ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा


रसुवा, ४ साउनः गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो । सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका सवारीसाधन भइरहेका उहाँले जानकारी दिनुभयो ।
बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म दर्जनौँ स्थानमा सडक क्षति भएको र लिङ्लिङ् भन्ने स्थानमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ‘ट्रयाक’ खोल्न हप्तादिन लागेको हो । काठमाडौँबाट छुटेका हलुका सवारीसाधन अब सिधै रसुवागढीसम्म पुग्ने गल्छी त्रिशूली रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ । नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालवाहक ठूलो सवारीसाधन सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो ।
लिङ्लिङ् र टिमुरे र तातोपानीबीच यी दुई स्थानमा भोटेकोशी सडकमार्गको फेदमा रेतिएर बाढी आएको हुँदा भासिन सक्ने सम्भावनालाई मध्यनजर राखी सुरक्षाकर्मीसँग सडकको अवस्था बुझेर मात्र सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।