निर्वाचनबारे आयोगले आज २९ दलहरूसँग छलफल गर्दै


काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलसँग चुनावका विषयमा छलफल गर्दैछ । प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले बिहान साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
आयोगले छलफलका लागि विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ दललाई निमन्त्रणा गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल जानकारी दिए । दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘यसका लागि हामीले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई पत्र पठाइसकेको छौँ’, उनल भने, ‘आज उनीहरूलाई अहिलेसम्म निर्वाचनका लागि हामीले गरेका तयारीबारे जानकारी गराउने र उनीहरूबाट सुझाव लिने कार्यक्रम छ ।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन् । अन्तिरम सरकारको प्रमुख जिम्मेवारी पनि उक्त चुनाव सम्पन्न गराउने हो । यसका लागि निर्वाचन आयोगले तयारी थालिसकेको छ ।