`

प्रहरी दमनले हिंसात्मक बन्यो जेनजी आन्दोलन : गोली लागेर तीन जनाको मृत्यु

Nepal One HD २३ भदौ २०८२ १५:००
प्रमुख खबर

काठमाडौं । काठमाडौँमा जेनजीको प्रदर्शनमा घाइते तीन जनाको निधन भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलिसकेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्‍यो । अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढलेका थिए । उनको ‘अन द स्पट डेथ’ भएको हो ।

यस्तै ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन । उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको हो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको हो ।

सिभिल अस्पताल मेडिकल सुपरिटेन्डेन डा. बद्री रिजालका अनुसार उपचारका लागि ल्याइएका थप एक जनाको मृत्यु भएको हो । रिजालका अनुसार अस्पताल आउँदा नै मृत्यु भएको हो । ट्रमा अस्पतालमा ३० जना घाइते प्रर्दशनकारीको उपचार भईरहेको छ । यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । सिभिलमा १०० बढी घाइतेको उपचार जारी छ । घाइते केहिको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीको गोली लागेर घाइते भएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा आन्दोलन चर्काएका थिए । यस्तै प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कफ्र्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कफ्र्यू लगाइएको छ । तर ‘कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *