`

मिलन पाण्डेलाई प्रश्न: रविको रिहाइले रास्वपा र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ ?

Nepal One HD ६ पुष २०८२ ११:४४
अन्तर्वार्ता/बिचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राजनीतिक गतिविधि सुरू गरेका छन् । उनले शनिबार चितवनको चौबिसकोठीमा समर्थकहरूलाई सम्बोधन गर्दै आफू जेनजी आन्दोलन र तोकिएकै मितिमा चुनाव हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । नेकपा एमाले र नेपाली कांग्रेस भित्रको एउटा पक्षले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भनिरहेका छन् । अब लामिछाने र रास्वपाको भूमिका कस्तो रहला र त्यसले राष्ट्रिय राजनीतिमा कति प्रभाव पार्ला भनेर हामीले वैकल्पिक राजनीतिमा सक्रिय विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेलाई सोधेका छौं ।

रवि लामिछाने थुनामुक्त भएका छन् र सार्वजनिक अभिव्यक्ति दिन सुरू गरेका छन् । यसले राष्ट्रिय राजनीतिमा केही प्रभाव पार्छ ? पार्छ भने कस्तो प्रभाव पार्छ ?

रवि लामिछाने थुनाबाट निस्किएपछि उनको र रास्वपाको भूमिकाका साथै हिजो सार्वजनिक अभिव्यक्तिमार्फत उनले राखेको ‘स्ट्यान्ड’ले ध्रुविकरण एकदमै बढ्ने देखाउँछ । अहिले एमाले, कांग्रेस लगायतका शक्तिहरू निराशाका शक्ति भएका छन् । यसको बदलामा दमदार भाषण दिने, बलियो जनसमर्थन भएको र संगठनिक शक्ति पनि नेताका रुपमा लामिछाने देखा परेका छन् । एउटा आशा गर्ने ठाउँ खोजिरहेका आम नागरिकले आशा विभिन्न पात्रमा खोज्दै जाँदा पटक–पटक रवि लामिछानेमै ठोक्किएको जस्तो लाग्छ । मलाई यसमा केही गलत छ भन्ने पनि लाग्दैन।

एकातिर देउवा नसुध्रिने, कांग्रेस नसुध्रिने अवस्था छ ।  प्रचण्डजीहरू र माधवजीहरूले गरेको ठूला–ठूला सभा देखिएला तर त्यो अहिलेको पुस्ता र परिवर्तन खोजिरहेको जनतासँग ‘म्याचअप’ भइरहेको छैन । ओलीको त आम रुपमा ‘नेगेटिभ इम्प्रेशन’ नै छ । यसलाई चिर्नका लागि एउटा पात्र चाहिएको थियो र त्यसमा रवि लामिछाने आए भन्ने मलाई लाग्छ ।

चुनावको सामान्य मनोविज्ञान नै के हुन्छ भने हार्ने शक्तिले चुनाव चाहँदैन । घाटा हुने शक्ति किन जान्छ चुनावमा? अहिले एमालेलाई त्यति फाइदा हुने वातावरण बनिसकेको छैन । तर, उहाँहरू निर्वाचनको विरुद्धमा पनि जान सक्ने अवस्था छैन । त्यसैले, प्रतिनिधि सभाको मुद्धा उठाइरहेको छ र निर्वाचनको प्रक्रियामा पनि सामेल भइरहेको छ।

देउवा पनि दोहोरो खेलमा छन्। एकातिर चुनावका लागि दल दर्ता गराउँछन् भने एमालेलाई बिच्क्याउन पनि चाहँदैनन् । भोलि सरकार बनाउन संसदको अंक–गणित उनले हिसाब गरिरहेका छन् । भोलि संसद पुनःस्थापना भयो भने ‘हामीले पनि भनेका थियौँ’ भनेर क्रेडिट लिन पनि तयार छन् ।

यो राजनीतिक खेलमा रवि लामिछानेको हिजोको अभिव्यक्तिले ध्रुविकरण गराउँछ र चुनावको पक्षमा भएका शक्तिहरूलाई बल दिन्छ । चुनावको माहोल बनाउँछ ।

रास्वपासँग बालेन, कुलमान लगायत मिलेर चुनावमा जाने भने पनि यो कुरा अघि बढिरहेका थियो तर टुंगोमा पुग्न सकेको थिएन । रवि थुनाबाट बाहिर निस्किएपछि यसमा कस्तो प्रभाव पर्छ ?

पक्कै पर्छ । हिजो निर्णय गर्नका लागि वा नेगोसिएसनका लागि नख्खु जानु पर्ने बाध्यता थियो । अब त्यो अवस्था रहेन ।

नयाँ भनिएका पार्टीहरूमध्ये बलियो संगठन पनि भएको र विघटित प्रतिनिधि सभामा नै २१ सिट जितेको हुनाले रास्वपा नै मुख्य निर्णयकर्ता थियो । उसले त्यसको अगुवाई गर्नुपर्ने थियो ।  तर राजनीतिक, व्यक्तिगत, सामाजिक, दलीय सन्तुलनका कारण पार्टीका अरू नेताहरूलाई निर्णय लिन गाह्रो हुन्थ्यो होला। यसमा रविलाई सजिलो छ । उहाँमाथि पार्टीभित्र एक तहको विश्वास छ। अब रविजीले कुलमान वा बालेनसँग सिधै वान–टु–वान वार्ता गर्न पाउनुहुने भयो । यस्तो अवस्थामा प्रक्रिया सहज हुन्छ। पहिले ‘सेकेन्ड ह्यान्ड इन्फर्मेशन’ लिनुपर्थ्यो, अब ‘फर्स्ट ह्यान्ड इन्फर्मेशन’ हुने भयो र निर्णय गर्न पनि सजिलो हुने भयो।

अर्को कुरा, यस्ता छलफल निष्कर्षमा पुग्न डेडलाइन वा टाइमलाइन चाहिन्छ। समानुपातिक उम्मेद्वारको सूची बुझाउने दिन त्यो डेडलाइन हो । त्यो दिनसम्ममा कम्तिमा रास्वपा, कुलमान र बालेनबीच त्रिपक्षीय समझदारी बन्छ जस्तो लाग्छ । किनभने, अहिलेको ध्रुवीकरण नयाँ–पुरानोभन्दा पनि जेन्जी आन्दोलनलाई स्वीकार गर्ने र नगर्नेबीच हो। जेन्जी आन्दोलनलाई आत्मसात् गर्ने शक्ति—रवि, कुलमान, बालेन—एकातिर हुन्छन्, स्वीकार नगर्ने अर्कोतिर। एउटाको नेतृत्व जेन्जीका नेताहरूले गरिरहेका छन् भने अर्कोतिर एमालेले गरिरहेको छ ।

त्यसैले वैकल्पिक शक्तिहरूबीच एकता हुने सम्भावना बलियो छ। यसको आवश्यकता पनि छ । ठूलो शक्तिसँग लड्न अर्को ठूलो शक्ति चाहिन्छ। रवि के होलान्, बालेन के होलान्, उनीहरूको चरित्र र राजनीतिक चेतना के होला,यो बहस हुँदै जाला तर अहिलेको आवश्यकता उहाँहरू मिल्नु पर्छ भन्ने नै हो ।

रवि बाहिर निस्किए पनि उनको मुद्दा चलिरहेकै छ। अहिले धरौटीमा मात्रै निस्किएका हुन्। मुद्दा नटुंगिएसम्म उनी सांसदको उम्मेदवार बन्न सक्छन्, तर सांसद भएर काम गर्न, मन्त्री वा प्रधानमन्त्री हुन पाउँदैनन् । यस्तो अवस्थामा रविको व्यक्तिगत राजनीति कसरी अगाडि बढ्ला ?

रवि सांसद नहुँदा पनि पार्टी सभापति नै छन्। आफू मन्त्री नबन्ने बाहेक अरू सबै कन्ट्रोल उनकै हातमा छ। तेस्रो पटक जितेर  आए मन्त्री बन्न नपाए सहानुभूति अझ बढ्छ। व्यक्तिगत पीडा छ तर राजनीतिक घाटा छैन। उनी आफ्नो एजेन्डा राख्न पाउँछन्, दुःख पोख्न पाउँछन् । राष्ट्रिय राजनीतिमा शक्तिशाली स्थानमा हुन्छन् । उनलाई फाइदै हुन्छ।

रवि आफैँ प्रधानमन्त्रीको दाबेदार बन्न नसक्ने अवस्थामा रास्वपाका लागि प्रधानमन्त्रीको अनुहार को हुन सक्छ?

मेरो बुझाइमा जेन्जी आन्दोलनको मर्मअनुसार देशको भूगोल र जनसंख्या हेर्दा सबैभन्दा उपयुक्त पात्र बालेन नै हुन्। उनी तयार छन् कि छैनन् भन्ने थाहा छैन तर मेयर एक्लै जितेको मान्छे प्रधानमन्त्री हुन नसक्ने कारण छैन। देशको सबैभन्दा ठूलो महानगर चलाएको मान्छेले देश चलाउने सोच्नु स्वाभाविक हो। कसरी चलाउँछन् भन्ने चाहिँ पछिको बहस हो। यदी बालेन अगाडि नआउने हो भने रास्वपासँग मिलेर गएको खण्डमा कुलमानलाई पनि उहाँहरूले भावी प्रधानमन्त्रीका रुपमा अगाडी सार्नुहोला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *