`

विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि सिरियाका राष्ट्रपति असद भागेको आशंका

Nepal One HD २३ मंसिर २०८१ ९:५६
विश्व

बीबीसी । विद्रोहीहरु सिरियाको राजधानी दमास्क नजिक पुग्दा त्यहाँ अन्योल र त्रास बढेको छ । राष्ट्रपति बशर अल–असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन् ।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको छ । तर देशभरका विद्रोही समूहहरूले कब्जामा लिएका सहर,नगर र गाउँहरूमा सरकारी सेनाले त्यस्तो कुनै पनि सुरक्षा प्रदान गर्न असफल भएको प्रस्टसँग देखिन्छ ।

यतिबेला राष्ट्रपति बशर अल–असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन् ।

सबैजना अशद देशमै छन् वा छैनन् भन्ने जान्न खोजिरहेका छन् । राष्ट्रपति अशदको कार्यालयले त्यस्ता सबै खबरको खण्डन गर्दै उनी अझै दमास्कसमै रहेको र नियमित रूपमा आफ्नो काम गरिरहेको जनाएको छ।

तर त्यसको सङ्केत भने देखिएको छैन । सिरिया यतिखेर एक विभाजित देशका रूपमा छ, जहाँ वर्षौँ लामो गृहयुद्धको गहिरो घाउ अझै निको हुन सकेको छैन ।

त्यहाँ करिब डेढ साता अघिसम्म झण्डै चार वर्षदेखि कायम गरिएको एकखाले गतिरोध र यथास्थिति थियो । देशमा चलिरहेको गृहयुद्धबीच राष्ट्रपति असदको आफ्ना अरब नेताहरूसँगको सम्बन्ध क्रमशः सुधार भए तापनि सिरियाभित्र युद्धपछिको अवस्थामा जनताको सुखद भविष्य निर्माण गर्ने दिशामा कुनै प्रगति भएको देखिएको छैन ।


प्रतिक्रिया