`

बाँकेमा ‘जेनजी’ आन्दोलनमा भएको क्षतिको विवरण सङ्कलन हुँदै

Nepal One HD २८ भदौ २०८२ १९:१६
समाज

नेपालगन्ज, २८ भदौः बाँकेका सरकारी कार्यालय, सार्वजनिक संरचना र पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मुचुल्का उठाएर क्षतिको विवरण सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो ।

जिल्लामा रहेका सबै कार्यालय प्रमुखको बैठक बसेर घटनाका सम्बन्धमा जानकारी लिइएको र आगजनी तथा तोडफोड नभएका कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिइएको उहाँले बताउनुभयो । “अधिकांश कार्यालयमा आगजनी र तोडफोड भएको छ, तर कतिपय कार्यालय सुरक्षित पनि छन् । त्यस्ता कार्यालयबाट अविलम्ब सेवा प्रवाह गर्न भनिएको छ”, प्रजिअ जोशीले भन्नुभयो,“ जिल्लामा मालपोत, भन्सार, जिल्ला अदालत, आन्तरिक राजस्वलगायत अधिकांश कार्यालयमा आगजनी र तोडफोड भएको छभने सडक डिभिजन, खानेपानीलगायत कार्यालयमा सेवा प्रवाह अविलम्ब सुरु गर्न आग्रह गरिएको छ ।”

यसैबीच नेपालगन्जमा जनजीवन सामान्य हुँदै गएको छ । यहाँ बजार सञ्चालन तथा सवारीसाधन सञ्चालनमा आउन थालेकाले जनजीवन सामान्य बन्दै गएको नेपाल यातायात राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य तथा भेरी यातायात समितिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

नेपाल भारत सञ्चालन हुने सवारीसाधन पनि केही दिन बन्द भए पनि पुनः सञ्चालनमा आएका छन् । बाँके सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका अधिकांश सरकारी कार्यालयले सूचना जारी गरी हालका लागि कार्यालयबाट प्रदान गरिने सेवा स्थगित गरिएको जनाएका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयमा गरिएको आगजनीबाट कार्यालय ध्वस्त हुनाका साथै सबै कागजपत्र र फर्निचरसमेत जलेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *