कुलिङ पिरियड छेडखानी छानबिन समितिको म्याद ७ दिन थप


काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको छेड्खानीका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समितिको म्याद थपसम्बन्धी सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको प्रस्ताव सभाले स्वीकृत गरेको हो ।
असार २३ गते बसेको प्रतिनिधिसभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’बारे भएको छेडखानीको अध्ययन र छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्, भने समितिको संयोजकमा सांसद जीवन परियार रहेका छन् ।
निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिएपनि सो अवधिमा कार्यसम्पन्न नभएपछि प्रतिनिधिसभाले सात दिन थप गरेको हो ।