मध्यपहाडी लोकमार्ग १९ दिन बन्द हुने


रुकुमपूर्व । जिल्लाको प्रमुख यातायात मार्ग मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अन्तर्गत रानिकोट–किटनी सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ । बाँकी निर्माण कार्य अगाडि बढाउन कार्तिक १२ देखि ३० गतेसम्म सो खण्डमा सवारीसाधन आवागमन रोक्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले निर्माण कार्य सहज र छिटो सम्पन्न गर्न सो अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
बैठकमा मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट–किटनी सडक खण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल आवागमन रोक्नुपर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावका आधारमा बैठकले १९ दिनका लागि सम्पूर्ण सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने निष्कर्ष निकालेको छ ।
बैठकले ठूला सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारीसाधनहरूले कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्ने निर्णय गरेको छ ।
त्यस्तै वैकल्पिक मार्गहरूमा सवारी सञ्चालन सहज बनाउन मध्यपहाडी लोकमार्ग आयोजनाले आवश्यक स्थानहरूमा जेसिभी मेसिन परिचालन गरी सडक मर्मत गर्ने, योजना निर्माण कार्यालयले तोकिएको अवधिभित्र रानिकोट–किटनी सडकखण्डको निर्माण कार्य सम्पन्न गर्ने र नेपाल पत्रकार महासंघ रुकुम पूर्वले सडक बन्द तथा वैकल्पिक मार्गसम्बन्धी सूचना व्यापक रूपमा प्रसारण–प्रकाशन गर्ने जिम्मेवारी लिने निर्णय समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरिएको छ । उक्त बैठकमा स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।
बैठकमा सहभागीहरूले सडक निर्माण कार्य छिटो सम्पन्न भई यातायात सेवा सहज हुने अपेक्षा व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले बैठकका निर्णयबारे जानकारी दिँदै तोकिएको अवधिभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् ।