`

महावीर पुनले एक करोड खर्चेर छोरीलाई विदेशमा पढाएको हल्ला बदनियतपूर्ण : सुनिल शर्मा

Nepal One HD १५ असोज २०८२ १७:५३
प्रमुख खबर

काठमाडौं । शिक्षामन्त्री, समाजसेवी तथा आविष्कारक महावीर पुनविरुद्ध सामाजिक सञ्जाल र बजारमा फैलिएको ‘छोरीलाई विदेशमा एक करोड खर्चेर पढाइएको’ भन्ने हल्ला पूर्णरूपमा झूट्टा र निराधार भएको नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले दावी गरेका छन् ।

पुनकी छोरी झरनाको एमबीबीएस शिक्षाका लागि आफूले समेत सहकार्य गरेको बताउँदै उनको शिक्षासम्बन्धी सबै प्रक्रिया अत्यन्त पारदर्शी, सहयोगी व्यक्तिहरूको समन्वयमा आर्थिक व्यवस्थापन गरिएको दावी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कांगेस नेता शर्माले नेपाल चिकित्सा शिक्षा आयोगसँगको संवादका क्रममा पुनको छोरीको शिक्षाका लागि छात्रवृत्ति र भर्ना प्रक्रिया सहज बनाउन पहल गरिएको थियो । ‘हामीले छात्रवृत्तिका लागि औपचारिक अनुरोध पनि गरेका थियौं, तर विभिन्न कारणले त्यो प्रक्रिया पूर्ण रूपमा सफल हुन सकेन’, नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

महावीर पुनले छोरीलाई विदेश पठाउने निर्णय गर्दा आर्थिक व्यवस्थापनका लागि सहयोग प्राप्त गरे पनि, त्यो खर्च एक करोड रुपैयाँ नभएको नेता शर्माको भनाइ छ । नेता शर्माका अनुसार पुनकी छोरीको पासपोर्ट तयार थिएन र विदेश पठाउने तयारी सुरु गर्दा महावीर पुनले अलिक अनाकानी देखाएका थिए ।

त्यस बेला पैसाको समस्या भए सहयोग गर्ने प्रस्ताव पनि गरिएको थियो । डा. गोविन्द केसीको आन्दोलन र देशमा चिकित्सा शिक्षासम्बन्धी नीतिगत समस्याका कारण नेपालका धेरै मेडिकल र नर्सिङ्ग कलेजका सिट कटौती र बन्द हुने अवस्था भएकोले यो समस्या थप जटिल बनेको थियो ।

यस्तै क्रममा, एक पुराना साथी डा. नरेन्द्र मिश्रलाई सहयोगका लागि पठाएर पुनकी छोरीको भर्ना प्रक्रिया सुरु गरिएको नेता शर्माले जानकारी गराएका छन् । नरेन्द्र मिश्र पुतलीसडकस्थित आधार एजुकेशन प्रालिमा कार्यरत थिए र उनले कुनै कन्सल्टेन्सी शुल्क नलिई छोरीलाई ढाका विश्वविद्यालय अन्तर्गत पर्ने जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भर्ना गराउन सहयोग गरेको शर्माले बताएका छन् ।

छोरीले नेपालको चिकित्सा शिक्षा आयोगको एकिकृत प्रवेश परीक्षामा उत्तीर्ण भई Ranking नं. ६५१८ पाएकी छिन् । अध्ययनको मासिक शुल्क ६२१ अमेरिकी डलर (नेरू ८७,५९१) रहेको छ भने जम्मा खर्च करिब ४१,००० अमेरिकी डलर रहेको छ । महावीर पुनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी रकम नतिरेको र बाँकी रकम जुटाउन प्रयासरत रहेको शर्माले दावी गरेका छन् ।

‘हामीलाई प्राप्त विवरण अनुसार महावीर सरले आधाभन्दा बढी शुल्क तिरेका छैनन् र बाँकी रकम जुटाउने प्रयासमा छन्’, उनी भन्छन् । शर्माले भनेका छन्, ‘यो हल्ला फैलाउनेहरूले महावीर पुन जस्ता निःस्वार्थ समाजसेवीलाई बदनाम गर्न खोजेका हुन्, जुन अनुचित र गलत हो ।’
शर्र्माले महावीर पुनको सरल जीवनशैली र चरित्रको पनि स्मरण गर्दै उनको समाजप्रतिको योगदानलाई सम्मान गर्न आग्रह गरेका छन् । ‘हामीले महावीर पुनलाई निरन्तर समर्थन गर्नुपर्छ ताकि उनी आफ्नो अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन सकुन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *