`

के युरोपेली सभ्यताकै पतन हुँदैछ?

Nepal One HD ६ पुष २०८२ ९:१५
अन्तर्वार्ता/बिचार

डिसेम्बर महिनाको सुरुआतमै रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्प प्रशासनको नयाँ राष्ट्रिय सुरक्षा रणनीति (एनएसएस) को संक्षिप्त वर्णन गर्दै यसलाई ‘हाम्रो दृष्टिकोणसँग धेरै हदसम्म मेल खाने’ भनी तारिफ गरेका छन्। उनी सही छन्।

एनएसएसमा रूसप्रति कुनै पनि प्रकारको आलोचनाको झल्कोसमेत छैन । न त झन्झन् अधिनायकवादी बन्दै गएको आन्तरिक रुसी नीतिहरूको आलोचना गरिएको छ  न त युक्रेनविरुद्धको यसको खुला सैन्य आक्रमणका लागि नै । बरू, यसले अमेरिकाका लामो समयदेखिका लोकतान्त्रिक मित्र र सहयोगीका रूपमा रहेको युरोपलाई नै विशेष रूपमा आक्रमणको निशाना बनाएको छ।

साँचो हो, ट्रम्पको पहिलो कार्यकाल २०१७ मा आफ्नो सुरक्षा रणनीति जारी गर्दा राष्ट्रिय सार्वभौमिकता सबैभन्दा माथि हुने कुरा धेरै उठाइएको थियो। तर त्यो दस्तावेजले पनि अमेरिकाका सहयोगीहरूको मूल्यलाई स्वीकार गरेको थियो र ‘संयुक्त राज्य अमेरिका र युरोपले रूसी विध्वंस र आक्रमणको प्रतिरोध गर्न सँगै काम गर्नेछन्’ भनी उल्लेख गरेको थियो। यसबाहेक, यो प्रयास ‘महाशक्ति प्रतिस्पर्धा’ भन्ने व्यापक रणनीतिसँग मेल खान्थ्यो, जहाँ चीनको भूमिका ठूलो थियो।

त्यसयता, रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्‍यो र चीनको प्रभाव झन् व्यापक हुँदै गयो। तर, दोस्रो कार्यकालमा ट्रम्प प्रशासन रूसप्रति झुकिरहेको छ, युरोपेलीहरूलाई आलोचना गरिरहेको छ, र चीनबाट आउने खतरालाई केवल आर्थिक दृष्टिकोणबाट मात्र वर्णन गरिरहेको छ। यस्तो देखिन्छ कि महाशक्ति प्रतिस्पर्धा अब महाशक्ति मित्रतामा रूपान्तरित भएको छ। यो रणनीतिले अमेरिका अहिले ‘स्थिरता’ मा बढी रुचि राख्छ भन्छ । जुन कथित रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहकार्य गरेर र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग जीटु मार्फत हासिल गर्न सकिन्छ। यसको निहित सन्देश के हो भने महाशक्तिहरू उस्तै सोच राख्छन्। प्रत्येकले आफ्नै प्रभाव क्षेत्र चाहन्छ र सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकता दिन्छ।

धेरै टिप्पणीकारहरूले औँल्याएझैँ, यो सुरक्षा रणनीति अघिल्ला अमेरिकी नीति र सिद्धान्तहरूबाट एकदमै ठूलो विचलन हो। यसले पश्चिमी गोलार्द्धतर्फ फर्किने संकेत दिन्छ र प्रायः सबै मुद्दामा सिद्धान्तभन्दा नाफालाई प्राथमिकता दिने सोच देखाउँछ। उदाहरणका लागि मध्यपूर्वलाई मुख्यतः लगानीको गन्तव्यका रूपमा हेरिएको छ। राजनीति जटिल हुन्छ तर व्यापारिक सम्झौता सजिलो।

युरोपको कडा निन्दा भने विशेष रूपमा ध्यान खिच्ने खालको छ, विशेष गरी यसको आधारभूत तर्कमै रहेका त्रुटिहरूका कारण। सुरक्षा रणनीतिले दाबी गर्छ- ‘केही दशकभित्रै, केही नाटो सदस्य राष्ट्रहरूमा गैर-युरोपेलीहरू बहुमतमा पुग्नेछन्,’ र ‘सभ्यतागत पतन’ को भाग्य भोग्न लागेको युरोप (जसलाई धेरैले उपराष्ट्रपति जेडी भान्सको लेखनी ठान्छन्) भरपर्दो सहयोगी हुन सक्दैन। तर यो सरासर गलत हो। निकट भविष्यमा कुनै पनि युरोपेली देशमा “गैर-युरोपेली” बहुमत हुने छैन। यसमा मुस्लिम जनसंख्याको हिस्सा सबैभन्दा ठूलो भएको देश—रूस—समेत पर्छ।

यस्तो घृणित भाषाशैली सिधै युरोपेली अतिवादीहरूबाट आएको हो। अमेरिका आफ्ना सबैभन्दा बलिया र नजिकका सहयोगीहरूसँग कस्तो व्यवहार गर्ने भन्ने आधार नै यस्तै विचार बन्नु अचम्मलाग्दो कुरा हो। ट्रम्प प्रशासन अहिले युरोपेली देशहरूको आन्तरिक नीति र राजनीतिमा हस्तक्षेप गर्न तयार देखिन्छ, ‘देशभक्त’ शक्तिहरूलाई अघि बढाउन—अर्थात् उही जातीय घृणा फैलाउने विचार बेच्नेहरूलाई। रूसले समेत युरोपेली लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने आफ्नो मनसाय यति खुलेर कहिल्यै देखाएको छैन।

यसको परिणाम के हुन्छ भन्ने कुरा अझै हेर्न बाँकी छ। ट्रम्पसँग नजिकिनु चुनावी रूपमा खासै जित्ने रणनीति होइन, त्यसैले युरोपमा अमेरिकी हस्तक्षेप रूसको प्रयासजत्तिकै असफल हुन सक्छ। तर ट्रान्सएटलान्टिक सम्बन्ध पहिल्यै कति बिग्रिसकेको छ भन्ने हेर्दा, यसको क्षति झन् ठूलो पनि हुन सक्छ।

निश्चय नै, हामी युरोपेलीहरूका आफ्नै समस्याहरू छन्। हामीले उद्यमशीलता, प्रतिस्पर्धात्मकता र विश्वव्यापी व्यापारिक भावना पुनर्जीवित गर्नुपर्छ, रक्षा क्षमता बलियो बनाउनु पर्छ, र महादेशभरि एकीकरणको सफल परियोजनालाई अझ विस्तार गर्नुपर्छ। आप्रवासन व्यवस्थापन चुनौतीपूर्ण छ—जसरी यो अमेरिकाका लागि पनि छ।

समग्रमा, हामी अत्यन्त सफल समाजहरू हौँ र त्यो कुरा बिर्सनु हुँदैन। यहाँ हत्या प्रयास र राजनीतिक हिंसा अत्यन्तै दुर्लभ छन्। हाम्रा संसदहरूमा राजनीतिक भीडले आक्रमण गर्ने घटनाहरू हुँदैनन्। हाम्रा लोकतन्त्रहरू खुला र जीवन्त छन् र धेरैजसो प्रेस स्वतन्त्रताका विश्वव्यापी सूचीकै शीर्षमा छन्। हाम्रो कारागारमा रहेको जनसंख्या अमेरिकाको तुलनामा पाँचौँ भाग मात्र छ, र हत्या दर त झन् धेरै कम छ। विश्वसँग हाम्रो ठूलो व्यापार घाटा छैन। हाम्रो स्वास्थ्य प्रणालीले अझ राम्रो परिणाम र लामो आयु प्रदान गर्छ, र समग्रमा, युरोपेली संघका सदस्य राष्ट्रहरूमा जनसंख्या बढी शिक्षित छ।

हामी सुरक्षा रणनीतिले हास्यास्पद रूपमा भनेझैँ “विलुप्त” हुने जोखिममा छैनौँ। पृथ्वीमा युरोपजत्तिको ठूलो जनसंख्यालाई यति राम्रो जीवनस्तर प्रदान गर्ने ठाउँ कमै छन्। ट्रम्पको अमेरिकालाई खुशी पार्न खोज्नुको सट्टा हामीले अझ मजबुत रूपमा उभिनु पर्छ, आफ्नै मूल्यहरूमा पुनः प्रतिबद्ध हुनुपर्छ । र, एटलान्टिकपारि देखिएको वैचारिक अन्योल चाँडै समाप्त होस् भन्ने आशा राख्नुपर्छ। यदि त्यो नभए पनि सभ्यतागत आत्महत्या हामीले गर्ने होइन।

(विल्ट्ड स्वीडेनका पूर्वप्रधानमन्त्री हुन् ।)

-प्रोजेक्ट सिन्डिकेटबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *