`

राष्ट्रिय सम्मानका साथ गरियो विपीन जोशीको अन्त्येष्टि

Nepal One HD ४ कार्तिक २०८२ ११:३३
प्रमुख खबर

काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।

बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।

विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।

राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *