`

चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी

Nepal One HD १९ असोज २०८२ १९:४८
प्रमुख खबर

काठमाडौँ, १९ असोजः आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । शनिबार वर्षाले गर्दा मान्यजनकहाँ जान नसकेकाहरुले आज बिहानदेखि काठमाडौँ उपत्यकामा पानी पर्न छोडेपछि सहज रूपमा हिँड्न पाएका थिए ।

यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने क्रम विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजयादशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *