समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल
काठमाडौँ, १६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँको गोकणेश्वर–३ मा आज आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्नुहुँदै मन्त्री खरेलले देश निर्माणको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले उहाँले नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, वेशभुषा र संस्कृति यहाँको गौरव र पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो । यो अभियानमा सबैको हातेमालो चाहिन्छ ।”
सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उहाँले चर्चा गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले घोषित (आगामी फागुन २१ गते) प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवद्र्धनमा दृढताका साथ अगाडि बढेको बताउनुभो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने तथा मुलुकमा सुशासन प्रवद्र्धन, रोजगारी सिर्जनालगायत विषयमा सरकार गम्भीरताकासाथ अगाडि बढेको छ । त्यसैले निर्वाचनलाई सफल बनाउन सबै नेपाीहरूको कर्तव्य हो ।”
मन्त्री खरेलले निर्वाचन आफैँ लोकतन्त्रको आधारस्तम्भ र सुशासन कायम गर्ने अभियान भएकाले सबैको साथको खाँचो औँल्याउनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रमा कुलुङ भाषाले स्थान पाउनु सो समुदायको पहिचान कायम हुनु हो भन्नुभयो । समावेशी नेपाल बनाउने अभियानमा यो पृष्ठ थप हुनु आफैँमा ऐतिहासिक काम भएको उहाँले बताउनुभयो । आजको पत्रकारिता भोलिको इतिहास भएकाले पृष्ठलाई पठनीय बनाउन उहाँले सुझाव दिनुभयो ।
सो अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले मन्त्री खरेललाई फेगा (कुलुङ समुदायको सांस्कृतिक पोसाक) लगाएर स्वागत गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रभाषाको श्रीवृद्धिमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यस अभियानअन्तर्गत आजदेखि थप भएको कुलुङ भाषा पृष्ठले भाषा संरक्षणमा थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गोरखापत्रमा ४६ भाषाको पृष्ठ प्रकाशन भइरहेको बताउँदै उहाँले यसमा सञ्चार मन्त्रालय, भाषा आयोगको उल्लेखीय योगदान भएको बताउनुभयो ।
गोकणेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिका भाषा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिइरहेको बताउँदै गोरखापत्रको अभियानमा सकेको साथ सहयोग गर्ने बताउनुभयो । भाषा संस्कृति यहाँको पहिचान भएकाले त्यसको प्रवद्र्धनमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले सरकार र गोरखापत्र संस्थानलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गोरखापत्र दैनिकबाट बहुभाषामा समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४६ पुगेको छ । विसं २०८२ मङ्सिर १६ गते आजदेखि प्रकाशन प्रारम्भ भएको कुलुङ भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४६ पुगेको हो ।
