`

गठबन्धन रहँदासम्म सरकार निरन्तर सञ्चालन हुने अध्यक्ष नेपालको दाबी

Nepal One HD १६ साउन २०८२ १९:१५
प्रमुख खबर

मोरङ, १६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसद्मा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले सम्मानित नेता झलनाथ खनालले पार्टीविरुद्ध बोल्नुभएको हो भने नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले आफूविरुद्ध पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचारको मुद्दा पूर्वाग्रह रूपमा लगाइएको हो भन्दै हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउन जिल्ला तहदेखि सर्वसम्मत रूपमा निर्णय भएकाले यो भ्रष्टाचारको मुद्दा नै नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन नभएकाले बढी जग्गा बिक्रीबाट नेपाल सरकारलाई फाइदा पुगेको छ ।” उहाँले नेकपा (माओवादी केन्द्र) सँग विश्वासको वातावरण तयार गर्न एवं समाजवादी मोर्चालाई निरन्तरता दिन छलफल एवं वार्ता भइरहेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको राजनीति चुनौतीलाई सामाना गर्न एवं विचार र मुद्दा मिल्ने लोकतान्त्रिक शक्ति एवं वामपन्थी घटकहरूबीच सहकार्य गरी अगाडि बढ्न मोर्चा निर्माण गरिएको बताउनुभयो । उहाँले पार्टीको निर्णय उल्लङ्घन गर्ने रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको र आगामी बैठकले निर्णय गर्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *