राजनीतिमा एक्लिँदै गएकी हुन् सुमना ?
काठमाडौं । विगतमा ‘युवा आइकन’ भनेर चिनिएकी सुमना श्रेष्ठ अहिले नेपाली राजनीतिमा किनारातिर धकेलिँदै गएको चर्चा चुलिँदो छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र रहँदा संसदका धारिला प्रस्तुति, छोटो समयको शिक्षामन्त्री पद र सामाजिक मुद्दामा सक्रियताका कारण लोकप्रिय बनेकी उनी जेनजी आन्दोलनपछि पार्टी छाडेपछि भने क्रमशः एक्लिँदै गएकी देखिन्छिन् ।
रास्वपा छोड्ने विषय लामो समयदेखि चर्चामा थियो । अन्ततः जेनजी आन्दोलनको पाँच दिनपछि, भदौ २९ गते उनले पार्टी परित्याग गरिन् । रवि लामिछानेसँगको दूरी र प्रधानमन्त्री सुशीला कार्कीसँगको निकटताले उनको राजनीतिक यात्रा नयाँ मोड लिने अपेक्षा गरिएको थियो । तर दलविहीन अवस्थासँगै अहिले उनी राजनीतिक रूपमा पनि अलग्गिएको विश्लेषण हुन थालेको छ ।
रास्वपामा रहँदै गर्दा नै काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र पूर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग उनको निकटता बढेको चर्चा थियो । उनीहरूको सहकार्यमा नयाँ राजनीतिक दल गठन हुने, जेनजी आन्दोलनका केही अगुवालाई समेत समेट्ने तयारी भएको दाबी गरिन्थ्यो । तर नाम, नेतृत्व र चुनाव चिह्नमै सहमति नजुट्दा त्यो योजना अघि बढ्न सकेन । कुलमान घिसिङको नेतृत्वमा बनेको उज्यालो नेपाल पार्टीमा सुमना समेटिन नसक्नुले उनी अपेक्षित राजनीतिक प्लेटफर्मबाट बाहिरिएको देखियो ।
यससँगै प्रधानमन्त्री सुशीला कार्कीसँगको सम्बन्ध पनि सहज रहेन भन्ने चर्चा बाहिर आयो । प्रधानमन्त्रीको जानकारी बिनै सचिवालयमा आफ्ना निकटका व्यक्तिहरू समेट्न खोजिएको आरोपपछि बालुवाटारले उनको पहुँच सीमित गरेको बताइन्छ । सुरुमा ठूलो टोलीको वकालत गरेकी सुमनाको चाहना विपरीत प्रधानमन्त्रीले सानो र छरितो सचिवालय बनाएपछि दूरी बढेको विश्लेषण छ । त्यसयता उनले जेनजी आन्दोलनमार्फत सरकारको आलोचना गरेको आरोप समेत लागेको छ ।
जेनजी आन्दोलनभित्र पनि सुमनाप्रति विश्वास घट्दै गएको भनाइ सुनिन्छ । विभिन्न समूहलाई आफ्नाअनुकूल प्रयोग गर्न खोजेको आरोप र १० बुँदे सम्झौताको दिन उनको भूमिकामाथि उठेका प्रश्नहरूले उनी थप विवादमा परिन् । यसबीच, जेनजीका अर्का अगुवा सुदन गुरुङ प्रधानमन्त्रीसँग औपचारिक सेड्युलमार्फत मात्र भेट्ने अवस्थामा पुगेका छन्, जसले समग्र आन्दोलनकै प्रभाव कमजोर हुँदै गएको संकेत गर्छ ।
यद्यपि, सुमना श्रेष्ठको व्यक्तिगत पृष्ठभूमि भने अझै प्रभावशाली मानिन्छ । अमेरिकाको एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए गरेकी उनले ब्रिन मार कलेज र ह्याभरफर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक गरेकी हुन् । बोस्टन कन्सल्टिङ ग्रुप र सिटी ग्रुपमा काम गरिसकेकी उनी २०७२ सालको महाभूकम्पपछि नेपाल फर्किइन् र यहीं सक्रिय रहिन् । भूकम्पपछिको राहत तथा पुनर्निर्माण, काष्ठमण्डप पुनर्निर्माण, रानीपोखरी संरक्षणदेखि कोभिड–१९ महामारीका बेला खोपका लागि अन्तर्राष्ट्रिय पहलसम्म उनी सामाजिक अभियानमा अग्रपंक्तिमा देखिइन् ।
कारपुल काठमाडौँ र मेडिकेसन फर नेपाल जस्ता परियोजनामार्फत उनले नागरिक समस्यामा नविन समाधान खोजिन् । उद्यमीका रूपमा पनि उनले विभिन्न व्यवसाय स्थापना गर्दै रोजगारी सिर्जना गर्ने प्रयास गरिन् । प्रविधि, अर्थशास्त्र र व्यवस्थापनमा दख्खल राख्ने नेतृका रूपमा सुरुवाती चरणमा उनीसँग धेरै अपेक्षा जोडिएका थिए । तर अहिले पार्टी, आन्दोलन र सत्ता–सबैतिरबाट दूरी बढ्दै जाँदा सुमना श्रेष्ठको राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ भन्ने प्रश्न उठ्न थालेको छ । उनको अनुभव, शिक्षा र सक्रियताको जगमा पुनः संगठित भएर अघि बढ्ने कि राजनीतिबाट क्रमशः ओझेलमा पर्ने भन्ने निर्णय अब उनको आगामी कदमले निर्धारण गर्ने देखिन्छ ।
