ताकाइची बनिन् जापानकी पहिलो महिला प्रधानमन्त्री


काठमाडौँ । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्।
संसद्मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी पदमा पुगेको जनाईएको छ ।
उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो। अब उनलाई माथिल्लो सदनले पनि अनुमोदन गर्ने सम्भावना उच्च छ।
टाकाइचीले आजै साँझ प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको रोयटर्सले जनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार टाकाइचीको प्रधानमन्त्री चयनले जापानी महिलाहरूको राजनीतिक सहभागिता र सशक्तीकरणका लागि प्रेरणादायी सन्देश दिनेछ।
सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची गत भदौमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि प्रधानमन्त्री बन्ने निश्चितकरिब हुन्छ।
एलडिपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा इशिबाले राजीनामा दिएका थिए।
गत अक्टोबरमा प्रधानमन्त्री बनेका इशिबाको कार्यकालमा पार्टीले संसदका दुवै सदनमा आफ्नो बहुमत गुमाएको थियो। त्यसपछि टाकाइची दल नेता बनेकी थिइन्।
जापानमा पार्टीको प्रतिस्पर्धामा जित्ने व्यक्तिले प्रधानमन्त्री बन्न संसदमा बहुमत सिद्ध गर्नुपर्छ। जापानमा सन् २०१२ यता एलडिपीकै वर्चश्व छ।