टुङ्गिएन इनिशा विक बलात्कारपछि मृत्यु प्रकरण, लास १६ दिनदेखि शवगृहमा
काठमाडौं । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा अनुसन्धान अझै टुंगिएकाे छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित चारवटा टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। तर मुख्य फरेन्सिक रिपोर्ट नआउँदा घटनाको निष्कर्ष आउन ढिलाइ भइरहेको छ।
गत फागुन २३ गते वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी इनिशालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी गुर्भाकोट नगरपालिका-६ बडाखोलीकी बासिन्दा हुन् र वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्।
घटना भएको १६ दिन बितिसक्दा पनि शव अझै अस्पतालमै राखिएको छ। परिवारले दोषीमाथि कडा कारबाहीको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। मृतकका बाबु इन्द्रबहादुर विकले अनुसन्धान ढिलाइ भइरहेको र घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको आरोप लगाए।
‘सामूहिक बलात्कारपछि हत्या भएको छ, दोषीमाथि कडा कारबाहीको ग्यारेन्टी नहुँदासम्म हामी शव बुझ्दैनौं,’ उनले भनेका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार नाबालकलाई पक्राउ गरेको छ, जसमा तीन जना इनिशा अध्ययनरत उषा बालवाटिका माध्यमिक विद्यालय कै विद्यार्थी रहेका छन्।
घटनाको भोलिपल्ट नै परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनजंग बुढथापाका अनुसार मृतक र आरोपितहरूको भेजाइनल तथा मौखिक स्वाब केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
प्रारम्भिक पोस्टमार्टम रिपोर्टले भने इनिशाको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको देखाएको छ। भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यका अनुसार बलपूर्वक यौनसम्पर्क हुँदा यौनांगको भित्री भाग च्यातिएको पाइएको छ। उनले भने, ‘बाहिरी र भित्री दुवै भागमा क्षति देखिएको छ, जसले गम्भीर हिंसाको संकेत गर्छ।’
यता, पक्राउ परेका एक १६ वर्षीय किशोरले प्रहरीसमक्ष दिएको बयानमा भने घटना ‘सहमतिको’ भएको दाबी गरिएको छ।
उनका अनुसार आपसी सल्लाहमै यौनसम्पर्क भएको र त्यसक्रममा अत्यधिक रक्तश्राव भएपछि अरू साथीलाई बोलाइएको थियो। प्रहरीले भने उक्त बयानलाई अन्य प्रमाणसँग तुलना गर्दै सत्यता पत्ता लगाउने प्रक्रिया जारी राखेको जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार घटनास्थलबाट संकलित मोबाइल, डिजिटल उपकरण तथा अन्य प्रमाण पनि परीक्षणका लागि पठाइएको छ। साथै, पोलिग्राफ परीक्षणमार्फत पनि अनुसन्धान अघि बढाइएको छ।
