`

साझा प्रयासद्वारा जलवायु संकट सामना गर्न सभामुखको आह्वान

Nepal One HD ३ भदौ २०८२ १६:०७
राजनीति
काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको क्षयजस्ता साझा चुनौती कुनै एक देशले मात्र समाधान गर्न नसक्ने भएकाले सबै देशका साझा प्रयास अपरिहार्य भएको बताएका छन् ।
सोमबारदेखि यहाँ सुरु भएको दुई दिने हिन्दूकुश हिमालय संसदीय बैठकको आज समापन सत्रलाई सम्बोधन गर्दै उनले हिन्दूकुश हिमालय क्षेत्र पृथ्वीको ‘तेस्रो ध्रुव’का रूपमा चिनिने उल्लेख गरेका छन् । यसक्षेत्रमा करिब २४ करोड जनसङ्ख्या बसोबास गर्ने तथा करिब दुई अर्ब मानिस यस क्षेत्रका प्राकृतिक स्रोतमा निर्भर रहेको उल्लेख गर्दै उनले यो पृथ्वीकै संवेदनशील भूभागमध्ये एक रहेको बताएका छन् । सभामुख घिमिरेले वैश्विक तापक्रम वृद्धिको करिब दुगुना दरमा यस क्षेत्रमा तापक्रम बढिरहेकोले हिमताल पग्लनु, विध्वङ्सकारी बाढी आउनु, पानीको अभाव र सुक्खा बढ्नुजस्ता गम्भीर असर परेको बताए ।
उनले हालै भारत, पाकिस्तान, नेपाल र चीनको सीमाक्षेत्रमा आएको बाढी तथा नेपालको तराईमा परेको अनावृष्टि जस्ता घटनालाई उनले जलवायु सङ्कटका ताजा उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “हामी वैज्ञानिक वा इञ्जिनियर नभए पनि सांसदका हैसियतले जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्छौँ, इकोसिस्टम जोगाउने कानुन बनाउन सक्छौँ, प्रदूषणलाई जवाफदेही बनाउन सक्छौँ र किसान तथा समुदायका पक्षमा आवाज उठाउन सक्छौँ । यी कार्य हामीले गर्नैपर्छ ।”
कार्यक्रमको निष्कर्षस्वरूप सहभागी सांसदहरूले शीर्षकको साझा संकल्प घोषणा गरेको छ । संकल्पमा बैठकलाई नियमित आयोजना गर्ने, संस्थागत संरचना बनाउन सम्भावना खोज्ने, सांसदबीच अनुभव आदानप्रदानलाई निरन्तरता दिने र प्रभावकारी, समावेशी र जलवायु–सहनशील नीतिनिर्माणमा सांसदको भूमिका अभिवृद्धि गर्ने बुँदाहरू समावेश छन् ।
सभामुख घिमिरेले यस उपलब्धिलाई भावी पुस्ताका सुरक्षित भविष्यका लागि ऐतिहासिक कदमको रूपमा चित्रण गर्दै सहभागितामूलक योगदानका लागि सबै प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका छन् । उनले सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सक्रियता, प्राविधिक समिति, विषय विज्ञ, मोडरेटर, नेपाल सरकारका सम्बन्धित निकाय तथा इसिमोडको सहयोगप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *