`

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

Nepal One HD ५ वैशाख २०८२ १६:०४
राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार नाकाको निरीक्षण गर्न पुगेकी परराष्ट्रमन्त्री राणाले वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी हुन् । उनले नेपाल सरकारले यसका लागि आवश्यक पहल गर्ने पनि बताइन् ।

पर्यटन प्रवद्र्धनका हिसाबले पनि यो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्ने उनको जोड थियो ।

मन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन् ।

यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।


प्रतिक्रिया