सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस
सिरहा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सिरहाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस प्रक्रिया पूरा गरेको छ ।
जिल्लाभरका क्षेत्रीय समितिहरूबाट प्राप्त प्रस्तावलाई समेट्दै कांग्रेसले अनुभवी नेता, पूर्वमन्त्रीदेखि नयाँ पुस्ताका प्रतिनिधिसम्मको नाम सिफारिस गरेको जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।
सिरहा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री पद्यनारायण चौधरी र रामसुन्दर चौधरी सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ उषा राउत, सूर्यनारायण यादव, परमेश्वर साह, श्रीचन पासमान र श्रमिला पोखरेलका नाम प्रस्तावित गरिएको छ ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ पूर्वमन्त्री तथा अष्ट्रेलियाका राजदूत चित्रलेखा यादवको नाम अग्रस्थानमा राखिएको छ । राष्ट्रियसभा सदस्यका लागि अमियकुमार यादवको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादव र उहाँको छोरा डा सुभाषचन्द्र यादव सिफारिस हुनुभएको छ । समानुपातिक सूचीमा अमर रेग्मी, जिवछ गुप्ता र जगतारैन कामतीको नाम समावेश गरिएको क्षेत्रीय सभापति सञ्जय प्रकाश यादवले जानकारी दिनुभयो ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ हज समितिका अध्यक्ष मोहम्मद मुक्तार अहमद, मन्जु खाँड (पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती) र डा गणेश मण्डल सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ अरुणकुमार सिंह, रामएकवाल यादव, नागेश्वर भुडेर र रमेश न्यौपानेका नाम प्रस्तावित छन् । चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूको नाम आधिकारिक रूपमा सिफारिस भइसकेको कांग्रेस सिरहाले जनाएको हो ।
