`

गाजामा मानवीय सङ्कट गहिरिंदै, इजिप्टद्वारा आलोचना

Nepal One HD १७ भदौ २०८२ २०:३२
विश्व

इजिप्टको परराष्ट्र मन्त्रालयले सोमबार गाजामा इजरायलले जारी राखेको सैनिक आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लंघन भन्दै गम्भीर रूपमा भत्र्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायलको ‘सैन्य विस्तार’ ले युद्ध रोक्न इजिप्ट र कतारले अघि सारेको नयाँ युद्धविराम प्रस्तावसहितको विश्वव्यापी कूटनीतिक प्रयासलाई असफल तुल्याएको उल्लेख गरिएको छ । साथै, यसले गाजाको युद्ध अन्त्य गर्ने, क्षेत्रीय तनाव कम गर्ने र शान्ति स्थापना गर्ने कुरामा इजरायलको कुनै चाहना नरहेको स्पष्ट पार्दछ ।

मन्त्रालयले इजरायलले अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेको दुई स्वतन्त्र राष्ट्रको अवधारणा अनुसारको शान्ति प्रक्रियाबाट आफूलाई पछि हटाएको थप उल्लेख गरेको छ । त्यस्तै, गाजामा निहत्था सर्वसाधारण नागरिकहरूमाथि गरिएको नाकाबन्दी र भोकमरीको नीतिले त्यस क्षेत्रको मानवीय संकटलाई अझ भयावह बनाउने खतरा बढाएको छ ।

अगस्ट ८ गते, इजरायलले आफ्नो सुरक्षा परिषद्ले गाजा शहरलाई नियन्त्रणमा लिने योजना पारित गरेको घोषणा गरेको थियो, जसको आलोचना स्वदेश तथा विदेश दुबैतर्फबाट भएको थियो ।

अगस्ट २८ गते इजरायली सेनाले गाजा शहरमा प्रारम्भिक सैनिक कारबाही सुरु गरिसकेको र शहरको छेउछाउमा तीव्र गतिविधि भइरहेको जनाएको थियो ।

यसैबीच, इजरायली सेनाले शहरमा लागू गरिएको दैनिक १० घण्टाको मानवीय विश्रामसमेत रद्द गरिएको घोषणा गरेको छ, र गाजा शहरलाई ‘अत्यन्तै खतरनाक युद्ध क्षेत्र’ घोषणा गरिएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले सोमबार जनाएका अनुसार, २०२३ अक्टोबर ७ गतेदेखि हालसम्म इजरायली सैनिक कारबाहीका कारण ६३ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ६० हजार ६ सय ६० जना घाइते भएका छन् । त्यस्तै, भोकमरी र कुपोषणका कारण तीन सय ४८ जनाको मृत्यु भएको छ, जसमा एक सय २७ जना बालबालिका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *