अघोषित ‘रंग क्रान्ति’ले निर्वाचनमार्फत ‘निलो क्रान्ति’ गरियो भन्दै,बालेन सरकारलाई एमालेको बधाई
काठमाडौं। नेकपा एमालेले भदौ २३ र २४ मा भएको अघोषित ‘रंग क्रान्ति’ सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकमार्फत बधाई दिएको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकमा दलीय दृष्टिकोणबाट सम्बोधन गर्दै, जेनजी आन्दोलनमा रास्वपाकै संलग्नता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई बधाई दिएका हुन्।
उनले भने, ‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ मा आम निर्वाचनमार्फत ‘निलो क्रान्ति’ सम्पन्न गरियो। चैत १३ मा भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्ति भयो। नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयमा बधाई व्यक्त गर्न चाहन्छु।’
साथै उनले यस विजयमा नेपाली सेना, बारबरा फाउन्डेसन लगायतको निर्णायक भूमिका रहेको उल्लेख गर्दै धन्यवाद दिएका छन्। उनले बाह्य रूपमा पनि टिओवी, एआईलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक निभाएको बताए ।
