अबको एमाले जनताको जीवनसँग गाँसिएको हुनुपर्छ : उपाध्यक्ष पोखरेल
धरान (सुनसरी)-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोख्रेलले अबको एमाले जनताको जीवनसँग गासिएको हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) सुनसरीको आठौँ जिल्ला अधिवेशनको इटहरीमा उद्घाटन गर्दै उहाँले एमाले इतिहासका गौरवगाथा गाएर बाँच्न नसक्ने भन्दै अब जनताका सरोकार र जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले (एमाले)भित्र गुटउपगुट सिर्जना हुनुमा पार्टी नेतृत्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले पार्टीको मूलमर्मका रूपमा रहेको जनताको बहुदलीय जनवाद नबुझ्दा र त्यसलाई आत्मसात् नगर्दा अन्योलता सिर्जना भएको बताउनुभयो ।एमाले सुनसरीको अधिवेशनलाई गुटउपगुटभन्दा पर राखेर आफ्नो हैसियतअनुसार पार्टी नेताले भूमिका निर्वाह गर्नुपर्नेमा नेता राईको जोड थियो ।
उहाँले कसैको प्रभाव र दबाबमा नपरी आजको चुनौती सामना गर्न र मिसन ८४ को लक्ष्य पूरा गर्न जिम्मेवार भूमिका निर्वाह गर्न सबैले लाग्नुपर्ने उहाँको भनाइ छ ।
