जापानिज इन्सेफलाइटिसबाट दुई महिनामा चारको मृत्यु


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ। गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।
मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए। ‘संक्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमुना काठमाडौँ पठाउनुपर्छ’ उनले भने, ‘नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ।’
जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना संक्रमित भएका जनाउँदै तिवारीले संक्रमितमध्ये ९ जना पूर्ण निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिए। उनले भने, ‘जापानिज इन्सेफलाइटिस संक्रमित व्यक्तिलाई सिधैँ मष्तिष्कमा असर गर्ने भएकाले उनीहरूको अवस्था गम्भीर बन्न थाल्छ र उनीहरूको मृत्यु हुने सम्भावना बढी हुन्छ।’
संक्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका–६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक/एकजना रहेका उनले बताए।
हाँस, कुखुरा, चराचुरुङ्गी र सुङ्गर–बङ्गुरजस्ता जनावरलाई टोकेका संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने बताउँदै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने जानकारी दिए।