मुलुकको संकट पार लगाउन सक्ने एक मात्र व्यक्ति ओली : पौडेल


काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले मुलुकको वर्तमान संकट पार लगाउने र हरेक हमलाको सामना र प्रतिरोध गर्न सक्ने व्यक्ति केपी ओलीको मात्र भएको दावी गरेका छन्। शुक्रबार एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता पौडेलले ओलीलाई मात्र विस्थापित गर्ने उद्देश्यका लागि गलत भाष्य निर्माण गरिनु ठीक नभएको तर्क गरे ।
‘मुख्य दलका मुख्य नेताले बिदा लिएपछि देश सही बाटोमा लाग्छ भन्ने जुन अर्थ लगाउन खोजिँदै छ, यो मात्र केपी ओलीविरुद्धको षड्यन्त्र हो’, उनले भने, ‘देउवा बिदा लिने लाइनमै थिए । प्रचण्ड उनीहरूकै डिजाइनमा काम गर्ने भयपछि उनले पनि छोड्नु पर्ने थिएन ।’ आफ्ना भेस्टेड स्वार्थहरू नेपालमा लागु गर्न ओली प्रमुख बाधक राखेको र अनेक प्रयास गर्दा पनि उनलाई गलाउन नसकेपछि उमेर र पुस्ताको नाममा जनमानसमा भ्रम छर्दै गलत भाष्य निर्माण गर्न खोजिएको उनको तर्क छ ।
पौडेलले अमेरिका, रसिया, चीन र भारतलगायत विश्वका महाशक्ति राष्ट्रहरूमा उमेर र पुस्ताको कुरा नउठेको भन्दै नेपालमा गिरिजाप्रसाद, कृष्णप्रसाद, मनमोहन, देउवाहरू हावी हुने बेला पनि उमेरको कुरा नउठेको धारणा राखे । २३ र २४ भदौको घटना आन्दोलन नभई आन्दोलनको आवरणमा गरिएको हमला भएको उनको तर्क छ । ‘हमला देशको विरुद्ध थियो र देशको मुख्य पहरेदारी शक्ति भएको हुनाले नेकपा एमालेलाई सबैभन्दा बढी असर पर्न गयो र टार्गेटमा रह्यो’, पौडेलले भने ।
‘देशमा रामराज्य त थिएन, तर हमलाको ग्राउन्ड नेपालले तयार पारेका थिए कि विदेशीले तयार पारेका थिए भन्ने कुरामा क्लियर हुन जरुरी छ’, उनले अगाडि थपे । उनले आजसम्म ११ वटा देशमा यस्ता किसिमका हमला भएको उल्लेख गर्दै अझै केही देशमा यो किसिमको हमलाहरू जारी रहने अनुमान गरिएको समेत बताए । ‘लडाइँको मैदानमा चौतर्फी हमला र घेराबन्दी भइरहेको बेला दुश्मनको एजेण्डालाई बल पुर्याउने गतिविधि गर्नेहरूलाई भावी सन्ततिले धिक्कार्नेछ’, उनले भने ।