कुश्मा रेल स्टेशनबारे मेटमणिको प्रश्नमा प्रधानमन्त्रीले भने- व्यंग्य गर्न खोज्नु भयो


काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजनाहरू आजको भोलि नै सम्पन्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पोखरा–काठमाडौं रेलको कुरा गर्दा कुस्मामा रेल स्टेसन बनाउने कुरा भएको र त्यो बजेट वक्तव्यमा नसमेटिएको बताएका थिए । चौधरीले आशावादी जनता निराश भएको भन्दै प्रस्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले यसको उत्तर दिँदै रेल्वे लाइनको आजको भोलि बन्ने योजना नभएको बताए । कुस्मामा रेलको प्रसंग उप्काएर आफूमाथि व्यंग्य गर्न खोजिएको पनि प्रधानमन्त्री ओलीले बताए । पोखरा-काठमाडौं-लुम्बिनी रेलमार्गका लागि चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन भएको प्रधानमन्त्री ओलीले बताए ।
“माननीयज्यूले कुस्मामा रेल स्टेसन भनेर व्यंग्य गर्न खोजेको देखिन्छ । हिजो बेलुका बनाउने भनेको रेलवे बिहानसम्म तयार भएन ? भन्ने प्रश्न । यो रेल भनेको बिहान भनेर रातिसम्म तयार हुने हो र ?,” उनले सोधे ।
उनले थपे, “यो स्वस्थानी व्रतकथाको शिवजीले पार्वतीलाई यसो (हातले इसारा गर्दै) देखाएको महल हो र पल्लापटी ? विकास निर्माणको कामको आफ्नो प्रक्रिया हुन्छ ।”
ओलीले नेपालमा रेल ल्याउन सम्भव रहेकाले जनकपुरमा चलाइएको बताए । विकास भविष्यको सन्ततिलाई हेरेर गर्नुपर्ने भनाइ ओलीको छ ।