि  ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म रु सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।

यो सरकारको आयु धेरै नभएको प्रचण्डको दाबी

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।

आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए ।
सिन्धुपाल्चोकको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले मंगलबार पत्रकार भेटघाटमा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए ।

नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले यो सरकार छिट्टै आफैं ढल्नेसमेत दाबी गरे । तर उनले पार्टी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।

उनले भने, ‘यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन । मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन ।’

उनले दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको भन्दै आपत्ति जनाए ।

एलन मस्कले टिकटक किन्न खोज्दै

न्युयोर्क । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ ।

यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्नेछ ।

रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्नुहुनेछ वा उनलाई अन्य सम्पत्तिहरू बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गले बताएको छ ।

अमेरिकी सरकारले गत वर्ष एउटा कानून पारित गरेको थियो । उक्त कानूनअनुसार टिकटकको बाइटडान्सलाई या त अत्यन्त लोकप्रिय प्लेटफर्म बेच्न वा बन्द गर्न आवश्यक छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक दिनअघि यो आइतबार लागु हुनेछ ।

अमेरिकी सरकारले टिकटकले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाएको छ र यो प्रचार प्रसारको माध्यम हो ।

चीन र बाइटडान्सले ती दावीलाई कडा रूपमा अस्वीकार गरेका छन् । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्दै कानूनलाई चुनौती दिएको छ । अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो ।

सुनुवाइमा नौ सदस्यीय बेन्चका बहुमत कन्जरभेटिभ र लिबरल न्यायाधीशहरू बिक्री गर्न बाध्य पार्नु पहिलो संशोधनको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन हो भन्ने टिकटकका वकिलको तर्कप्रति शङ्कास्पद देखिएका थिए ।

चिनियाँ अधिकारीहरूले कसरी अघि बढ्ने भन्नेमा अझै सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै ब्लुमबर्गले बेइजिङको सम्भावित मस्क कारोबारको विचारलाई ‘अझै प्रारम्भिक’ का रूपमा वर्णन गरेका छन् ।

चिनियाँ सरकारको योजनाका बारेमा बाइटडान्सलाई कति थाहा थियो भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताए । टिकटकले टिप्पणीका लागि एएफपीको अनुरोधलाई तुरुन्तै जवाफ दिएन तर भेराइटीले एक प्रतिनिधिलाई उदृत गर्दै भनेको छ, “हामीलाई शुद्ध काल्पनिक कुरामा टिप्पणी गर्न अपेक्षा गर्न सकिँदैन ।”

ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनले विद्युतीय कार कम्पनी टेस्ला पनि चलाउँछन् । टेस्लाको चीनमा प्रमुख कारखाना छ र देश अटो निर्माताको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो।

ट्रम्पले चिनियाँ वस्तुहरूमा नयाँ शुल्क लगाउने बारम्बार धम्की दिएको छ । यसले उनको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धलाई विस्तार गर्नेछ । यसलाई निवर्तमान राष्ट्रपति जो बाइडेनले मोटामोटी कायम राखे र केही मामलामा थप गरे ।

उत्तर कोरियाद्वारा पूर्वी सागरमा क्षेप्यास्त्र प्रहार

सियोल ।  उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको निकायलाई उल्लेख गर्दै जनाएको छ।

‘उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ’, दक्षिण कोरियाको सेनाले भन्यो। सियोलले प्रक्षेपण बारेमा तत्काल कुनै विवरण साझा गरेन।

प्योङयाङले प्रशान्त महासागरमा देशका प्रतिद्वन्द्वीहरूलाई रोक्न लक्षित नयाँ हाइपरसोनिक मिसाइल प्रणाली प्रक्षेपण गरेको एक हप्तापछि यो प्रक्षेपण आएको हो।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी चुनाव जितेपछि उत्तर कोरियाको यो पहिलो प्रक्षेपण थियो र यो अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन दक्षिण कोरिया भ्रमणमा रहेका बेला भएको थियो।

अमेरिकाको सहयोगी दक्षिण कोरिया उत्तर कोरियाको कडा प्रतिद्वन्द्वी हो, जससँग प्राविधिक रूपमा युद्ध जारी छ।

प्योङयाङको अघिल्लो प्रक्षेपण नोभेम्बरमा भएको थियो। त्यसबेला उसले आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) को परीक्षण गरेको थियो। यसको जवाफमा दक्षिण कोरियाले प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेपछि शक्ति प्रदर्शन गर्दै समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

वासिङ्टनले प्योङयाङले युक्रेनमा लडाइँ गर्न आफ्नो सेना पठाउने बदलामा रुसबाट समर्थन प्राप्त गरेको आरोप लगाएको छ। तर उत्तर कोरिया वा रुसले प्योङयाङको सेनाले मस्कोका लागि लडिरहेको कुरा आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत

टोकियो। अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको मङ्गलबार जापानले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना (पिएलए) को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताए ।

नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यहाँ उनीहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाएको हयाशीले जानकारी दिए ।

“पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान–प्रदान पुनः सुरु गरेको छ”, उनले नियमित प्रेस ब्रिफिङमा भने, “कमान्डर स्तरमा खुला सञ्चारमार्फत आपसी बुझाइ र विश्वासको प्रवद्र्धनले जापान र चीनबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माणमा योगदान पु¥याउनेछ, हामीलाई लाग्छ यो भ्रमणले क्षेत्रको शान्ति र स्थिरतामा योगदान पु¥याउँछ ।”

पिएलए पूर्वी थिएटर कमाण्डले पनि यही विचार व्यक्त गरेको छ । “यो भ्रमणले दुई पक्षबीच समझदारी र आपसी विश्वास बढाउन तथा चीन र जापानबीच रक्षा आदानप्रदानलाई बढावा दिन मद्दत गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

जापान र चीनले वर्षौंदेखि क्षेत्रीय र ऐतिहासिक विवादका साथै अन्य मुद्दाहरूले तनावग्रस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् ।

तनाव कम गर्न जापानी विदेशमन्त्री ताकेशी इवायाले डिसेम्बरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटे्को थियो ।

जापानी सत्तारूढ सांसदहरू पनि कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूसँग बैठकका लागि यस हप्ता चीनको भ्रमणमा छन् र जापानका कृषिमन्त्री बुधबार चीन जाँदै छन् ।

जापानका राष्ट्रिय सुरक्षा सल्लाहकार टेको अकिबाले नोभेम्बरमा चीनको भ्रमण गरी वाङसँग वार्ता गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका लागि मार्ग प्रशस्त गर्न टोकियोले अर्को महिना वाङलाई जापानमा निम्तो दिने अपेक्षा गरिएको निक्केई व्यापार दैनिकले गत हप्ता रिपोर्ट गरेको थियो ।

सन् २०१९ मा ओसाकामा भएको समूह २० को शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँगै आएको बाहेक सीले राष्ट्रपति बनेदेखि भ्रमण गरेको छैन । 

परिच्छेद सेनको निर्देशनमा चलचित्र ‘महाराजधिराज’ निर्माण हुने

काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’ निर्माण हुने भएको छ । पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’को घोषणा गरेका हुन् ।

मंगलबार सार्वजनिक टिजर पोस्टरमा अभिनेता पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ । एउटामा तस्बिरमा उनी ‘न्युड’ अवस्थामा गद्दीमा बसेको देख्न सकिन्छ । अर्को पात्रमा भने उनी श्रीपेच र शाही पोशाकसहित उभिएका छन् ।

अभिनेता शाहले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् । उनका अनुसार चलचित्र आगामी दशैँको फूलपातिमा रिलिज हुनेछ ।

यो चलचित्रको पटकथाकार पनि परिच्छेद नै छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा यसलाई टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्तामा विराज विष्ट छन् ।