`

कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छ : प्रधानमन्त्री

Nepal One HD ७ साउन २०८२ १६:५०
राजनीति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले नेतृत्व गरेको फरक–फरक राजनीतिक धारको एकता र सहकार्यबाट सफलता हासिल हुँदै आएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई प्राप्त उपलब्धि संस्थागत हुने धारणा व्यक्त गरे।

बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सोचअनुसार उनीहरूले अँगालेको बाटोमा अघि बढ्दै विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशातर्फ डो¥याउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्वसहित विकास र समृद्धिको पक्षमा सरकारले सफलता हासिल गरिरहेको बताए।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको मंगलबार परेको स्मृति दिवस स्मरण गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका दुबै व्यक्तित्वप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बीपी र पुष्पलाललाई स्मरण गर्दै ‘मतभेद र मनभेद होइन, एकता र मेलमिलाप’को बाटो अँगाल्न आग्रह गरे।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गरेका पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्नेसम्मको अवसर पनि दिएन। उहाँले देखाएको तानाशाहीविरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चामार्फत २०४६ सालमा भयो। बहुदलीय व्यवस्थाको स्थापना भयो। २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गरेझैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसदको पुनःस्थापना ०६३ सालमा गरायो, जसले राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन ल्यायो। अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र कार्यपालिका प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गरायो।’

प्रधानमन्त्री ओलीले थपे, ‘हन्डर–ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो बानीअनुसार बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो। आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरूको समेत सहभागितामा बनेको मेरो नेतृत्वको सरकार त्यही एकता, सहकार्य, प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *