`

आमालाई ‘भ्वाइस म्यासेज’पठाएर मुम्बईबाट हराएका थिए भक्तपुरमा मृत भेटिएका दिदीबहिनी

Nepal One HD ८ साउन २०८२ १५:१२
समाचार

काठमाडाैं । भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए ।

मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका-८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन्। उनीहरु महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट भागेर नेपाल आएका हुन् ।

प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए। आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो।

फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बताए।

भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए।

पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे। आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ।’

मेनुका दिदी र सृजना बहिनी हुन् । हराएपछि प्रहरीलाई भनेर लोकेसन हेर्दा भिउण्डी पुगेको देखिएको आमाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएकी थिईन् ।

मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ। यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ।

यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै छन्। अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने डीएसपी न्यौपानेले बताए। उनले भने, ‘हामीले घटनास्थल सुरक्षित राखेका छौं।’

प्रहरीले उनीहरूको शव उठाएको छैन। आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता न्यौपानेले बताए।

मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन्। मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए। सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए।

यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *