पर्यटन क्षेत्रको विकास गर्न कोशी प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की
धरान (सुनसरी), २ माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदी किनारमा आधारित पर्यटन क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार लागिपर्ने बताउनुभएको छ ।पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा लोकप्रिय बन्दै गइरहेको सुनसरीको वराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोसी नदीको किनारमा रहेको ‘बोराबाध’ क्षेत्रको आज अवलोकनपछि मुख्यमन्त्री कार्कीले आधारभूत पूर्वाधार निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“हामीसँग पर्यटनको अथाह सम्भावना छ, तर धेरै क्षेत्रहरूमा प्रारम्भिक कामसमेत हुन नसक्नु दुःखद् विषय हो,” उहाँले भन्नुभयो, “नगरपालिका र स्थानीय तह मिलेर कुनै स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको देख्दा खुसी लागेको छ ।”
प्रदेश सरकारले स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विकास गर्ने नीति लिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र तीनै पक्ष मिलेरमात्र यस्ता क्षेत्रको दिगो विकास सम्भव हुने उहाँको भनाइ छ ।
