`

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास पुष्टि, व्यावसायिक परीक्षण बाँकी

Nepal One HD २९ माघ २०८२ १५:४५
अर्थ समाचार

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण रहेको औपचारिक रूपमा पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनले उक्त परिमाणमा ग्यास रहेको देखाएको हो ।

यसअघि प्रारम्भिक अध्ययनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । तर विस्तृत सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक तथा जियोकेमिकल सर्वेक्षणपछि पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार अहिले पुष्टि भएको तथ्याङ्क ‘भण्डारणको आकार’ मात्र हो । ‘वेल टेस्टिङ नगरी कति ग्यास व्यावसायिक रूपमा निकाल्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन,’ उनले भने, ‘अबको चरणमा ड्रिल गरिएको स्थानमा थप उपकरण जडान गरी चट्टान फोड्ने वा ग्यास विस्थापित गर्ने प्रक्रिया अपनाइन्छ । त्यसपछि निस्कने ग्यासको प्रयोगशाला परीक्षण गरेर मात्र व्यावसायिक उत्पादनको निर्णय हुन्छ ।’

नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच दुई अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौताअनुसार २०७६ असोजदेखि दैलेखमा अन्वेषण कार्य सुरु गरिएको थियो । परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर अध्ययन अघि बढाइएको थियो ।

विज्ञहरूका अनुसार दैलेखमा भेटिएको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको हुनसक्छ । यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसको उत्खनन चुनौतीपूर्ण र खर्चिलो हुने गर्छ । व्यावसायिक उत्पादन सम्भव भएमा यसले देशको ऊर्जा आयातमा ठूलो कटौती गर्न सक्ने अपेक्षा गरिएको छ, तर त्यसका लागि प्रविधि, लागत र वातावरणीय प्रभावसम्बन्धी विस्तृत मूल्याङ्कन आवश्यक हुनेछ ।

हाल विभागले प्राप्त अन्तिम प्रतिवेदनमाथि थप प्राविधिक अध्ययन गरिरहेको छ । बाँकी चरणको कामका लागि अनुदान सहयोग उपलब्ध गराइदिन नेपाल सरकारले चीन सरकारसँग आग्रहसमेत गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *