बिडारीको बिरह : यो देशमा अब मसँग कुनै घर छैन


काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व संविधानसभा सदस्य रामनारायण विडारीले जेन–जी आन्दोलनको क्रममा भएको आगजनीबाट आफू घरविहीन बनेको गुनासो गरेका छन् । आन्दोलनको नाममा भदौ २४ गते अराजक भीडले आफ्नो घरमा आगो लगाइ दिएको भन्दै उनले पीडा व्यक्त गरेका हुन् ।
‘जीन्दगीभरको आम्दानीबाट बनाएको एउटा मात्र घर थियो, त्यो पनि खरानीमा परिणत भयो’, विडारीले भने । उनका अनुसार उग्र भीडले लुटपाट गरेपछि उनलाई नाडी समातेर जबर्जस्ती घर बाहिर निकालिएको थियो । ‘चप्पल समेत लगाउन दिएनन्’, उनले दुःख सुनाए ।
विडारीका अनुसार उक्त आगजनीबाट उनको पारिवारिक अंशमा परेको घर र वर्षौंको मेहनतले संकलित ‘पुस्तकालय’ समेत पूर्ण रूपमा नष्ट भएको छ । ‘बाउले दिएको थोरै अंश, जागिरको कमाइ र कानुन व्यवसायबाट बचेको पैसाले बनाएको घर थियो, त्यो पनि छैन अब’, उनले भावुक हुँदै भने ।
विडारीले जेनजी आन्दोलनका मूल मागहरूप्रति सहानुभूति रहे पनि आफूले कुनै भ्रष्टाचार नगरेको हुँदा आफ्नो घर जलाइनु अन्याय भएको बताए । ‘यो देश सतिले सरापेको होला जस्तो लाग्छ । न कुनै अपराध, न कुनै आरोप, तर जीन्दगीभरको कमाइ आगोमा !’ उनले आक्रोश पोखे। आगो लगाउनेहरूलाई जेनजीको नाममा नछोप्न आग्रह गर्दै उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।