मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड
बागमती – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा दिएर मात्र हेटौँडाको मुख्य सडक विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले पूर्वपश्चिम राजमार्ग निर्माण हुनुअगावै नम्बरी जग्गामा भौतिक संरचना निर्माण भएकाले स्थानीयलाई मुआब्जा वितरण गरेरमात्र सडकका संरचना भत्काउनु र सडक विस्तार गर्नु उचित हुने उल्लेख गर्नुभएको हो ।
“सडक विस्तार गर्ने कुराको विरोध गरेको होइन”, अध्यक्ष थापाले सामाजिक सञ्जालमा भन्नुभएको छ, “जनताको सम्पत्ति सरकारले अनधिकृत ढङ्गबाट कब्जा गर्न पाइन्न ।”
राजमार्ग निर्माणपूर्व नै घनाबस्तीको विकास भइसकेको हेटौँडा बजारको बीचबाट राजमार्ग लैजाने काम आफैँमा तर्कसङ्गत मान्न नसकिने जिकिर गदैै उहाँले राजमार्गलाई रातोमाटेदेखि राप्ती खोला हुँदै सामरीसम्म बाइपास बनाउनु उचित हुने सुझावसमेत दिनुभएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकअन्तर्गत मकवानपुरको हेटौँडास्थित मुख्य सडक विस्तारको तयारीविरुद्ध स्थानीयहरू आन्दोलनमा उत्रेका छन् ।
सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरालगायत संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेपछि स्थानीय आन्दोलनमा उत्रेका हुन् ।
स्थानीयले आज बिहानैदेखि हेटौँडाको मुख्य बजार क्षेत्रका बजार पसल बन्द गराई प्रदर्शन सुरु गरेका छन् । सडक सीमाभित्र पर्ने संरचनाको मुआब्जा उपलब्ध गराएमात्र संरचना हटाउने भन्दै स्थानीयले सडक विस्तारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
