`

‘मानव र हात्तीबीचको द्वन्द्व कम गर्न समुदायस्तरमा सचेतना आवश्यक’

Nepal One HD १९ कार्तिक २०८२ १८:११
प्रमुख खबर

मानव र हात्तीबीचकोद्वन्द्व कम गर्न समुदायस्तरमा सहअस्तित्वको सम्बन्धलाई कायम गर्दै अघि बढ्न जरुरी भएको सरोकारवाला निकायले औंल्याएका छन् ।

कोल्हवी नगरपालिका र वाईल्ड केयर नेपालको संयुक्त आयोजनामा यहाँ आयोजना गरिएको ‘मानव हात्ती सहअस्तित्व प्रशिक्षक सीप विकास कार्यशालाका वक्ताहरूले वनजङ्गल फँडानी, जङ्गली हात्तीको बासस्थान र आहारविहार लगायतको अभावको कारणले पनि दुवैबीच द्वन्द्व बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । कोहल्वी नगरपालिका प्रमुख रामप्रसाद चौधरीले मानव र हात्तीबीचको द्वन्द्व चर्काउने भन्दा पनि कम गर्नेतर्फ अघि बढ्न जरुरी भएको बताउनुभयो ।

“कोहल्वी नगरपालिकाको धेरै वडा जङ्गली हात्तीबाट प्रभावित रहँदै आइरहेका छन्,” उहाँले भन्नुभयो, “मानव र हात्ती दुवै प्रकृतिका अनुपम चिज भएकाले दुवैको सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्न जरुरी रहेको छ । त्यसैले नगरपालिकाले पनि सोतर्फ ध्यान दिइरहेको छ ।”

लाइफ ट्रष्ट इन्डियाका निर्देशक डा बिए ड्यानियलले हात्ती र मानवबीचको सम्बन्ध निकै जटिल प्रकृतिको भएकाले पनि मान्छेले हात्तीको आनीबानीलाई हेरेर व्यवहार गर्नुपर्ने बताउनुभयो । “पछिल्लो समय विश्वमा हात्तीको सङ्ख्या अस्वाभाविक रूपमा घटिरहेको छ । सो घट्नुमा मानव र हात्तीबीचको द्वन्द्व पनि प्रमुख कारण रहेको छ,” उहाँले भन्नुभयो, “भविष्यका पुस्तालाई हात्ती देखाउनको लागि पनि मानव र हात्तीबीचको सहअस्तित्वलाई अघि बढाउँदै लैजान जरुरी छ ।” उहाँका अनुसार वनजङ्गलको जभा दुवैबीच द्वन्द्व बढेकाले सोलाई न्यूनीकरण गर्न सहअस्तित्वलाई ध्यान दिनु जरुरी छ ।

निर्देशक ड्यानियलले भारतमा गरिएको एक अध्ययनले जङ्गली हात्तीले भन्दा मुसाको कारणले भारतमा धानको क्षति धेरै गुणा ठूलो हुने भए पनि मान्छेले नजरअन्दाज गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार एउटा मुसाले प्रतिवर्ष साढे छ किलोग्रामभन्दा धेरै धान खाने गर्दछ ।

वाइल्ड केयर नेपालका कार्यकारी निर्देशक डा रमा मिश्रले मानव र हात्तीबीच देखिएको द्वन्द्व न्यूनीकरण गर्नका लागि समुदायस्तरमा विभिन्न खालका जनचेतना र जागरणमुलुक अभियान सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

“जङ्गली हात्तीको कारणले हुने क्षति र नोक्सानीको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रावधान केही झन्झटिलो र प्रक्रियामुखी हुँदा पनि वास्तविक पीडितले राहत प्राप्त गर्न समस्या भइरहेको छ,” उहाँले भन्नुभयो, “राज्यले पनि झन्झटिलो प्रावधानलाई सहज गराउनेतर्फ अग्रसर हुन जरुरत छ ।”

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोहल्वीका प्रधानाध्यापक विकीकुमार चौधरीले पनि विद्यालयस्तरमा पनि मानव र हात्तीबीचको द्वन्द्वको विषयमा विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । कोहल्वी नगरपालिका–४ का वडाध्यक्ष विष्णुप्रसाद मैनालीले हात्ती प्रभावित जनताले क्षति र राहत पाउन निकै समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले नेपालमा करिब दुई सय २७ को हाराहारीमा जङ्गली हात्ती रहेको बताउनुभयो । “नेपालका तराई भू–भागका १९ जिल्लामा दुई सय २७ को सङ्ख्यामा जङ्गली हात्ती रहेको विभिन्न अध्ययनले देखाएको छ,” उहाँले भन्नुभयो, “घरपालुवा हात्तीको सङ्ख्या भने एक सय ७७ रहेको छ ।” वन्यजन्तु विज्ञ लामिछानेले मानवले हात्तीलाई असल व्यवहार गरेको खण्डमा हात्तीले पनि असल र प्रेमपूर्वक व्यवहार गर्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *