मोहन वैद्यले पनि छाडे नेतृत्व, सीपी गजुरेललाई दिए महासचिवको जिम्मा


काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वेच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने भएको छ ।
‘किरणजी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले सुनाए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा– माओवादी’ बनेको थियो । २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए । भदौं २३–२४ गतेको जेनजी विद्रोहपछि सबैजसो शीर्ष नेताहरुलाई नेतृत्व हस्तान्तरण गर्ने दबाब परेको छ । अहिले सबैजसो दलहरुमा नेतृत्व परिवर्तनको बहस चलिरहेको छ ।