`

१५ हजार घुस लिँदै गरेको अवस्थामा सशस्त्र प्रहरी जवान खत्री पक्राउ

Nepal One HD २७ साउन २०८२ ६:४१
समाज

काठमाडौँ, २७ साउनः अख्तियार दुरुपयोग अनुसनन आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ ।

सीमा पारी भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगले निजलाई पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई खोटहीमाई गाउँपालिका–५ बाट पक्राउ गरेको हो । आरोपी सशस्त्र प्रहरी जवान खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तै, आयोगले सोमबार नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई रु १३ हजार घुुससहित पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कुँवरलाई पक्राउ गरेको हो ।

आयोगले नापी कार्यालय कलङ्कीका कार्यालय प्रमुखको मोबाइल डिभाइस दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कार्यालय सहयोगी कुँवरको मोबाइल एक थानसहित पक्राउ गरेको छ । आरोपी कुँवरको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *