बंगलादेशमा जनताले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्व रोजे: सचिव बस्नेत
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं भक्तपुर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले बंगलादेशको हालै सम्पन्न निर्वाचन परिणामले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्वलाई जनताले प्राथमिकता दिएको सन्देश दिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी देशको जनादेशले लोकतन्त्रको परिपक्वता देखाएको उल्लेख गरेका छन्। उनका अनुसार बंगलादेशमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले बहुमत सिट जित्दै सरकार निर्माणतर्फ अग्रसर हुनु र नेसनल सिटिजन्स पार्टी लगायत शक्तिहरू पछि पर्नु अर्थपूर्ण राजनीतिक सन्देश हो।
बस्नेतले नव-उदारवादी शक्तिहरूका खोक्रा नारा र अराजक राजनीतिलाई जनताले अस्वीकार गरेको दाबी गरेका छन्। उनले विकास, स्थिरता र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिलाई जनमत प्राप्त हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताएका छन् । ‘आन्दोलन र उत्तेजनाभन्दा नीतिगत स्पष्टता र परिणाममुखी शासन रोज्ने जनताको निर्णय सम्मानयोग्य हुन्छ,’ उनको भनाइ छ।
उनले जनताको मतले फेरि प्रमाणित गरेको उल्लेख गर्दै अराजकताले होइन, उत्तरदायित्वपूर्ण नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गर्नुभयो। नेपालमा निर्वाचनको पूर्वसन्ध्यामा आएको छिमेकी मुलुकको परिणामले नेपाली मतदातालाई पनि आफ्नो मतको मूल्य, स्थायित्वको आवश्यकता र राष्ट्रहितको प्राथमिकताबारे गम्भीर समीक्षा गर्न प्रेरित गर्ने उनको विश्वास छ।
बस्नेतले अन्तिम निर्णय जनताकै हातमा रहने उल्लेख गर्दै छिमेकी मुलुकको अनुभवले सोच र विश्लेषणमा प्रभाव पार्न सक्ने धारणा व्यक्त गरे।
