गैरआवासीय नेपालीलाई राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् ।
शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् ।
उनले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरुले सहयोग गरिदिनुस् ।’
परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताइन् ।
उनले गैरआवासीय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताइन् ।
एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा परराष्ट्रमन्त्री रणाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने कुरातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि एकता महाधिवेशन शुरु भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरुले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्रमन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासीय नेपालीहरुलाई मिलाएर लैजान पनि शुभकमना दिइन् । उनले नेपालीहरुको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले विर्सेर एकता गर्न आग्रह गरिन् ।