`

प्रदेशसभा बैठकमा वार्षिक प्रतिवेदन पेस

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले उक्त प्रतिवेदन पेस गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउने जानकारी सदनलाई दिनुभयो ।

बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट राजन कार्कीले किमाथाङ्का मार्गलाई व्यवस्थित गर्न सरकारसँग माग गर्नुभयो । उहाँले किमाथाङ्का सडक कोशी प्रदेशका निम्ति समृद्ध र विकासका आधार बन्ने भएकाले प्रदेश सरकारले उक्त मार्ग व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

तिब्बत र चीनसँग व्यापार विस्तार गर्न किमाथाङ्का नाकासँगै भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालयलाई व्यवस्थित गर्नुपर्ने भन्दै उहाँले यो नाका कोशी प्रदेशको विकासका लागि उत्तरी ढोका हो भन्नुभयो ।

बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य गोम्बू शेर्पाले आगामीमा आर्थिक वर्षको बजेट सरकारले कुनै पनि किसिमको त्रुटी गर्ने छुट नभएको बताउनुभयो । सदस्य मीन श्रेष्ठले नेपाल-भारतको सीमामा हुने अवैध क्रियाकलापलाई रोक्न स्थानीय जनताले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सदस्य किशोरचन्द्र दुलालले नेपाली जनता दिनप्रतिदिन महँगीको मारमा परिरहेकाले यसबाट जोगाउन सरकारले प्रभावकारी योजनासहित आवश्यक कदम चाल्नुपर्ने सुझाव दिनुभयो । सदस्य गोपालबहादुर विश्वकर्माले आगामी बजेट जनता केन्द्रित बनाउन माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक शनिबार अपराह्न ३ः०० बजे बस्नेछ ।

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला

मोरङ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज उद्घाटन गर्दै नेता डा कोइरालाले पार्टी बलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राख्नुभयो ।

नेता डा कोइरालाले पार्टीको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत एकता आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले पार्टी सङ्गठित बनाउन आफू एकता अभियानमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सङ्घीय संसद्मा सङ्ख्यात्मक रुपमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन ।” नेता डा कोइरालाले पार्टीमा के कारणले विवाद आयो, त्यो विषयमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ : सभापति थापा

पाटन (ललितपुर) – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउनु सकिने बताउनुभएको छ ।

नागरिकको सवाल, कांग्रेसको पहल भन्ने नाराका साथ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको छलफलमा उहाँले समुदायलाई विपद् सचेतनामा जोड्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“विपद् विकासको परिधिभित्र पर्दैन, गरिबीको कारणले विपद्को जोखिम क्षेत्रमा बसोबास गरिरहेको अवस्था छ, अनि विपद्कै कारणले गरिबीको चक्रमा फसेको अवस्था छ, यसलाई भोलि नेतृत्वमा जाने मानिसले ध्यान दिनुपर्छ, हामी सरकारमा हुँदा र सरकार बाहिर हुँदा हामी विपद्सम्बन्धी कामलाई प्राथमिकताका साथ ध्यान दिन्छौँ”, उहाँले भन्नुभयो ।

सभापति थापाले पार्टीको सङ्गठनमा आबद्ध नौ लाखभन्दा बढी सदस्यलाई विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा सचेत गराइने जानकारी दिनुभयो । “विपद्लाई राजनीतिकरण गर्नुहुँदैन । राजनीतिक अभियानमा विपद्का सरोकार र चासोलाई जोड्दै जिम्मेवार भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विपद् जोखिम न्यूनीकरण विशेषज्ञ इञ्जिनियर प्रा डा हरिदर्शन श्रेष्ठले राजनीतिक दलहरूमा विपद् व्यवस्थापनका सन्दर्भमा विपद् व्यवस्थापनमा यथेष्ट नीतिगत व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी नहुँदा समस्या भएको बताउनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिक र गरिब वर्गसँगको समन्वयमा कमजोरी भएकालाई सुधार्नुपर्नेमा जोड दिनुभयो ।

अभियान्ता मेरीना रन्जितले विपद्मा कारण ८० प्रतिशतभन्दा बढि महिला र बालबालिका प्रभावित हुने गरेको तथ्य प्रस्तुत गर्दै संस्थागत सामाजिक उत्तरदायित्वको खर्च पूर्वतयारीमा गर्न पाउने व्यवस्था गर्न सुझाव दिनुभयो ।

विपद व्यवस्थापन विज्ञ एवं कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य सचिव मानबहादुर थापाले नेपाल चट्याङको जोखिमका दृष्टिले पाँचौँ र संसारका सबै देशमध्ये सबै किसिमका जोखिमका दृष्टिले १० औँ स्थानमा रहेको जानकारी गराउँदै पूर्वतयारी र विपद् प्रतिकार्यमा नेपालले धेरै सुधार गर्नुपर्ने अवस्था छ भन्नुभयो ।

हरेक वर्ष रु तीन अर्बको क्षति हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै उहाँले २०७२ को भूकम्प अगाडि २१ प्रतिशत र भुकम्पपछि २५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बोली, वचन र व्यवहारमा सुधार गरी आफूलाई प्राप्त जिम्मेवारी उच्च व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो ।

हालै सरूवा भई आआफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँ आआफ्नो क्षेत्रमा देखा पर्नसक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही बहन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक कार्कीले सूचना सङ्कलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थभन्दा साङ्गठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर सङ्गठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै सङ्गठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

सम्पूर्ण प्रहरी कर्मचारीले पारदर्शी, काननुनसम्मत र विभेद्रहित ढङ्गले आआफ्नो जिम्मेवारी बहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन उहाँले निर्देशन दिनुभयो ।

बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानवअधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानुन निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो ।

आदेशमा भनिभएको छ, “अदालतले १८ वर्ष वा सोभन्दा मुनिका बालबालिकाहरुलाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोग पूर्णतः निषेधित गरी यस्ता काम कारबाहीलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानुन निर्माण गर्नु राज्यको दायित्व हुँदा सोतर्फ तत्काल पहल गर्नु भनी विपक्षी सरकारी निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।”

बाल लडाकु लेनिन बिष्टले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सशस्त्र द्वन्द्वको क्रममा बाल सैनिकहरु भर्ना गरी प्रयोग गरेको मुद्दामा तत्कालीन नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईलाई युद्ध अपराधमा अभियोजन गर्न संविधानले नै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गरेको छ ।

आदेशमा भनिएको छ, “आयोगहरु समक्ष उजुरी दर्ता गरिसकेका र आयोगबाट २०८० जेठ २५ गते पत्रमार्फत सोसम्बन्धी जानकारी प्रदान गरिसकेको देखिँदा सशस्त्र द्वन्द्वको समयमा भएका कमान्डस्तरका निर्णयहरुका लागि व्यक्तिगत जवाफदेहिताको प्रश्न खुला नै रहेको र यसको संवैधानिक रुपमा स्थापित सङ्क्रमणकालीन न्याय संयन्त्रहरुबाट तयार प्रतिवेदन, सिफारिस मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहन पर्ने देखिएन ।”

बाल लडाकुहरुलाई सेना समायोजनमा आयोग्य ठहर गर्दै प्रतिव्यक्ति रु १० हजार दिएर बिदा गरिएको र पछि प्रतिव्यक्ति रु दुई लाख दिने भनिए पनि सबैले नपाएको आदेशमा भनिएको छ । साथै, आदेशमा स्वैच्छिक अवकाशमा गएका वयस्क लडाकुहरुले भने रु पाँच लाखदेखि रु आठ लाख पाइएको उल्लेख छ ।

अदालतले निवेदक र निवेदकसँग जोडिएका व्यक्तिहरुलाई सम्मानपूर्वक पहिचान दिनु न्यायोचित हुँदा अब राज्यका निकायहरुले द्वन्द्वबाट प्रभावित सेनामा समायोजन हुन नसकेका व्यक्तिहरुलाई राज्यबाट जारी हुने दस्ताबेज तथा अभिलेखमा अयोग्य, बहिर्गमित जस्ता अपमानजनक पहिचान हुने खालका शब्दहरु प्रयोग नगर्न परमादेश गरेको छ ।

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

काठमाडौँ। भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ ।

भारत सरकारको करिब रु नौ करोड ३० लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ । यो कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीसहित अन्य सरोकार भएका निकायका प्रतिनिधिले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले गाउँपालिकाभित्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले श्रव्यदृश्य (भिडियो) सन्देशमार्फत उक्त परियोजनाका सम्पूर्ण सरोकार भएकाहरूलाई शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कालीकोटमा चार एम्बुलेन्स र दुई वटा स्कुल बससहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई ५६ एम्बुलेन्स र १४ स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर ह्वाइट हाउसको साउथ लनमा आयोजना गरिएको विशाल युएफसी केज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यो कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील र विवादास्पद कदम भनेका छन् ।

आइतबार हुने भनिएको उक्त कार्यक्रमका लागि ह्वाइट हाउसको साउथ लनमा ‘द क्लाउ’ नामक विशाल पिँजडा अखाडा निर्माण गरिएको छ र त्यहाँ १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) खेलाडीहरूबीच केज फाइट प्रतिस्पर्धा हुनेछ । रक्तपातपूर्ण शैलीका लडाइँलाई केन्द्रमा राखिएको यो प्रतियोगिता अमेरिकी राष्ट्रपति कार्यालयको इतिहासमै असाधारण मानिएको छ ।

करिब छ करोड अमेरिकी डलर लागत अनुमान गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक आलोचना चर्किएको छ । आलोचकहरूले युद्ध तथा आर्थिक चुनौतीका बीच यस्तो खर्चिलो र माचो शैलीको कार्यक्रम उपयुक्त नभएको टिप्पणी गरेका छन् । तर राष्ट्रपति ट्रम्पले यसलाई अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव सुरु गर्ने अवसरका रूपमा व्याख्या गर्नुभएको छ र कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले व्यहोर्ने दाबी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले न्युयोर्क पोस्टसँगको कुराकानीमा लडाकू खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूलाई ‘सबैभन्दा कठोर व्यक्तिहरू’ का रूपमा वर्णन गर्नुभएको छ । उहाँका अनुसार यस्तो कार्यक्रमले अमेरिकी खेल र शक्ति प्रदर्शनको नयाँ रूप देखाउनेछ ।

कार्यक्रममा इन्टरनेसनल मिक्स्ड मार्सल आर्ट (एमएमए) को प्रभावशाली उपस्थिति रहने अपेक्षा गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युएफसीसँगको सहकार्यलाई स्वागत गर्दै यसलाई ‘अमेरिकी जनताका लागि उपहार’ भन्नुभएको छ । उहाँका अनुसार यो कार्यक्रम विश्वभर करिब एक अर्ब दर्शकले हेर्न सक्ने सम्भावना छ ।

कार्यक्रमका आयोजक डाना ह्वाइटका अनुसार करिब चार हजार दर्शकले प्रत्यक्ष रूपमा ह्वाइट हाउस परिसरभित्र खेल हेर्नेछन् । तीमध्ये आधाभन्दा बढी अमेरिकी सेनाका सदस्य हुनेछन् । थप एक लाख २५ हजार दर्शकले ह्वाइट हाउस बाहिरको एलिप्स क्षेत्रमा राखिने विशाल स्क्रिनमार्फत खेल अवलोकन गर्ने अनुमान गरिएको छ ।

निर्माण गरिएको ‘द क्लाउ’ संरचना ६०० टनभन्दा बढी तौल र करिब १५४ फिट चौडाइ तथा ९२ फिट उचाइको रहेको बताइएको छ । यो ह्वाइट हाउस भवनभन्दा पनि अग्लो संरचना हो । ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिने साउथ लनमा यस्तो संरचना निर्माण हुनु पनि विवादको अर्को कारण बनेको छ ।

यो कार्यक्रमले ह्वाइट हाउसको दुई शताब्दीभन्दा लामो इतिहासमा नयाँ र असामान्य अध्याय थप्ने देखिएको छ । विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक शैलीअनुसार मनोरञ्जन, शक्ति प्रदर्शन र लोकप्रियतामूलक कार्यक्रमलाई राज्य संयन्त्रसँग जोड्दै अघि बढाइरहनुभएको छ ।

तर कार्यक्रमविरुद्ध कानूनी चुनौती पनि दायर भएको छ । सार्वजनिक भूमिको दुरुपयोग गरी राष्ट्रपतिको निकट सहयोगीहरूलाई फाइदा पु¥याउने प्रयास भएको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । ह्वाइट हाउसले भने सबै आरोप अस्वीकार गरेको छ ।

ट्रम्पले यस कार्यक्रमलाई अमेरिकाको स्वतन्त्रता दिवसको २५०औँ वार्षिकोत्सवको सुरुवातका रूपमा प्रस्तुत गर्दै यसलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गर्नुभएको छ । कार्यक्रमपछि संरचना हटाइने योजना रहेको पनि अधिकारीहरूले स्पष्ट पारेका छन् ।

एच३ रकेट सफल पुनः उडानमा फर्कियो

टोकियो। जापानको नयाँ पुस्ताको फ्ल्यागशिप एच३ रकेट कम लागत संस्करणसहित सफल प्रक्षेपण गर्दै पुनः उडानमा फर्किएको छ ।

निरन्तर असफलताका कारण चुनौतीमा परेको जापानको अन्तरिक्ष कार्यक्रमका लागि यो उडानलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (ज्याक्सा) का अनुसार एच३ रकेटलाई शुक्रबार बिहान दक्षिणपश्चिम जापानको तानेगाशिमा स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो । रकेटको दोस्रो चरण लक्षित कक्षामा सफलतापूर्वक पुगेको पुष्टि गरिएको छ भने विश्वविद्यालय तथा अन्य संस्थाहरूले विकास गरेका छवटा साना उपग्रहहरू सफलतापूर्वक अलग भएको अनुमान गरिएको छ ।

यस पटकको मिसनले एच३ को नयाँ ‘३० कन्फिगरेसन’ को पहिलो उडानलाई प्रतिनिधित्व गरेको हो । यो संस्करण तीनवटा लिक्विड फ्युल एलई–९ इन्जिनसहित कुनै पनि बुस्टर बिना सञ्चालन गरिएको हो र यसलाई लागत घटाएर अन्तरिक्ष प्रतिस्पर्धामा बढी प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको हो । यसका विभिन्न मोडेलहरूले ग्राहकको आवश्यकताअनुसार सेवा दिने गरी डिजाइन गरिएको छ ।

एच३ रकेट जापानको पुरानो एच–२ए रकेटलाई प्रतिस्थापन गर्ने लक्ष्यसहित विकास गरिएको हो, जसको सफलताको इतिहास लगभग पूर्ण मानिन्छ । तर नयाँ पुस्ताको एच३ ले सुरुआती चरणमै दुई असफलता भोगेपछि लामो समय ग्राउन्डेड रहनुपरेको थियो ।

मार्च २०२३ को पहिलो परीक्षण उडानमा दोस्रो चरणको इन्जिन प्रज्वलन हुन नसक्दा मिशन असफल भएको थियो । त्यसपछि डिसेम्बरमा भएको अर्को प्रक्षेपणमा नेभिगेसन स्याटेलाइट बोकेको भए पनि दोस्रो चरणको खराबीका कारण उपग्रहलाई निर्धारित कक्षामा पु¥याउन सकेको थिएन ।

यी असफलतापछि एच३ कार्यक्रम रोकिएको थियो र शुक्रबारको सफल उडानलाई त्यसयताकै पहिलो ठूलो पुनरागमनका रूपमा हेरिएको छ । जापानको भविष्यका अन्तरिक्ष योजनाहरू, विशेषगरी सन् २०२८ मा प्रस्तावित मङ्गल मिसन, यसै रकेट प्रणालीमा निर्भर रहने भएकाले यो सफलतालाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

यता सानो एप्सिलोन–एस रकेट शृङ्खला पनि २०२४ को परीक्षण क्रममा आगलागी भएपछि ढिलाइमा परेको छ, जसले जापानको समग्र अन्तरिक्ष कार्यक्रमलाई थप चुनौती दिएको थियो ।

ज्याक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरेको एच३ रकेटलाई अब वार्षिक रूपमा छ देखि आठ पटक प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । यो सफलताले जापानलाई विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बनाउन र एलन मस्कको स्पेसएक्सजस्ता निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध

खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो ।

मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वारपार गर्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । लेदोसहितको बाढीले सडक बन्नुअघि नै क्षति पुर्‍याएपछि अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सडक पुनःसञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने सवारीसाधन र यात्रुलाई समस्या भएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली बिहीबार घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक विष्टले बताउनुभयो । सडकमाथिबाट लेदोसहित आएको बाढीले बगाएर सडक बन्नुभन्दा अगाडि जस्तो थियो त्यस्तै अवस्थामा पुर्‍याएको उहाँको भनाइ छ ।

बाढीले खोलेर चट्टानसहितको भीर बनाएकाले निर्माण गर्न ‘ब्रेकर’ले पनि सम्भव नहुने देखिएको स्थानीयले बताएका छन् । “ग्याबिन जाली भरेर तलैदेखि निकाल्यो भनेमात्र केही दिनमा सडक बन्न सक्ने सम्भावना छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले भन्नुभयो ।

पङ्खुखोलामा विसं २०७३ मा मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म बन्न नसकेको हो । कालोपत्रको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण पक्की पुल निर्माण नहुँदा खोलाबाट यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता थियो ।

पङ्खुखोलाको निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र बनेपछि श्रमदानमार्फत यही जेठ १७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । श्रमदान गरेर निर्माण गरिएको काठे पुल यही जेठ २२ गते राति आएको बाढीले बगाएपछि समस्या भएको वडाध्यक्ष कठेतले बताउनुभयो । अटो तथा मोटरसाइकल वारपार गराउन मिल्नेगरी श्रम संस्कृति पार्टी निकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेको थियो ।

यही जेठ २२ गते राति आएको वर्षापछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा सेवा विस्तार भएको छ । सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिनामात्रै सञ्चालन हुने अवस्था रहेको वडाध्यक्ष कठेतले जानकारी दिनुभयो । हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएका ग्रामीण सडक हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म अवरुद्ध हुने गर्दछन् ।

मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सो भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।

उहाँहरुबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोगलगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोगको अपेक्षा गर्नुभयो । साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताउनुभयो ।

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय माग गरिएको छ ।

मन्त्रालयले बिहीबार विभिन्न २० वटा ऐन संशोधनमाथि एक साताभित्र तोकिएको भाषा र ढाँचामा राय उपलब्ध गराउन सर्वसाधारणसमक्ष अनुरोध गरेको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए ।

संशोधनका लागि राय माग गरिएको कानुनहरुमा कर्मचारी सञ्चय कोष ऐन, २०१९, जग्गा (नाप जाँच), २०१९, भूमिसम्बन्धी ऐन, २०२१, शिक्षा ऐन, २०२८ मा संशोधन, मालपोत ऐन, २०३४ मा संशोधन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५, नागरिक लगानी कोष ऐन, २०४७, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ रहेको छ ।

त्यसैगरी, निजामती सेवा ऐन, २०४९ मा संशोधन, विश्वविद्यालय अनुदान आयोग ऐन, २०२५, स्वास्थ्य सेवा ऐन, २०५३ मा संशोधन, वैदेशिक रोजगार ऐन,२०६४, सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१, योगदानमा आधारित समाजिक सुरक्षा ऐन, २०७४, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ रहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग गरी समुदायलाई सचेत गराउँदै शान्ति सुरक्षा, अमन, चयन कायम गर्न तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ ।

सो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रविधि, शान्ति र सामुदायिक सचेतनालाई एकै सूत्रमा बाँधेर कार्ययोजना अघि सारेको बताए ।

उनले बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरूकता कार्यक्रमसहित बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा सञ्चालन गरी शान्ति सुव्यवस्थाका पक्षमा प्रदेश प्रहरी अघि बढेको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक खत्रीले भने- “सार्वजनिक सुरक्षाका चुनौतीसँग जुध्न आधुनिक सूचना प्रविधिको सदुपयोग हुन आवश्यक छ । ‘ह्याक फर सेफ्टी’ मार्फत युवा, विद्यार्थी, ‘डेभलपर’ तथा नवप्रवर्तनकर्तालाई सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धानमा सहयोग तथा प्रहरी सेवासँग सम्बन्धित समस्या समाधानका लागि नवीन उपाय विकास गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ । सोहीअनुसार रचनात्मक कार्यक्रम सञ्चालन हुनेछ ।”

त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्रामार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न लागेको प्रदेश प्रहरीले जनाएको छ । सो पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सङ्घसंस्थाको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रदेश प्रहरीका अनुसार बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायिक जागरूकता कार्यक्रममा साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतना अभिवृद्धिका पक्षमा विभिन्न कार्यक्रम हुनेछ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले यही जेठ ३० गते सुरु भई असार १ गते सम्पन्न हुने तीनदिने विशेष अभियानमा व्यापक जनसहभागिता रहने र यसबाट प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आजका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा महत्वपूर्ण बिषयमा छलफल र निर्णयहरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

संसद् बैठकको कार्यसूची सार्वजनिक, बजेट र सांस्कृतिक सम्पदा विधेयक प्राथमिकतामा

काठमाडौं । प्रतिनिधिसभा बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं। ८१’ पेस गर्ने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १०० र पिँडालु प्रतिकिलो रु ९०, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमुला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ११०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।

उक्त पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ ।

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

कर्णाली। कर्णाली प्रदेशको प्रारम्भिक विपद्÷मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ ।कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको हो । विपद् पूर्वतयाारी तथा प्रतिकार्य योजना–२०८३ लाई अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेशस्तरका सरोकारवालाहरूसँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।

“गोष्ठीमा प्रदेश सरकारद्वारा तयार पारिएक विपद्सम्बन्धी नीति, योजना, मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरियो”, प्रमुख गौतमले भन्नुभयो, “सरोकारवालाहरूसँग विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव सङ्कलन गर्ने काम भयो ।” त्यस्तै, विपद् पूर्वतयारी तथा प्रतिकार्यका सम्बन्धमा उत्कृष्ट अभ्यास र अनुभवहरूको पनि प्रस्तुति गरिएको उहाँले बताउनुभयो ।

पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ लाई अन्तिम रूप दिन गरिएको कार्यशाला गोष्ठीबाट योजना अनुमोदनमा सहयोग पुगेको बताउनुभयो । उहाँले विषयगत क्षेत्रअनुसार समूह कार्य, त्यसबाट प्राप्त प्रमुख सिफारिस, सहमति र आगामी मार्गचित्रका बारेमा सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को भूमिकाबारेमा प्रस्तुति राख्नुभएको थियो ।

सेभ द चिल्ड्रेनका सुर्खेत फिल्ड प्रमुख रत्नराज ओझाले अनुमोदित प्रतिकार्य योजनाले सरोकारवाला सबैलाई जिम्मेवार बनाएको भन्दै यसले यहाँको जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने बताउनुभयो ।

उक्त गोष्ठीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपत्कालीन कार्य सञ्चालन केन्द्र, सूचना, प्रविधि तथा सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौँ। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ ।अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्मको बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आइएलओले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओका अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न रहेकामा उक्त सङ्ख्या घटेर हाल १३ करोड ८० लाखमा झरेको छ । यद्यपि बालश्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी पाँच वर्षभित्र यो समस्या अन्त्य गर्न हालको भन्दा ११ गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

विश्वमा बालश्रमको सबैभन्दा ठूलो भार अफ्रिकाले वहन गरिरहेको छ । उक्त क्षेत्रमा विश्वका कुल बालश्रमिकमध्ये झण्डै दुईतिहाइअर्थात् करिब आठ करोड ७० लाख बालबालिका बालश्रममा संलग्न छन् । त्यहाँ बालश्रमको दर २४ प्रतिशतबाट २२ प्रतिशतमा झरे पनि जनसङ्ख्या वृद्धि, निरन्तर तथा नयाँ द्वन्द्व, चरम गरिबी र कमजोर सामाजिक सुरक्षा प्रणालीका कारण प्रभावित बालबालिकाको कूल सङ्ख्यामा उल्लेखनीय कमी आउन सकेको छैन ।

एसिया तथा प्रशान्त क्षेत्रमा भने सन् २०२० यता सबैभन्दा ठूलो सुधार देखिएको छ । यस अवधिमा बालश्रमको दर छ प्रतिशतबाट तीन प्रतिशतमा झरेको छ भने बालश्रममा संलग्न बालबालिकाको सङ्ख्या चार करोड ९० लाखबाट घटेर दुई करोड ८० लाखमा पुगेको छ । ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा बालश्रमको दर स्थिर रहे पनि प्रभावित बालबालिकाको सङ्ख्या ८० लाखबाट घटेर करिब ७० लाखमा झरेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनअनुसार कृषि क्षेत्र बालश्रमको सबैभन्दा ठूलो केन्द्र बनेको छ, जहाँ कूल बालश्रममध्ये ६१ प्रतिशत बालबालिका संलग्न छन् । सेवा क्षेत्रमा २७ प्रतिशत बालबालिका कार्यरत छन्, जसमा घरेलु कामकाज तथा बजारमा सामान बिक्रीजस्ता गतिविधि पर्छन् । उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत छन्, जसमा खानी तथा उत्पादनमूलक उद्योगसमेत समावेश छन् ।

बालश्रम अन्त्यको अभियानलाई तीव्र बनाउन युनिसेफ र आइएलओले सरकारहरूलाई जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा तथा बालभत्ताजस्ता कार्यक्रम विस्तार गर्न, बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन, गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न, युवा तथा वयस्कका लागि मर्यादित रोजगारी सिर्जना गर्न तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आपूर्ति शृङ्खलामा हुने बालशोषण रोक्न आग्रह गरेका छन् ।

बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तरराष्ट्रिय साझेदारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समग्र सुधार गर्न सुनिता डङ्गोलको आग्रह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गर्नुभएको छ ।

बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा ट्राफिक व्यवस्थापनमा सहरको मुहारमात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँमा कसरी व्यवस्थापन भइरहेका छन्, त्यो पनि हेरेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख डङ्गोलको धारणा थियो ।

कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “कालोपत्र सडकमा पार्किङ गरिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । यो राम्रो मुहार त्यतिबेला चम्किलो हुन्छ, जुनबेला भित्री गल्ली र चोकहरूमा सवारीसाधनको चाप व्यवस्थापन हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङस्थल कुन हो भनेर चिन्न सक्छन् र उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्दैन ।”

काठमाडौँको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “पार्किङको सुविधा तथा विकल्प दिएर व्यवस्थापन गरौँ । ट्राफिक प्रहरी र कामपा प्रहरीबीच निकट सम्बन्ध राखेर दीर्घकालीन काम गरौँ । यसका लागि कामपाले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।”

“काठमाडौँको पूर्वाधारसँग सवारी चालकहरूको मनोविज्ञान जोडिएको छ”, ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भन्नुभयो, “सडकमा डोरी टाँगिएको छ भने, कोन राखिएको छ भनेमात्र ट्राफिक नियमको पालना गर्ने, यस्ता पूर्वाधार नराखेका ठाउँमा जथाभावी गर्ने परिपाटी छ ।

पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधारमा काम गर्नुपर्नेछ ।” चालकहरू अनुशासनको कुरा गर्दै उहाँले भन्नुभयो, “गएका चार दिनमा विद्यालयका गाडी चलाउने १६ जना चालकले बिहानै मादक पदार्थ सेवन गरेको पाइयो, यो एउटा विम्ब हो, हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छन् ।”

असार महिनाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा र नियम पालनामा जिम्मेवार हुन अनुरोध गर्ने र साउनदेखि कडा कानुनी कारबाही गर्ने योजना बनाएको काफ्लेले बताउनुभयो ।

काठमाडौँको सहरी व्यवस्थापनका विषयमध्ये ट्राफिक व्यवस्थापन प्रमुखमध्येको एक हो । यसको सुधारबाट नागरिकले सरकारका काम महसुस गर्न सक्छन्, भेट्न सक्छन् । यो उद्देश्य प्राप्त गर्नेगरी काम गरौँ । छलफलको निष्कर्ष थियो । कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पनि सहभागी हुनुहुन्थ्यो ।

मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई

काठमाडौं। यस वर्षको ‘मिसेस ग्लोबल नेपाल २०२६’ को ताज काठमाडौं गोंगबुकी सभ्या महर्जनले पहिरिन सफल भएकी छन्। मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एन.एफ.इ.ए २०२६’ मा सहभागिता जनाउने इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्।

बिहीबार राजधानीमा सम्पन्न भव्य फाइनल स्पर्धामा रन्जिता क्षेत्री फस्ट रनरअप र अन्जु भट्टराई सेकेन्ड रनरअप घोषित भए। हिमालयन मुभिजद्वारा आयोजित विवाहित महिलाहरूको यो राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको नवौं संस्करण हो।

विभिन्न क्षेत्रका एक दर्जनभन्दा बढी महिलाहरूको सहभागिता रहेको यस प्रतियोगितामा प्रतियोगीहरूलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो। सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले उनीहरूलाई व्यक्तित्व विकास, उद्घोषण कला, स्टेज प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, नेतृत्व क्षमता विकास, फोटोसुट र भिडियोसुटलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक ओपनिङ डान्सबाट भएको थियो, जहाँ उनीहरूले कोरियोग्राफर सुब्बाकै निर्देशनमा प्रतियोगिताको थिम सङमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। परिचयात्मक चरण, बेस्ट ड्रेस चरण, टप नाइन र टप सिक्स हुँदै प्रतियोगिता क्राउनिङ चरणमा पुगेर समापन भएको थियो।कार्यक्रममा मुख्य उपाधिका अलावा विभिन्न विधागत विनरहरू समेत घोषणा गरिएको थियो। जसअन्तर्गत मुख्य विजेता सभ्या महर्जनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस दुवै अवार्ड हात पारिन्।

त्यस्तै रोशी धितालले बेस्ट फोटोजेनिक, रन्जिता क्षेत्रीले मोस्ट स्मार्ट, अन्जु भट्टराईले मोस्ट डाइनामिक र बिमला महर्जनले मोस्ट चार्मिङ र माेस्ट पपुलर अवार्ड जिते। प्रतियोगितामा सरला थापा मोस्ट कन्फिडेन्ट, ललिता राई बेस्ट कम्प्लेक्सन, बिमला श्रेष्ठ बेस्ट पर्सनालिटी, वेस्ट मल्टिमिडिया गिता खतिवडा, निर्मला नगरकोटी मोस्ट प्यासोनेट, गिता खतिवडा मोस्ट डिलिजेन्ट र बिना महर्जन मोस्ट एट्र्याक्टिभ घोषित भए। यसैगरी मिनाकुमारी मगरले मोस्ट डेडिकेटेड र वेस्ट पब्लिक च्वाइस विधामा बाजी मारिन् भने अन्जुदेवी भट्टराईले पब्लिक च्वाइस भिडियो अवार्ड प्राप्त गरिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेतृ एवं इभेन्ट अर्गनाइजर मेनुका माझी र ‘ब्युटिसियन नेपाल २०२६’ सानु थापा मगरलगायत रहेका थिए।

विवाहित महिलाहरूको क्षमता र प्रतिभालाई समाजसामु प्रस्फुटन गराउँदै उनीहरूको छुट्टै पहिचान बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

काठमाडौँ। हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ ।

‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा डा रमेशप्रसाद सिंह हुनुहुन्छ ।

नवगठित सो सोसाइटीको वरिष्ठ उपाध्यक्ष डा शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्ष डा हेमन्तकुमार गुप्ता, महासचिव डा विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा आलोक पाण्डे, सहसचिव डा पविन थापा र सहकोषाध्यक्षमा डा सन्जित झा चयन हुनुभएको छ ।

त्यसैगरी, डा सरोज सिं, डा ओमप्रकाश चौधरी, डा राजीव झा, डा तोयाराज भट्ट, डा ललित चौधरी, डा सुदीप खनाल र डा सार्थक नेपाललाई सदस्यमा मनोनयन गरिएको छ ।

प्रदेशस्तरीय सदस्य पदमा कोशीबाट डा रुपेशजङ्ग वेलबासे, मधेसबाट डा चन्द्रभुषन यादव, बागमतीबाट डा मनोज कँडेल, गण्डकीबाट डा झपेन्द्र पोखरेल, लुम्बिनीबाट डा प्रकृृतिराज कँडेल, कर्णालीबाट डा पुजनकुमार रोकाया र सुदूरपश्चिम प्रदेशबाट डा मन्दीप पाठकलाई तोकिएको छ ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्ने उद्देश्यले यहाँ आयोजित कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं ट्रमा सोसाइटीका नवनियुक्त अध्यक्ष डा लामिछानेले ‘साइन्टिफिक’ कमिटीको अध्यक्षमा डा रोहित श्रेष्ठ र सदस्यहरूमा डा भाष्करराज कार्की, डा मनिष श्रेष्ठ र डा विश्ववन्धु निरौला चयन हुनुभएको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष डा लामिछानेले नेपालको विद्यमान हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुर्याउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको स्पष्ट गर्नुभयो ।

नवगठित सो समितिमा काठमाडौंँ उपत्यकाको अतिक्ति बाहिर जिल्लाका हाडजोर्नी विधाका सक्रिय चिकित्सकहरूलाई यथाशक्य समेट्न प्रयास गरिएको बताउँदै अध्यक्ष डा लामिछानेले भन्नुभयो, “ट्रमा सेन्टरको विकास एवं विस्तार गर्ने, यससम्बन्धी जनचेतना जगाउने तथा अनुसन्धानमूलक क्रियाकलापमा जोड दिने, ट्रमा सर्जरीको गुणस्तर वृद्धि गर्ने, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने तथा नीति निर्माण तहमा समेत सहयोग गर्नेलगायतका रचनात्मक कामलाई सोसाइटीले प्राथमिकता दिनेछ ।”

सोसाइटीले सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण नेपालमा ट्रमा (गम्भीर चोट)को समस्या विकराल बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध क्षेत्रका विशेषज्ञहरूबीच ज्ञान र अनुभवसहित नवीनतम् प्रविधिको आदानप्रदान गरी सेवालाई अझ प्रभावकारी र सर्वसुुलभ बनाउन अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषय विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी, नयाँ सर्जनका लागि ‘फेलोसिप’ कार्यक्रम, उत्कृष्ट सर्जनका लागि पुरस्कार, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय ज्ञानवर्दक कार्यक्रम गर्ने योजना बनाएको नवगठित सोसाइटीका अध्यक्ष डा लामिछानेले जानकारी दिनुभयो ।

ट्रमा सोसाइटीका अनुसार हाल नेपालमा हाडजोर्नीसम्बद्ध विशेषज्ञ चिकित्सकको सङ्ख्या करिब ९०० रहेको र दुघर्टना तथा विपद्का कारण गम्भीर चोटपटकबाट पीडित बिरामीको उपचारमा उनीहरूकै संलग्नता हुने गरेको छ ।

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित

काठमाडौँ – मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ ।

मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।

त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७ः४५ बजे हुनेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशलगायत तराई भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन यही जेठ ३० गते हुने भएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी यही जेठ २७ गते रोकिएको निर्वाचन जेठ ३० गते हुन लागेको जानकारी दिएको हो ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन, प्राविधिक परीक्षणलगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ ३० गते निर्वाचन हुने जानकारी दिनुभयो ।

विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । रास्वापाले मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण, तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ ।

जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालले जेठ ३० गतेदेखि आगामी असार १४ गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समन्वय समितिको बैठकले यही जेठ ३० गते पर्सा, जेठ ३१ गते बारा, असार ३ गते मोरङ, असार ४ गते सुनसरी, असार ५ गते सप्तरी, असार ९ गते सर्लाही, असार ९ गते धनुषा, असार १० गते महोत्तरी, असार १२ गते सिरहा र असार १४ गते रौतहटमा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव पेशल ढलालले जानकारी दिनुभयो ।

उक्त भेलामा पार्टीका सम्पूर्ण तहका सदस्यहरू, भ्रातृ सङ्गठनका सदस्य तथा निर्वाचित जनप्रतिनिधिको अनिवार्य सहभागिता रहनेछ । साथै उक्त कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थिति रहनुहुनेछ । बर्दिया, बाँके र सुर्खेतमा भने भेला सम्पन्न भइसकेका छन् ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार रहँदै आएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का ५२ वर्षीय प्रशान्तराम नकर्मी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ टेकुबाट निजलाई आज पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँले गत मङ्सिर १० गते निजलाई उक्त मुद्दामा रु सात लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।

नकर्मीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै

कर्णाली। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सात निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयका रूपमा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र उक्त निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्य मन्त्रालयबाट गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरेको प्रवक्ता शाहले बताउनुभयो ।

त्यस्तै वन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत, मानव-संशाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र सुर्खेतबाट सम्पादन हुँदै आएका कार्य कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन हुने व्यवस्था आगामी आव २०८३/८४ को साउन १ गतेदेखि कार्यान्वयन गर्नेगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहका अनुसार मन्त्रिपरिषद् बैठकले लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति, २०८३ र पूर्ण संस्थागत सुत्केरीसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ ।औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो ।

विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धताका लागि सहजिकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो । उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ ।

“बजारमा अहिले ‘कार्बोप्लाटिन’ औषधि नियमित उपलब्धता सुनिश्चिता गर्न र आवश्यक समन्वय गर्न सम्पर्क संस्था ताकिएको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा बिरामीलाई औषधि उपलब्धता सहज हुन्छ ।”

भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो ।

“अन्तरराष्ट्रय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा पहिलेकै मूल्यमा औषधि बिक्री गर्न नसकिएकाले अहिले निर्यातमा समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “तर बिरामी उपचारमा ध्यान दिएर हामीले सहज उपलब्ध गराउन अस्पताल र फार्मेसी तोकेका छौँ ।” उहाँले औषधिको मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताउनुभयो ।

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौँ। राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न सरोकार भएकालाई अनुरोध गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेलमार्फत बालअधिकारको सम्मान र सुनिश्चितता लागि थप सक्रिय हुन पनि अनुरोध गरेको हो ।

अन्तरराष्ट्रिय खेल दिवसका अवसरमा आफ्नो धारणा व्यक्त गर्दै परिषद्ले भनेको छ, “संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा नेपालको संविधान, २०७२ र बालबालिकासम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको बालबालिकाको विश्राम, मनोरञ्जन र खेलको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न परिवार, विद्यालय, समुदाय तथा राज्यका सबै तहको साझा प्रतिबद्धता र सार्थक रुपमा कार्यान्वयनको आवश्यकता छ ।”

खेल खेल्न तोकिएका स्थान तथा विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी अभ्यासको वातावरणले बालबालिकाविरुद्धको हिंसा, बाल यौन दुव्र्यवहार, विभेद् तथा शोषणबाट बालबालिका सुरक्षित हुन तथा उनीहरूको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने परिषद्को भनाइ छ ।

परिषद्ले सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, समुदाय, विद्यालय, स्थानीय तह तथा सरोकार भएका निकाय तथा संस्थालाई बालबालिकाको संवैधानिक र कानुनी रूपमा खेल्न पाउने अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न पनि आह्वान पनि गरेको छ ।

“खेल बालबालिकाको आधारभूत अधिकार मात्र नभई उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागितासम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनको महत्वपूर्ण माध्यम हो”, परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ, “खेलले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक योगदान पुर्‍याउनुका साथै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील, क्रियाशील र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउँछ ।”

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् ।

पक्राउपर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् । निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ ।

सुटकेशभित्र फल्स बटम बनाई लुकाइछिपाइ लैजान लागेको अवस्थामा नगदसहित फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

विश्वकप उद्घाटनसँगै विवाद

उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ ।

फिफाका अनुसार यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो । प्रतियोगिताबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ । तर प्रतियोगिता सुरु हुनुअघि नै टिकट मूल्य अत्यधिक भएको भन्दै आलोचना तीव्र बनेको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री र समर्थकहरूलाई भिसासम्बन्धी समस्या भएको रिपोर्ट सार्वजनिक भएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेक्सिको सिटीमा प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै आलोचनालाई अस्वीकार गर्नुभएको छ । उहाँका अनुसार टिकट मूल्यमा विविधता राखिएको र केही खेलका लागि ६० डलरसम्मका सस्तो टिकट उपलब्ध गराइएको छ भने केही प्रिमियम टिकटको मूल्य ३० हजार डलरसम्म पुगेको छ । औसत टिकट मूल्य ५०० डलरभन्दा कम रहेको भन्दै उहाँले यसलाई अमेरिकी खेलकुद घटनामध्ये तुलनात्मक रूपमा सुलभ भएको दाबी गर्नुभयो ।

भिसा विवादबारे टिप्पणी गर्दै इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्नुभएको छ । सुरक्षा चिन्ताका कारण उनलाई संयुक्त राज्य अमेरिकामा प्रवेश अनुमति नदिइएको र उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको’ आरोप लगाएको थियो ।

इन्फान्टिनोले भिसा तथा सुरक्षासम्बन्धी सबै परिस्थितिमा फिफाको पूर्ण नियन्त्रण नहुने स्पष्ट पार्दै ती घटनालाई लिएर तत्काल आक्रोश व्यक्त गर्नु सधैँ समाधान नभएको बताउनुभयो ।

उहाँले इरानको सहभागितालाई लिएर उठेका प्रश्नबारे पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक तनावका बाबजुद इरानले विश्वकप खेल्न पाउनु फिफाका लागि उपलब्धि भएको उल्लेख गर्नुभयो । हाल इरान र अमेरिका बीचको सैन्य तनाव जारी रहे पनि प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न सम्भव भएको उहाँको भनाइ थियो ।

फिफा प्रमुखको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध पनि चर्चामा रहेको छ । इन्फान्टिनोले ट्रम्पको समर्थन बिना अमेरिकामा विश्वकप आयोजना गर्न कठिन हुने धारणा राख्नुभएको छ । ट्रम्पले भने प्रतियोगिताका केही खेलमा सहभागी हुने योजना रहेको बताउनुभएको छ ।

खेल मैदानतर्फ भने उद्घाटन खेलमा ८५ हजार दर्शक अट्ने एस्टाडियो एजटेकामा दक्षिण अफ्रिकाले घरेलु टोली मेक्सिकोको सामना गर्दैछ । दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले घरेलु समर्थकहरूको अत्यधिक आवाजलाई चुनौतीका रूपमा लिएर खेलमा ध्यान केन्द्रित गर्न आफ्ना खेलाडीहरूलाई आग्रह गर्नुभएको छ ।

उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी

ढाका। मध्यपूर्व युद्धका कारण विश्वले सामना गरेको आर्थिक समस्याका बाबजुद पनि बङ्गलादेशका अर्थमन्त्रीले बिहीबार देशको अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक गर्नुभएको छ ।

ढाकामा नयाँ सरकार आएको केही दिनपछि फेब्रुअरीको अन्त्यदेखि सुरु भएको मध्यपूर्व द्वन्द्वले एक करोड ७० लाख जनसङ्ख्या भएको विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता दक्षिण एसियाली राष्ट्रमा आर्थिक असर पारेको छ ।

अर्थमन्त्री अमिर खस्रु महमुद चौधरीले भन्नुभयो, “यसले अर्थव्यवस्थामा अप्रत्याशित खतरा निम्त्याएको छ ।”

“इन्धनको मूल्य बढेकाले विद्युत् उत्पादन, कृषि, यातायात र उद्योगमा उत्पादन लागत बढेको छ”, उहाँले भन्नुभयो, “यसले गर्दा मुद्रास्फीति र सरकारी अनुदानमा थप चाप परेको छ ।”

बङ्गलादेशले आफ्नो इन्धन आवश्यकताको लगभग ९५ प्रतिशत आयात गर्दछ, जसमा अधिकांश मध्य पूर्वबाट आउँछ ।

बिहीबार पेश गरिएको बजेट सन् २०२४ को विद्रोहले लामो समयदेखि शासक रहेकी शेख हसिनालाई अपदस्थ गरेपछि निर्वाचित सरकारले बनाएको पहिलो बजेट हो ।

कूल ७८ अर्ब डलरको यो बजेट अन्तरिम प्रशासनको अघिल्लो ६५ अर्ब डलरको बजेटभन्दा निकै ठूलो हो ।

गत मे महिनामा १६ महिनाको उच्च ९.४२ प्रतिशतमा पुगेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न अधिकारीहरू सङ्घर्ष गरिरहेका बेला सरकारले यसलाई ७.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् २०२४/०२५ मा ३.४ प्रतिशत आर्थिक वृद्धिदर हुने भएकाले सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।

खासगरी तयारी कपडा क्षेत्र र बेरोजगारीसँगै निर्यात वृद्धिमा आएको सुस्तताका कारण अर्थतन्त्र पनि कमजोर भएको छ ।
इरान युद्धका कारण इन्धनको मूल्य बढेपछि उत्पन्न ऊर्जा सुरक्षा चिन्तालाई सम्बोधन गर्न ढाकाले बहुपक्षीय दाताहरूबाट मार्चमा करिब दुई अर्ब डलर ऋण मागेको थियो।

मे महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले ढाकाको अनुरोधमा नयाँ सहायता कार्यक्रमका लागि छलफल भइरहेको बताएको थियो।

सन् २०२३ मा सुरु भएको र चार वर्षसम्म चल्ने ५.७ अर्ब डलरको आइएमएफ कार्यक्रम बङ्गलादेशमा यस पहिलेदेखि नै कायम रहेको छ ।

चौधरीले हसिनाको अपदस्थ ‘फासीवादी सरकार’ अन्तर्गत अनियमितता, कमजोर व्यवस्थापन र भ्रष्टाचारका कारण अर्थतन्त्रले धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताउनुभयो ।

भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित

हनोई। भियतनाममा यो वर्षको पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गु ज्वरोका बिरामी फेला परेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो २.५ गुणा बढी हो ।

विज्ञहरूका अनुसार मौसमको असामान्य ढाँचा, वर्षको सुरुदेखि नै तापक्रममा पटक पटक वृद्धि हुनु र वर्षाले एडिस लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण सिर्जना गरेपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमणमा अत्यधिक वृद्धि भएको हो ।

भियतनाम बालचिकित्सा सङ्गठन उपाध्यक्ष तथा बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका एसोसिएट प्रोफेसर डा. गुयेन थान हुङका अनुसार अब सबै उमेरका मानिसमा डेङ्गु ज्वरो फैलिन सक्ने देखिएको छ ।

“एक दशकअघि दक्षिणी भियतनाममा ६० देखि ७० प्रतिशत सङ्क्रमण १५ वर्षमुनिका बालबालिकामा हुने गथ्र्यो तर अहिले यो दर बालबालिका र १५ वर्षभन्दा माथिको उमेर समूहमा लगभग बराबर छ,” उहाँले भन्नुभयो ।

मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार

काठमाडौँ। हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा हिमाल आरोहणका लागि जाने एक हजार ३६२ बिरामीको उपचार गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार गरिएको सङ्घले जनाएको हो ।

सङ्घको आज यहाँ आयोजित ५३औँ वार्षिकोत्सव कार्यक्रममा पछिल्लो समय हिमाली क्षेत्रमा सञ्चालित विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराउने बिरामीको सङ्ख्या बढेको जानकारी दिइएको हो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको सङ्ख्या बढेको बताउनुभयो ।

सङ्घका अनुसार सबैभन्दा बढी सगरमाथा आधार शिविरमा ६०६, फेरिचेमा ४२० र मनाङमा ३३६ बिरामीले सेवा लिएका छन् । सेवा लिएकामध्ये ९५० नेपाली र ४१२ जना विदेशी रहेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा हुने आकस्मिक उद्धार र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

सङ्घको यही जेठ १८ गते भएको निर्वाचनबाट पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, संस्थागत सदस्यमा थामसेर्कु ट्रेकिङ प्रालिका डा यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई आजै शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरिएको छ । उहाँहरूलाई मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

नेपालका हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङको मनाङ गाउँ र जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा हेल्थ क्याम्प राखेर स्वास्थ्योपचार गर्दै आएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिनुभयो ।

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमा सेवा प्रदान गर्ने तयारी तीव्र पारेको छ ।

सरकारले तोकेको ‘होल्डिङ सेन्टर’ मा आश्रय लिइरहेका परिवारलाई बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बिमाका साथै बालबालिकाका लागि बाल शैक्षिक योजनाको सुविधा उपलब्ध गराउने योजना बनाएको छ ।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बिमा प्राधिकरण, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, स्वास्थ्य बिमा बोर्ड, नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गर्न तीव्रता दिएको छ ।

नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीका अनुसार कार्यविधिले जीवन, निर्जीवन (दुर्घटना) र स्वास्थ्य बिमामा होल्डिङ सेन्टरमा रहेका नागरिकलाई कसरी समावेश गर्ने तथा दाबी भुक्तानी कसरी स्पष्ट रूपमा गर्नेलगायत ‘मेकानिजम’ तय गर्नेछ ।

हाल काठमाडौँ उपत्यकाभित्रका विभिन्न ६ होल्डिङ सेन्टरमा करिब एक हजार ४८८ जना आश्रय लिदै आएका छन । सोमध्ये ९५ प्रतिशतभन्दा बढीको डिजिटल लगत सङ्कलन भइसकेको छ । बाँकी रहेका झण्डै पाँच प्रतिशतको पनि विवरण समेटेर सरकारले उपलब्ध गराएको पहिचान कार्ड वा अन्य कुनै आधिकारिक माध्यमबाट पहिचान गरी बिमा प्रक्रियामा सहजीकरण गरिनेछ ।

कुनै पनि लक्षित नागरिक नछुटून् भन्ने उद्देश्यका साथ कार्यविधिलाई अन्तिम रूप दिन द्रुतगतिमा काम भइरहेको निर्देशक अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयका अनुसार बिमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्नेछ । बिमाका लागि आवश्यकपर्ने प्रिमियम रकमको स्रोत सुनिश्चित भइसकेको छ ।

निर्देशक अधिकारीका अनुसार सरकारले सुरुआती चरणमा काठमाडौँ उपत्यकाकाबाट यो कार्यक्रम सुरु गरेर कम्तीमा १० वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइएको छ ।

हाल विद्युतीय लगत प्रणालीमा समेटिएकाबाट सुरु हुने यो कार्यक्रम आगामी दिनमा देशभरका अन्य जिल्ला र प्रदेशहरूका भूमिहीनमा विस्तार गर्दै लैजाने सरकारको लक्ष्य छ ।

अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

काठमाडौँ,- प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरे । अहिले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल जारी रहेको छ ।

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता

काठमाडौं। प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताए ।

उनले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानून निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको धारणा व्यक्त गरे ।

सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे ।

दुवै देशले लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई आत्मसात् र सम्मान गर्दै आएको पनि उनले बताए ।

उनले आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम मित्रता, सहकार्य तथा साझेदारीको समीक्षा गरी भावी सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै, सो अवसरका सन्दर्भमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् तथा जनप्रतिनिधिहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने धारणा राखे ।

बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा

लण्डन। बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हेलीले राजीनामा दिनुभएको छ ।

उहाँले स्टार्मरलाई राजीनामा पत्रमा लेख्नुभएको छ, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ ।”

सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजनालाई अघि बढाउन ढिलाइ गरेको छ । विभिन्न माध्यमबाट आएका सूचना अनुसार रक्षा कोष यसको लागि माग गरिएको भन्दा धेरै कम हुने बताइएको छ ।