`

‘सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो’

Nepal One HD १४ असोज २०८० २१:०७
प्रमुख खबर

काठमाडौँ, १४ असोज : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरूपयोगले समाजलाई गाँजेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो । लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकामा पुनले चिन्ता व्यक्त गर्नुभयो । उहाँले कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरूप्रति भ्रम पैदा हुने गरेको बताउनुभयो ।

“कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ । व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन्”, काठमाडौँको वनस्थलीमा आज हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ । तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन ।”

सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकाङ्गी धारणाको विकास हुने अवस्था सृजना हुन थालेको उहाँको निष्कर्ष छ ।

आलोचना गरेकै कारण नागरिकहरूलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकाङ्गी बन्नबाट जोगाउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले निकै ठूलो राजनीतिक सङ्घर्षको बलमा प्राप्त गणतन्त्र र सङ्घीयता संस्थागत गर्दै युवाहरूलाई देशभित्रै भविष्य देखाउन परिवर्तन संस्थागत गर्ने प्रयासमा आफ्नो दल र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केन्द्रित रहेको बताउनुभयो ।

जो कोही मुछिने अवस्था आए पनि सुशासनका लागि थालेको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने नेता पुनले स्पष्ट पार्नुभयो । “माओवादी केन्द्रको मुख्य एजेन्डाका कारणले सबै राजनीतिक दलले स्वीकार गरेर आजको परिवर्तन सम्भव भयो । यसलाई परिमार्जन, सुदृढ र संस्थागत गर्ने जिम्मा पनि माओवादी केन्द्रकै रहेको छ । प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धिका साथै सामाजिक न्यायको कामलाई अगाडि बढाएको छ । सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिँदैन”, उहाँले भन्नुभयो ।

आफ्नो दलसँग असहमत दल, व्यवसायी वा समूहप्रति पूर्वाग्रहपूर्ण व्यवहार गर्न नहुनेमा पार्टी र सरकार स्पष्ट रहेको पुनले बताउनुभयो । सरकार र पार्टीका तर्फबाट भए गरेका काम कारबाहीका बारेमा जानकारी गराउन माओवादी तीनमहिने अभियान लिएर गाउँगाउँ गएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जनताबाट आफ्ना कमजोरी पत्ता लगाउने र विगतका कमजोरी सच्याएर पार्टीलाई नयाँ बनाउने अभियानमा आफूहरू रहेको बताउनुभयो ।


प्रतिक्रिया