`

प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव, किरात लिम्बुवान सगरमाथा राख्नु पर्ने

विराटनगर – प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेका हुन् ।

जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। यसअघि प्रदेशको नाम कोशी राख्न एमाले र कांग्रेस सांसदहरूले प्रस्ताव दर्ता गरेका थिए।

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको छ।

अर्को सत्तारूढ दल माओवादी केन्द्रले पनि उक्त प्रस्तावमा फरक मत नराख्ने बताएको छ। सत्ताको नेतृत्व गरिरहेको एमाले र विपक्षी कांग्रेस एकमत भएर प्रदेशको नाम राख्न लागेपछि माओवादी केन्द्रले पनि यसमा अवरोध नगर्ने, फरक मत नराख्ने वचन दिएको कांग्रेस नेताहरूले बताएका छन्। माओवादी नेताहरूले आफूले नभई जनताले नै पहिचानको मुद्दा छोडेको बताएका छन्।

रास्वपाको निर्वाचन चिह्न परिवर्तन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न परिवर्तन गरिएको छ ।


बुधबार रास्वपाका प्रवक्ता मुकुल ढकालले गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाएर घण्टी मात्र राखिएको जानकारी गराएका हुन् । प्रवक्ता ढकालले आज विज्ञप्ति जारी गर्दै पार्टीको निर्वाचन चिन्ह औपचारिक रुपमा संशोधन भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘पार्टीले निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेसँगै अब पार्टीको चुनाव चिन्ह ‘घण्टी’कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई गराउँदछौं ।’

प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव दर्ता

विराटनगर – प्रदेश नम्बर १ को नाम कोसी राख्न सांसदहरुले प्रस्ताव गरेका छन् ।


बुधबार प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेकोमा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

प्रदेश १ को नाम १२ बजेसम्म प्रस्ताव गरिसक्नु पर्ने, ‘कोशी’मा सहमति जुटाउने कोशिश

विराटनगर –  प्रदेश १ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेबजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ ।

प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेकाे हाे । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सुचना जारी गरेको हो । प्रदेशसभा सचिवाल गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेश गर्नका लागि सुचना जारी गरिएको छ ।

‘नेपालको  संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नम्बर १ को नामाकरणका लागि प्रदेश सभा नियमावली–२०७४ (पहिलो संसोधनसहित)को नियम ५८ (ख) बमोजिम सोही नियमावलीको अनुुुसुची–९ को ढाँचामा प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यहरुलाई  २०७७९ फागुन १७ गते दिनको १० बजे देखी १२ बजेसम्म आफनो नाम प्रदेश सभा सचिवालय समक्ष दर्ता गराउन हुन माननीय सभामखज्युको आदेश अनुसार माननीय सदस्यहरुको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ सुचनामा भनिएको छ ।

आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाईएको छ, जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन ।

आगामी वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष खेल क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

ललितपुरको च्यासलमा रहेको फुटबल रङ्गशालाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आउने बजेटमा खेल क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले यस क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गर्दा समस्या हुने गरेको भन्दै अव त्यस्तो नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले देशका सबै प्रदेश, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा आवश्यक नीति, योजना र कार्यक्रम बनाएको जानकारी दिनुभयो । उहाँले खेल क्षेत्रलाई संस्थागत र विकसित गर्न सके मात्रै समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुने र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने धारणा राख्नुभयो ।

बागमती किनारमा रहेको च्यासल रङ्गशालामा तीन पट्टी प्यारापिट बनाइएको छ भने चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम लगायत निर्माण गरिएको छ । कार्यक्रममा कलाकार र एन्फा पदाधिकारीबिच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो ।

एमालेका महासचिव शंकर पोखरेलको टिप्पणी : प्रचण्डको पतनोन्मुख यात्रा

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको बताएका छन्। ​मंगलबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको बताएका हुन्।

‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा,’ उनले भनेका छन्।

फागुन १२ गते प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धन ब्यूँत्याएसँगै एमाले नेताहरूले निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने बताउँदै माओवादी केन्द्रले नयाँ गठबन्धन ब्यूँत्याएको हो।

लघुवितिय संस्थाहरूले ज्यादती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना

उदयपुर – लघुवितिय संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना दिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरूले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पीडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।

त्यस्तै उनीहरूले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरूद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर लगायतका माग राखेका छन् । ५ बुँदे माग राखी लघुवित्त संस्था विरुद्ध उदयपुरका स्थानीयहरू आन्दोलित बनेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनपछि मात्र विश्वासको मत लिने’

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिनुहुने भएको छ ।

अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केही दलहरूले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्था अनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताउनुभयो । उहाँले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताउनुभयो । प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन हुने जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु भई शहीद घोषणा भई राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले सरकारका सबै निकायका तथ्याङ्क एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौँमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी २४ सै घण्टा नेटवर्किङ र साइवर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

गणतन्त्र, संघीय खारेजीसहित ११ बुँदे माग राखेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा (भिडिओ)

काठमाडौं – व्यापारी दुर्गा प्रसाईँले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका छन् । 

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् । 

राजतन्त्र स्वीकारेको २०४७ को संविधान लागु गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने, २० लाखभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्नेलगायत ११ बुँदे माग राखेका प्रसाईंले यो आन्दोलनमा पूर्वराजपरिवारलाई नागरिकको हैसियतमा सहभागी हुन संविधानले अवरोध नगर्ने बताएका छन् । 

यस्तो छ उनको मागसहितको विज्ञप्ति

श्री ५ बडामाराज धिराज पृथ्वीनारायण शाह जसरी नेपाल एकिकरणको लागि हातमा तरबार बोकेर सडकमा निस्कनु भएको थियो । श्री ५ त्रिभुवन विर विक्रम शाहदेव जसरी जाहाँनिया राणा शासनको बिरुद्ध जनताको मायाले जनताको साथमा २००७ सालमा प्रजातन्त्रको लागि सडकमा आउनु भएको थियो । त्यसैगरि पूनः प्रजातन्त्र प्राप्तीको लागि आम नेपाली जनसमुदायलाई माया गर्दै श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव लगायत सम्पुर्ण राजपरिवार लाई यो आन्दोलनमा नेपाली नागरिकको हैसियतले सरिक हुँदा २०७४ को संविधानले कुनै किसिमको अवरोध उत्पन्न गर्न सक्नेछैन ।
१) राष्ट्रलाई सेतो हात्ती भएको संघीयता खारेज गर्नुपर्ने ।
२) सबै धर्मलाई सम्मान गर्दै वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने ।
३) गणतन्त्रको बाटो हिंड्दा अफाप सिद्ध भएका कारण २०४७ सालको संम्बिधान लागु गर्नुपर्ने ।
४) बैंक, लघुवित्त सहकारी र बिमा कंम्पनिहरु लाई तुरुन्त राष्ट्रिय करण गरी निक्षेपकर्ताहरुको निक्षेपलाई ध्यानमा राख्दै निक्षेप कर्ता को व्याज ६% प्रतिशत भन्दा माथि नहुनेगरि ऋणीहरुको बिस लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकालि सुकुम्बासी बनाई सडकमा पुऱ्याएका परिवारहरुलाई एकैठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने ।

५) २० लाख भन्दा माथिको ऋण ४% देखी ५% प्रतिशत व्याजदरमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदिशिक रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने साथै बैंक तथा वित्तिय संस्थाबाट पत्रपत्रिका मा ३५ दिने सुचना प्रकाशन गर्ने काम बन्द गर्नुपर्ने ।
६) बैंकले धितो लिलाम गरि सुकुम्वासी बनाईएकाहरुको धितो फिर्ता गरि उक्त ऋणलाई पूनः सम्रचनागरि १५ वर्ष सम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने । यसको जिम्मा सरकारले लिनुपर्ने ।
७) संम्पूर्ण सरकारका मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा ०% प्रतिशत व्याजमा राखिनुपर्ने । सरकारले एफ डि खाता खोल्न नपाउने ।
८) निजामति कर्मचारी र तल्लोतहका सुरक्षकर्मीहरुको तलब सुविधा कम्तिमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने ।
९) सर्वोच्च अदालतमा १०० जना न्याधिशहरु थप गरि जस्तो सुकै मुद्दाहरुलाई पनि २ वर्ष भित्र छिनोफानो गर्ने वातावरण गर्नुपर्ने ।

१०) जेल परेका कैदिवन्दिहरुलाई उच्च स्तरीय आयोग गठन गरी छानविन गरि जेल मुक्त गराई बाँकि वन्दीहरुलाई श्रम शिवीरमा रुपान्तरण गरीनुपर्ने र जेलको अवधारणा हरेक विकाश क्षेत्रमा एउटा ल्याई जेलमा विभिन्न किसिमका अध्यापन गराईनुपर्ने ।
११) उच्चशिक्षा हासिल गर्न विदेश जाने बाटो वन्द गरि नेपालमै थप विश्वविद्यालयहरु खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने ।

आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे

कााठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी  जनाएकी छिन ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नि राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको ब्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन । 

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साहेबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले दावी गर्दै भनिन, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जारी छ ।’

उनका अनुसार सरकारको बेभसाइट पनि भर्खरै हयाक भएको जनाउँदै केन्द्रिय सदस्य राणाले  साइबर सुरक्षाका लागि सरकारले गम्भिर भएर लाग्नु पर्नेमा जोड गरेकी छिन् ।

नेपाली सेनाको डाटामा टर्कीमा उपलब्ध हुनु गम्भिर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाई छ । सरकारले यसवारेमा गम्भिर लिएन भने सरकारी गोप्य सुचनाहरु अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सर्तक रहन उनले पनि जोड गरिन ।  

अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्न सक्नुपर्छ : सिके राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्न सक्नुपर्ने बताउनुभएको छ । 

मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारले गरेको कामकारबाहीलाई सहयोग गर्ने, सरकारले पठाएका विधेयकहरूलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरी अबको राष्ट्रपतिले काम गर्नुपर्ने बताउनुभएको हो ।

यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरू राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौँ युवाहरू नागरिकता विहीन हुन पुगेको उहाँको भनाइ छ । राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुँदा निरंकुशता जन्माउने आधारहरू रहेकाले आफ्नो पार्टीले काँग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिनुभयो । उहाँले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताउनुभयो । 

अरू पार्टीहरूको विभिन्न कारणहरू रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको उहाँले बताउनुभयो ।

एमालेले छोडेकाे मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डको जिम्मेवारीमा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेबाट राजीनामा दिएर खाली भएका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरि तोकेकी छन् ।

सत्ता गठबन्धनमा नयाँ समीकरण बनेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएसँगै एमालेका आठ मन्त्रीले सोमबार सामुहिक राजीनामा दिएका थिए ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेती रहेका थिए ।

योसँगै अहिले प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रलायको जिम्मेवारी सम्हालेका छन् भने अब सरकारमा माओवादी केन्द्रका मात्र मन्त्री रहेका छन् ।

सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु

काठमाडौँ – सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।

मङ्गलवार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेबसाइटमा सुरु गरेको छ ।

नयाँ प्रणालीसँगै सरकारी निकायहरूले आ–आफ्ना कार्यालयसँग सम्बन्धित सूचना तथा जानकारी निकायगत वेबसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुँचका लागि नयाँ प्रयोग प्रभावकारी हुने बताउनुभयो । एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरूपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उहाँले बताउनुभयो ।

विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात् नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरूको वेबसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ ।

राजु परीयारको आवाजमा नयाँ गीत काटे पलाउँछ सार्वजनिक

काठमाडौँ – लोक स्वरसम्राट राजु परीयारको आवाजमा मर्मस्पर्शि गीत काटे पलाउँछ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द सिर्जनामा राजु सुनामको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतमा राजुलाई गायिका मेनुका परीयारले स्वरमा साथ दिएकी छन् । वान.डि.भि. रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको अडियोलाई एच.बि.एन. किस्मतले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन ।

बियोगान्त कथाबस्तु समेटीएको गीत काटे पलाउँछको म्युजिक भिडियोमा ओम बिकलसंगै साया भण्डारीको अभिनय रहेको छ भने भिडियोलाई शिब बि।क।ले निर्देशन गरेका हुन । रक कौशलको छायाकंन र रबिन बि।क।को सम्पादन रहेको गीतको भिडियोलाई रंगदर्पण युट्युब च्यानलबाट सार्वजनिक भएको छ । काटे पलाउँछ गीतको अडियो भिडियो रिलिज अगावै टिकटकमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो । भिडियोले पनि दर्शकको भरपुर माया पाउने कुरामा निर्माण पक्ष विश्वस्त छ ।

भिडियो………

https://youtu.be/-sYsPC1enVA

कांग्रेसका महामन्त्री गगनकुमार थापाकोदाबी : केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन्।

‘हामीलाई अगाडिको पाटो सजिलो छैन्। केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छ। अब हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिने ठाउँ छैन्,’ उनले भने, ‘काम काम काम र कामले परिणाम। हामीले जनताका बीचमा भनेका पूरा गर्नुपर्छ।’

महामन्त्री थापाले एमालेसँगकै गठबन्धन बलियो बनाएको भए पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको बताए। उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

उनले राजनीतिप्रति इमान्दार भएर प्रधानमन्त्री प्रचण्डलाई मद्दत गरेर सरकारलाई सफल बनाउनुपर्ने बताए।

‘प्रधानमन्त्रीलाई सबैले मद्दत गर्नुपर्छ। गठबन्धन बनेको दिनबाट चकचक गर्ने, उपद्रो गर्ने, लसपस गर्न थाल्नु हुँदैन। यो काम गर्नु हुँदैन। राजनीतिक नैतिकता चाहिन्छ। पाँच वर्ष गठबन्धन तलमाथि हुँदैन। झ्याल ढोका बन्द गरेर कोठाभित्र बसेर समझदारी गरे अनुसार पालना गर्नुपर्छ। सरकारलाई सफल बनाउनुपर्छ,’ उनले भने।

राष्ट्रपतिको निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू हुने

काठमाडौं – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो । उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।

गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदाता रहेका छन् ।

संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र फिर्ता लिन सक्ने र तत्पश्चात् आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

ठुला राजनीति दलका नेताहरूले नै बुझाउँदैनन् सम्पत्ति विवरण

काठमाडौँ – ठुला राजनीति दलका नेताहरू नै सम्पत्तिको विवरण नबुझाउको पाइन्छ । कुनैपनि व्यक्तिले सार्वजनिक पद धारणा गरेको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण  बुझाउनु पर्ने हुन्छ । तर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी पार्टी) तथा नेपाल समाजवादी पार्टीका ११ जना संसदले सम्पत्ति विवरण ११ सांसदले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको उल्लङ्घन गरेका छन् ।

 सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । 

संसद् सचिवालयका अनुसार अहिलेसम्म सम्पत्ति विवरण नबुझाउनेमा काँग्रेसका सांसदहरूका उदय शमशेर जबरा, अजय कुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ , एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव, राप्रपाका सांसद पशुपति शमशेर जबरा रहेका छन् । 

सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै ओलीलाई पठाए देउवाले पत्र

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट मागेका छन्।


नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर पत्र बुझाएका थिए ।गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

देउवाले ओलीलाई पठाएको पत्र यस्तो छ  :-

श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले 

बिषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि 

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौंl

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौंl यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छl त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छुl 

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौंl यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छl

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छl यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छl

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व होl यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छुl 

जय नेपाल 

शेरबहादुर देउवा 
सभापति, नेपाली कांग्रेस 
०७९ फागुन १५

मंगलबार नेप्से परिसुचकमा १.२८ अंकले वृद्धि

काठमाडौं / प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ ।

यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान

काठमाडौँ । पुर्वकप्तान तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई यूएई टूरमा पठाउने प्रयास हुने बताएको छ ।

सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुन: पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अब सन्दीपलाई लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई पठाउने प्रयास हुनेछ । उनले भने, ‘रिप्लेसमेन्टमा पठाउने हाम्रो प्रयास छ, तर प्रक्रियागत रुपमा आईसीसीले के गर्छ, थाहा छैन ।’

कर्णालीमा एमाले बाहिरिए पनि सरकार सुरक्षित

सुर्खेत / कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित हुने भएको छ । अहिले नेकपा माओवादी केन्द्रले कर्णालीमा मुख्यमन्त्री पाएको छ । माओवादी कर्णालीमा दोस्रो दल हो । पहिलो दल कांग्रेस रहेको छ । कांग्रेसको १४ सिट , माओवादीको १३ सिट रहेको छ ।

माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ ।  माओवादी एक्लैसँग १३ सिट छ नेपाली कांग्रेससँग १४ सिट छ । यस्तै नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् । सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सुविधाजनक सिट रहेको छ । जसका कारण मुख्यमन्त्री शर्मा मुख्यमन्त्रीमै निरन्तरता पाउनेमा ढुक्क छन् । 

यसअघि पहिलो दलको हैसियतमा रहेको कांग्रेस १० पुसमा समीकरण बदलिएसँगै प्रतिपक्षमा बस्न बाध्य भएको थियो ।  त्यो बेला कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू नै मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने बताउँदै आएका थिए ।  १० पुसमा केन्द्रमा नयाँ समीकरण बनेपछि उनको मुख्यमन्त्रीमा निरन्तरता पाउने आशामा ‘ब्रेक’ लागेको थियो । अहिले माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्री बनिसकेकाले कांग्रेसले अहिले नै मुख्यमन्त्रीमा भाग खोज्ने स्थिति भने देखिँदैन । 

मुख्यमन्त्री राजकुमार शर्माले नयाँ समीकरणले कर्णालीमा खासै असर नपर्ने बताए ।  २७ पुसमा एमाले, राप्रपा र समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले ११ माघमा मात्रै मन्त्रिमण्डललाई पूर्णता दिएका थिए ।

कर्णालीमा एमालेले तीनवटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । एमालेका टेकराज पछाईले सामाजिक विकास मन्त्रालय, विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै माओवादीले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेको छ । साथै माओवादीकी उर्मिला विकलाई राज्यमन्त्री समेत माओवादीले बनाएको छ । 

एमालेले तीन मन्त्री पदसँगै सभामुख पद पनि गुमाउने जोखिम देखिएको छ । यति बेला एमालेबाट मन्त्री भएका सबै जना ‘ग्रासरुट’ अभियानमा व्यस्त छन् भने कांग्रेस, माओवादीका नेताहरूले केन्द्रको सर्कुलर कुरिरहेका छन् ।  

सुरजसिंह ठकुरी शुभगृह बोर्डमा नियुक्त

काठमाडौं / शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडिया पर्सनालिटी सुरजसिंह ठकुरीलाई आफ्नो बोर्डमा ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । गत शनिबार काठमाडाैंमा एक कार्यक्रमबीच ठकुरीलाई एम्बेसडर नियुक्त गरेको हो । कन्सल्टेन्सीका निर्देशक सुभेन्द्र थापा र सुरजबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ ।

‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन’, एम्बेसडरमा नियुक्ति पछि ठकुरीले भने, ‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा यूकेमा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु ।’

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले संस्थाको लक्ष्य प्राप्तिका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैं सम्मान गरेको छ भन्ने भावनालाई सुरजले पूर्ण रुपमा बुझेको बताए । उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित आफूहरुले गरेको दाबी गरे ।

‘विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन् । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने मेरो बुझाई छ’, उनले भने ।

शुभगृहमा संस्थापक श्रीमती सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास राखिन् । शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार’ प्राप्त गरेको छ ।

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

काठमाडौं / मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

यता मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

थाइल्याण्डमा पलास्टिक सर्जरी गरेर लागुऔषध ब्यापार गर्ने पक्राउ

बैंकक / थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ । यसै साता ब्यांककवाट पक्राउ परे पछि उनले पलास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो ।

न्यज स्काई डटकमका अनुसार आफनो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्तिजस्तो’ मात्रै बनेनन, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जिमिन राखेका थिए। 

पलास्टिक सर्जरी गरेर रुप बदलेका २५ बर्षिया उनलाई  थाइल्याण्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो। उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी उ बैंककमा पक्राउ गरेका परेका हुन ।

उनको बारेमा जानकारी दिनेहरुले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए । प्रहरीका अनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन्।

थाईल्याण्ड प्रहरीका अनुसार यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसके थिए भने उनी पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको ब्यापार गरिरहेका थिए । 

आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

दुबइ / युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । 

नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहेको नेपालले यसअघि सिंगापुर, कुवेत, सोमबार हङकङलाई पराजित गरिसकेको छ ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितकाे पर्खाइमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।

कोरियाली राजदुतकाे ‘नाटु नाटु’ डान्स भिडियो भाइरल, मोदीले गरे प्रशंशा

नयाँ दिल्ली / भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नातु नातु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ ।

भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ।

भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ ।

देश भयानक चेपुवामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भुराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन् । छोटो समय सकारमा रहेर बहिरिएका अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै देश भयानक चेपुवामा परेको बताएका हुन् ।

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेर बाहिरिएका लिङ्देनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन् ।

उनले आफुले सरकारमा रहदा बुझेका चारवटा बुँदासमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ बनाउन सकिन्छ र बन्छ।’

पुस १० मा नेकपा एमालेसहित सात दलको गठबन्धन बनेसँगै सरकारको नेतृत्वमा पुगेका लिङ्देनसहित सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएर समीकरण बदलिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु …..,

● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।

● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।

● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।

● देश बनाउन नसकीने र नबन्ने रहेनछ।

बनाउन सकिन्छ र बन्छ।

चितवन-२ मा रास्वपाबाट रवि लामिछाने नै उठ्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई चितवन-२ मा उम्मेदवार बनाउने भएको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी मनोनयनको केही समयअघि यसविषयमा औपचारिक निर्णय गरिने बताउनुभयो।

उहाँले भोली १६ गते उपनिर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिने बताउनुभयो । गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने विजयी हुनुभएको थियो । तर, नागरिकता विवादमा मुछिएका कारण उहाँको सांसद पद गएको थियो।

सवारी पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलित

काठमाडौँ – काठमाडौँको दरबारमार्ग क्षेत्रको सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।

सवारी पार्किङ निषेध गर्ने काठमाडौँ महानगरको निर्णयको विरोधमा व्यवसायीहरूले सोमबार अपराह्न आधा घण्टा सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका हुन् । सवारी आवागमनमा नै असर पुग्ने गरी दरबारमार्ग क्षेत्रमा पार्किङ गरिएको भन्दै महानगरले दुई महिना अघि सो क्षेत्रलाई पार्किङ निषेध बनाएको थियो ।

त्यसपछि सो क्षेत्रका व्यापारीहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले यसअघि सडकको एकतर्फी छेउमा मात्रै पार्किङ राखेको तर महानगरले हटाउँदा ५० देखि ६० प्रतिशत व्यापार घटेकाले बाध्य भएर विरोध गर्नुपरेको बताएका छन् ।

दरबारमार्ग विकास बोर्डको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले दरवारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ देखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

आठ दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला गर्ने

काठमाडौँ – नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला गर्ने भएका का छन् ।

राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।

सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको हाे ।

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

काठमाडौँ – बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेलाई पुन : पक्राउ गर्नु नपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।
आज भएको सुनवाइमा लामिछानेलाई पुन : पक्राउ गर्नु नपर्ने र उनलाई विदेश जाने अनुमतिसमेत अदालतले दिएको छ ।

परराष्ट्र मन्त्रीलाई जेनेभा जान रोक्नु अनुचित : इन्सेक

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्री विमला राई पौड्याललाई जेनेभा जान रोकेको भोलिपल्ट सोमबार विज्ञप्ति जारी गरेर इन्सेकले विरोध जनाएको हो।

इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानूनको उल्लङ्घन र ज्यादतीको निरूपण नभएको, पीडितले अझै न्याय र परिपूरणको अनुभव गर्न नसकेको अनि सङ्क्रमणकालीन न्यायको प्रक्रिया पूरा नभएको सन्दर्भमा यस प्रकारका घटनाबाट मानव अधिकारको विश्वव्यापी मञ्चको बेवास्ता गरिएको अर्थ लाग्न सक्छ।”

प्रधानमन्त्री दाहालले फागुन ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय विपरीत परराष्ट्र मन्त्रीलाई जेनेभा जान रोकेका थिए। यस्तो घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पर्ने इन्सेकको ठहर छ।

“बैठकमा परराष्ट्र मन्त्रीको उपस्थिति र नेपालका तर्फबाट गरिने मानव अधिकार सम्बन्धी प्रतिबद्धताको विशेष महत्त्व हुने थियो भन्ने तथ्य प्रधानमन्त्रीले मनन गर्न नसक्नु दुःखद हो,” अध्यक्ष अर्यालले भनेका छन्, “देशभित्रको राजनीतिक विवाद र विग्रहका कारण आवेशमा गरिएको देखिने यस्तो कार्यले अन्तर्राष्ट्रिय छविमा आँच आउने सक्नेतर्फ नेपाल सरकारलाई सचेत गराउन चाहन्छौं।” 

सागरले ल्याए एकैदिनमा दुईवटा गीतको किताब

काठमाडौं – गीतकार सागर उदासले एकै दिनमा आफ्ना दुईवटा गीति कृति सागर सुसेली र फैलिन्छ कि माया ल्याएका छन् ।

गण्डकी वाङ्यमय प्रतिष्ठान तनहुका अध्यक्ष समेत रहेका सागरले काठमाडौंको साहित्यिक माहौलमा कृति सार्वजनिक गर्न रुचाए । बरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमाभएको लोकार्पण समारोहमा गायक तथा सङ्गीतकारको उतहजनक उपस्थिति थियो । कन्सेप्ट नेपालको ब्यानरमा अनामनगरको सिलौटो कटेजमा भएको समारोह पृथक किसिमको थियो ।


प्रमुख अतिथि मुकारुङले गीत सिर्जनामा सागर निकै उर्जाशील भएको बताउँदै गीतमा पनि नयाँ नयाँ प्रयोग हुनु पर्ने बताए । बरिष्ठ गजलकार ललिजन रावलले गीतकार उदास गीति चेतनाले भरिएका सर्जक भएको दावी गरे । बरिष्ठ गीतकार रमेश पौडेलले साहित्यमा राजधानी र मोफसलको साँधसिमा भत्कनु पर्ने तर्क राख्दै सागर अर्गानिक गीतकार भएको दावी गरे । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले कृतिको समीक्षा गर्दै सागरका गीत सबैको मन छुने खालका भएको बताए ।


बरिष्ठ सङ्गीतकार बीबी अनुरागीले सागरमा गीतमा दुई दशक अघि नै आफुले सङ्गीत भरेको र उनका गीत मर्मश्पर्शी हुने बताए । अर्का गायक तथा सङ्गीतकार राजनराज शिवाकोटीले कृतिका गीतले सङ्गीत भर्ने उर्जा दिएको बताए ।
गीतकार सागर उदासले आफु बर्मामा जन्मे पनि पुख्र्यौली थलो तनहुँको माटोले गीतकार बनाएको अनुभव सुनाउँदै अनलाईबाटै आमाको शुभेच्छा सुनए ।


कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यको अध्यक्षतामा भएको विमोचन समारोहमा गीतकारका बारेमा कवि गीतकार दिपेन्द्र थापा र सुरेन्द्र रानाले गीतकार सागरले आफ्नो उपनाम उदास नभै रसिक राख्नु पर्ने बताए ।
चालीसको दशकदेखि साहित्य सिर्जनामा लागेका अर्जुन अधिकारी उर्फ सागर उदासका यस अघि सागर भित्रका कणहरू गीतसङ्ग्रह,आभार गीति एल्बम,रवि गीति एल्बम प्रकाशित भइसकेका छन् ।

खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन खानेपानीमन्त्री खानको आग्रह

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गर्नुभएको छ ।

नेपाल खानेपानी संस्थाको ३४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चुनौती आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गर्नुभएको हो । उहाँले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चुनौती दिनुभयो ।

उहाँले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिनुभयो । अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रूपमा खानेपानी सेवा उपलब्ध गराउनका लागि केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीको सेवा सुविधाका लागि बिनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उहाँले अर्थमन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिनुभयो ।


त्यस्तै उहाँले संस्थालाई दिएको कर्तव्य पुरा गरे मात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राख्नुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं – नेकपा एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।

सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई हुनुहुन्थ्यो ।

आज दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । यसअघि आइतबार साँझ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लाग्नुभएकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले राेक्नुभएको थियो ।

सेयर बजार ३.६५ अंकले घट्यो

काठमाडौं – साताको दोस्रो  कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको  छ । सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । 
आज  ५१ लाख २०  हजार ८८८ कित्ता  सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७  बढीको कारोबार भएको छ ।

यस्तै १५९ कम्पनीहरुको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थीर रहेको  नेप्सेले जनाएको छ । 


त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९  प्रतिशतले वृद्धि भएको छ । 
यता,  हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दाबढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार   १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको जनाएको छ ।  

सरकारलाई रास्वपाको समर्थन कायमै‚ राष्ट्रपतिबारे अनिर्णीत

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे भने अझै निर्णयमा नपुगेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे । सरकारमा सहभागी रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन फिर्ता लिएका छन् ।

प्रदेश सरकारका विषयमा कुनै निर्णय भएको छैन : विष्णु पौडेल

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताउनुभएकाे छ । संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताउनुभयाे ।

‘हामीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेका छौं । सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएका छौं’  पौडेलले भन्नुभयाे, ‘प्रदेश सरकारका विषयमा कुनै छलफल वा निर्णय भएको छैन । प्रदेश सरकार तत्काल यथावत रहन्छन् ।’

प्रदेश सरकारका विषयमा भने एमालेले परिस्थिति हेरेर निर्णय गर्ने तयारी गरेको छ । एमालेबाट प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा हिक्मत कार्की र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री छन् । अरु प्रदेशमा तत्कालीन सात दलीय गठबन्धनबाट सरकारमा सहभागी भएको छ ।

प्रतिनिधिसभाको बैठक : प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ – प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई पारित गरिएको हो । बैठकमा शहनाज रहमानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बोलाइएको छ ।


काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गाैतम निर्वाचित

काठमाडौं – काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन् । संघको नवौँ महाधिवेशनले अध्यक्षमा गाैतमलाई चयन गरेको हो । 

यसैगरी वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) कृष्ण केसी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन भएका छन् ।