राप्रपामा चल्दैछ- झुटो कसम, हावादारी गफ र ढाँटको राजनीति !
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भारतका लागि हतियार बनाउने काम उनकै भनाइमा अस्वीकार गरे पनि नेपालको लागि सोही काम किन गरेनन् रु सोही सीप र खुबी किन प्रयोग गरेनन् रु धेरैलाई लागेको थियो होला ।
राष्ट्रवादी देखिन शाहीले गरेको उक्त दाबी आम नेपालीलाई उनकै छविजस्तो उरन्ठ्याउलो लागेको थियो होला । तर, दोस्रोपटक जुम्लाबाट सांसद निर्वाचित भएपछि भने शाहीको बचेखुचेको सम्मान उदाङ्गो भएको छ ।
पत्रकार टीकाराम यात्रीको कार्यक्रम ‘कजरिया’मा अग्नि परियोजनाअन्तर्गत भारतको हतियार बनाउने काम शाहीले अस्वीकार गरेको भन्ने भिडियोबारे प्रश्न उठ्यो । उक्त भिडियो विनयजंग बस्नेतसँग मिलेर बनाएको ‘कमेडी’ भनेर शाही उम्किन खोजे । तर जब कथित कमेडी भिडियोका कथित सहकर्मी बस्नेत शाहीको दाबी सरासर गलत र हावादारी भनेर सार्वजनिक भए, कथामा ‘ट्वीस्ट’ आयो ।
शाहीसँग बस्नेतको वार्तालापको भिडियो रेकर्ड जब सार्वजनिक भयो, जसमा ‘त्यो भिडियो कमेडी भन्दिनु नि’ भन्दै पत्रकार यात्रीमाथि नै गरिएको शाहीको अशोभनीय टीप्पणी समावेश थियो । त्यसपश्चात राप्रपाका सांसद शाही ढाँट र झुटका पुलिन्दा हुन्, हावादारी गफ लाउँछन् भन्ने यथार्थता साबित गर्न आवश्यक परेन । यसबाट सांसद शाहीको मात्र नभएर राप्रपा पार्टीकै प्रतिष्ठा घट्ने काम भयो ।
राप्रपाभित्र ढाँट र छलको सन्दर्भ यतिमै सीमित छैन । पूर्वअध्यक्ष कमल थापाले केही वर्षअघि देशभित्र र विश्वभर लाइभ प्रसारण गरिएको कार्यक्रममा ‘कहिले पार्टी फुटाउँदिन’ भन्दै गीताको झुटो कसम खाए, जो कुरा नेपाली राजनीतिको कलंकको रुपमा समाजमा स्थापित छ । अध्यक्ष हारेपछि त झन् थापा निर्मल निवासमाथि पूरै खनिए, राजसंस्थाको मुद्दा त्यागे । राप्रपा नेपाल सतप्रतिशत असफल भएपछि राजसंस्थाको एजेन्डा पुनः स्वीकारेर राप्रपामा फर्किए । तैपनि थापाको निष्ठा र इमान्दारीमाथि अझै ठूलो शंकारआशंका कायम देखिन्छ ।
यही विश्वासको संकट जेठ १५ को राजसंस्थावादी आन्दोलनको समीक्षा तथा समापन कार्यक्रममा छताछुल्ल भयो । हलमा उपस्थित राजा समर्थकहरू थापाको कुरा सुन्न तयार नभएपछि थापाविरुद्ध हुटिङ चल्यो र उनी केही नबोली चुपचाप कुर्सीमा फर्कन बाध्य भए । यही घटनाक्रमबाट राजसंस्था एवं हिन्दु राष्ट्रका समर्थकहरूले थापालाई कुन दृष्टिले हेर्छन् भन्ने कुरा छर्लङ्ग हुन्छ ।
राप्रपाको लज्जास्पद चुनावी हारमा थापाको ‘एन्ट्री’लाई एक बलियो कारक मान्ने जमातको राप्रपाभित्र र बाहिर कमी छैन । यसबीच हिन्दु राष्ट्रको विषयमा बालेनलाई सहयोग गर्ने धारणा थापाले सार्वजनिक गरेका छन् । राजसंस्थाको एजेन्डामा मौन बसेकै कारण उनी अझै राजाको मुद्दामा इमान्दार छैनन् भन्ने सन्देश र बुझाइ व्यापक भएको छ ।
‘कसम’ त अध्यक्ष राजेन्द्र लिङ्देनले खानसम्म खाए । अध्यक्ष बनिनसक्दै लिङ्देनले ‘कमल थापालाई नछोड्ने’ भन्दै पाथिभरा माताको कसम खाए । अध्यक्ष पदको उम्मेदवार लिङ्देन बनेपछि थापा पक्षधरले कसम तोडेको, झुटो कसम खाएको भन्दै व्यापक रुपमा सञ्जाल तताए । त्यसो त आमाको रगतको कसम, छोराछोरीको कसम, राजनीतिको कसम, विभिन्न देवीदेवताको कसम लिङ्देन नियमित खाने गर्छन् मानौं भगवानको कसम मट्याङग्रा खेलेजस्तो हो र कसम नखाए उनको दैनिकी नै सहज कट्दैन ।
लिङ्देनले खाएको कसम कति पूरा गरेरगरेनन् समय र नियतिले देखाउने अवस्था हो तर उनले देखाउन खोजेको सादगी जीवनशैली र विलासी घरको जोडजाम, वर्षको एक दुईपटक तरकारी किन्ने, बस चढ्ने र आक्कलझुक्कल बीउ छर्ने, अरु बेला नियमित प्लेन चढ्ने र आधुनिक जीवनशैली अपनाउने यथार्थताबीच अन्तरविरोधको खाडल छ । जस्तै, पोखरा विमानस्थल निर्माणको उनले छानबिन गरे । उच्चपदस्थ अधिकृतका नामहरू सार्वजनिक भयो । तर, आफ्नै मुख्यसचिव केदारबहादुर अधिकारीको नाम लिङ्देनले कहिल्यै सार्वजनिक गरेनन् । एकैचोटी मुद्दा चलेपछि मात्र अधिकारीको नाम बाहिर आयो । लिङ्देन इमान्दार थिए त अधिकारीको नाम उनले अवश्य सार्वजनिक गर्ने थिए । यस्तै चर्चा अहिले बजारमा सुनिन थालेको छ ।
लिङ्देनले जति नै कसम खाए पनि उनी राजसंस्थाको मुद्दाप्रति इमान्दार छैनन् । उनले नै राजसंस्था पुनस्र्थापनाको आन्दोलन तुहाए । प्रदेश खारेजीबारे अन्तरविरोध कायम राखेका छन् भन्ने जनमानसमा छाप बलियो छ । चुनावलगत्तै पार्टी प्रवक्ता मोहन श्रेष्ठले एजेन्डा परिवर्तन गर्ने जनमत प्राप्त भएको भन्ने जनाउ दिनु नै लिङ्देन कति पानीमा छन् भन्ने जानकारी हो भन्ने जानिफकारहरू बताउँछन् । जे जस्तो होस्, लिङ्देनले पाथीभराको झुटो कसम खाएकै कारण राप्रपाको यो हविगत भयो भन्नेहरूको कमी छैन ।
२०४६ पछिका सबै राजनीतिक तथा उच्चपदस्थ अधिकारीहरूको सम्पति छानविन गर्नुपर्दछ भन्ने माग राप्रपाको छ । यही माग पूरा गर्न लिङ्देनले धेरै पटक धेरै सरकारलाई घच्घचाए । उनको यही मागदावी बालेन सरकारले पूरा गरे नयाँ युगको आरम्भ हुने थियो । राप्रपा अध्यक्ष लिङ्देनकै चाहनाअनुसार छानबिनको क्रम लिङ्देनबाटै सुरु गरे उदाहरणीय प्रतीक स्थापित हुने थियो । सुशासन लिन चाहने लिङ्देन र सुशासन दिन चाहने बालेन सरकारबीच राम्रो ‘केमिष्ट्री’ जम्ने थियो ।
भ्रष्टाचारलाई ‘आमाको रगत खाए सरह’ मान्ने आदर्श संगालेको राप्रपामै झुटो कसम दैनिकी बन्नु र इमान्दारीको खडेरी देखिनु सुखद् अनुभूति होइन । सांसद खुश्बु ओलीकै विषयमा समेत यस किसिमको असंगत सूचना बाहिर आएको छ । सांसद ज्ञानेन्द्र शाही लगायतले सचेतक ओलीले एकपटक पनि राप्रपाको हलोमा भोट हालेका छैनन् भन्ने कुरा जनतालाई खुलस्त बताएका छन् ।
त्यसैले वागी बनेका व्यक्ति समानुपातिक सांसद बन्दा सुशासनको कस्तो अन्तरविरोधी सन्देश प्रवाह भयो होला रु विश्लेषणको विषय बनेको छ । त्यतिमात्र नभएर ओली वागी बन्दा साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने झापा जिल्ला अध्यक्ष केशव ओझाको मनमा हाल कस्तो हुटहुटी चलिरहेको होला । आफैँले कारवाही गरेको ‘हलोमा कहिले भोट नहालेकी’ ओलीलाई सांसद मान्नुपर्ने रु नैतिकताको कुन बेगले ओझाको मन थिचेको होला । खाउ भने, नखाउ भनेजस्तो पक्कै भएकै होला झापा जिल्ला अध्यक्षलाई ।
अन्तरविरोध त ओलीकै पृष्ठभूमिसँग समेत जोडिएको छ । उनका प्रसंशकहरू ओलीले अक्सफर्ड विश्वविद्यालयमा अध्ययन गरेको बताउँछन् तर यो सूचना खण्डन गर्ने राप्रपामा नेताहरूको कमी छैन । कान्तिपुर दैनिकको समाचार अनुसार ओलीले किङ्गस्टन विश्वविद्यालयमा अध्ययन गरेकी हुन् । भनिन्छ, उनै ओली र लिङ्देनले यसपटक राप्रपाको चुनावी अभियान सञ्चालन गरे । प्रतिफल, ९७ प्रतिशत निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवारहरूको जमानत जफत भयो ।
अध्यक्ष, पूर्वअध्यक्ष, संसदीय दलका नेता र सचेतकहरू नै झुटो कसम, गलत विवरण, छलछाम र नैतिकताहीन विषयमा पटक–पटक तानिएपछि जनताले राप्रपालाई के भनेर स्वीकार्ने भन्ने प्रश्न उठ्नु अस्वाभाविक छैन । यस विडम्बनाबाट राप्रपा नेतृत्व र पार्टी जतिसक्यो चाँडो मुक्त हुन सक्यो, जति छिटो समर्थकबाट ‘क्लिन चीट’ प्राप्त गर्न सक्यो, त्यति नै कल्याण राप्रपाको हुने निश्चित छ, नत्र भगवान भरोसा त छँदैछ ।
