लाओत्से र ताओवाद
भनिन्छ- जीवन, प्रकृति र ब्रह्माण्ड बुझ्न सक्ने एक युगमा एक मात्र व्यक्ति जन्मिन्छ । एक युगमा एकपटक कृष्ण, बुद्व, येशु, मोहम्मद ,महावीर जन्मन्छन् जसले अस्तित्त्वको अनुभूति गर्छन् र संसारलाई आनन्द, शान्तिको सुगन्धले सुगन्धित बनाउने प्रयास गर्छन् । लाओत्से, तीनैमध्येका एक चिनियाँ दार्शनिक हुन्, जसकाे योगदानबारे इतिहासमा विशेषरूपमा उल्लेखनीय छ।
लाओत्सेका दर्शन आज पनि उत्तिकै सान्दर्भिक छन्। उनले प्रतिपादन गरेको ‘ताओवाद’ दर्शनले प्रकृति र ब्रह्माण्डको स्वाभाविक प्रवाहसँग सामञ्जस्य कायम गर्दै सरल, सन्तुलित र सचेत जीवन जिउन प्रेरित गर्दछ ।
लाओत्से एक दार्शनिक तथा लेखक हुन् । उनलाई ‘ताओ’ दर्शनका पिता मानिन्छ। लाओत्से, जसलाई ‘लाओजी’ पनि भनिन्छ, प्राचीन चीनका महान दार्शनिक तथा ताओवादका संस्थापकका रूपमा परिचित छन्।
लाओत्सेकाे जीवनबारे ऐतिहासिक जानकारी सीमित छ र धेरैजसो विवरणहरू किंवदन्तीहरूले घेरिएका छन्। उनका शिक्षा र दर्शन ‘ताओ ते चिङ’ नामक ग्रन्थमा संकलित छन्, जुन ग्रन्थ चीनका सबैभन्दा प्रभावशाली दार्शनिक ग्रन्थहरू मध्येकाे एक हाे । ‘ताओ’ दर्शनले प्रकृति र ब्रह्माण्डको स्वाभाविक प्रवाहसँग समाहित भई सरल, सहज र सूक्ष्म चेतनासहित जीवन जिउन सिकाउँछ।
लाओत्सेको जन्म प्राचीन चीनको झोऊ राजवंशका समयमा भएको मानिन्छ। उनकाे वास्तविक नाम ‘ली एर’ रहेको बताइन्छ। परम्परागत लोककथाअनुसार उनी आफ्नी आमाको गर्भमा लामो समय (करिब ६२ वर्ष) बसेका थिए र जन्मिँदा वृद्ध व्यक्तिजस्तै देखिन्थे भन्ने किंवदन्ती छ । यसैकारण उनलाई ‘लाओत्से’ अर्थात् ‘महान वृद्ध’ भनिएको हो । उनी झोऊ राजवंशको शाही पुस्तकालयका संरक्षक थिए, जहाँ उनले चिनियाँ संस्कृति, इतिहास र दर्शनको गहिरो अध्ययन गरे, जसले उनको दार्शनिक आधार निर्माण गर्यो।
एउटा प्रसिद्ध कथाअनुसार झोऊ साम्राज्यको नैतिक र राजनीतिक पतनबाट निराश भएर लाओत्से त्यहाँबाट प्रस्थान गरे । घोडा चढेर पश्चिमतर्फ गएका उनी चीनको सीमामा पुग्दा त्यहाँका अधिकारी यिन ‘सी’ले उनलाई आफ्नो ज्ञान लेखेर मात्र जान आग्रह गरे। त्यसपछि उनले ‘ताओ ते चिङ’ लेखे । ताओ ते चिङ’ ताओ र जीवनका प्राकृतिक नियमहरू संक्षेपमा प्रस्तुत गरेकाे पाइन्छ । ग्रन्थ पूरा गरेपछि उनी सीमा पार गरेर अदृश्य भए ।
चिनियाँ दार्शनिक लाओत्सेले प्रतिपादन गरेको दर्शनलाई ताओवाद भनिन्छ। ‘ताओ’ शब्दको अर्थ ‘मार्ग’ वा ‘प्राकृतिक प्रवाह’ हो। ताओवादले ब्रह्माण्डको प्रवाह वा प्राकृतिक क्रमको पछाडि रहेको शक्तिलाई स्वीकार गर्दछ ।
ताओवादले सबै वस्तुहरूलाई सन्तुलित र व्यवस्थित राख्दछ भन्ने मान्यता राख्छ। ताओवादी दर्शनकाे प्रभाव सुदूरपूर्वी देशहरू चीन, मलेसिया, कोरिया, जापान, भियतनाम र सिंगापुरसम्म छ। यसले पूर्वीय समाजमा भौतिकवादी चिन्तनको विकासमा पनि महत्वपूर्ण योगदान दिएको देखिन्छ।
ताओ दर्शन समकालीन समाजका मानिसहरूको जीवनशैली र व्यवहारमा आधारित छ। परम्परागत रूपमा लाओत्सेले आफ्नो शिक्षालाई ‘ताओ ते चिङ’ ग्रन्थमा प्रस्तुत गरेका थिए, जुन बाँसका कप्टेरोमा लेखिने पुरानो शैलीमा संकलित गरिएको मानिन्छ। यस ग्रन्थमा कुल ८१ श्लोकहरू रहेका छन्। तीमध्ये करिब ३५ श्लोकहरू ताओ मार्गको व्याख्यामा केन्द्रित छन् भने बाँकी श्लोकहरूमा प्रकृतिको स्वभाव, जीवनका नियम र ब्रह्माण्डको संरचनाबारे वर्णन गरिएको छ।
लाओत्सेको दर्शनको केन्द्रमा ‘ताओ’को अवधारणा रहेको छ। ताओ अदृश्य भए पनि सर्वव्यापी छ र सबै वस्तु तथा प्राणीहरूमा विद्यमान हुन्छ। यसले जीवनलाई प्राकृतिक प्रवाहसँग मेल खानेगरी अघि बढाउन प्रेरित गर्दछ। उनले ‘वू-वेई’ अर्थात् ‘अप्रयासपूर्ण कर्म’को सिद्धान्त पनि प्रतिपादन गरे, जसको अर्थ प्रकृतिसँग सामञ्जस्य राख्दै सहज रूपमा कार्य गर्नु हो। उनका अनुसार साँचो ज्ञान बाह्य संसारबाट होइन, भित्री अनुभूति र आत्म वा अन्तरबोधबाट प्राप्त हुन्छ। उनको दार्शनिक मान्यताका अनुसार बाह्य इच्छाहरू, प्रतिस्पर्धा र संघर्षले अशान्ति उत्पन्न गर्छन्।
लाओत्सेको दर्शनमा द्वन्द्वात्मकता स्पष्ट रूपमा देखिन्छ। उनका अनुसार संसारमा सुख-दुःख, दिन-रात, शुभ-अशुभजस्ता विपरीत तत्वहरू सँगसँगै अस्तित्त्वमा रहन्छन्। मानिसहरू प्रायः केवल सुख, राम्रो र उज्यालो मात्र चाहन्छन्, तर लाओत्से भन्छन् कि यस्तो सोच अपूर्ण छ। सुखको वास्तविक अर्थ बुझ्न दुःखको अनुभव आवश्यक हुन्छ। यी विपरीत तत्वहरू एउटै सिक्काका दुई पाटा जस्तै हुन्, जसलाई अलग गर्न सकिँदैन। दिन र रात एकअर्कासँग गाँसिएका छन्,जसरी जीवनका सकारात्मक र नकारात्मक पक्षहरू पनि परस्पर सम्बन्धित छन्।
प्रकृतिको उदाहरणले पनि ताओको अवधारणा स्पष्ट पार्छ। चराहरू आकाशमा उड्छन् जहाँ देखिने कुनै निश्चित मार्ग हुँदैन तर पनि उनीहरू आफ्नो गन्तव्यमा पुग्छन्। यानहरू अन्तरिक्षमा उड्दा पनि बाहिरबाट हेर्दा स्पष्ट मार्ग देखिँदैन तर वास्तविक रूपमा तिनीहरूको आफ्नै मार्ग हुन्छ। हावा र आकाशमा पनि मार्ग हुन्छ, यद्यपि त्यो अदृश्य हुन्छ। यही अदृश्य र प्राकृतिक मार्ग नै ताओ हो।
लाओत्सेको दृष्टिमा ‘जति धेरै हस्तक्षेप गरिन्छ, त्यति नै असन्तुलन बढ्छ।’ त्यसैले कहिलेकाहीँ नगर्नु पनि आवश्यक हुन्छ र कहिलेकाहीँ कार्य गर्नु पनि आवश्यक हुन्छ। यही सन्तुलनको सिद्धान्त द्वन्द्वात्मक सोचसँग नजिक देखिन्छ,जसले प्रकृति,परिवर्तन र विरोधाभासहरूको समन्वयलाई आधार बनाउँछ।
यस्तै, अर्को प्रसङ्गमा लाओत्से र चीनका महान विचारक तथा दार्शनिक कन्फ्युशियसको भेट पनि चिनियाँ परम्परामा उल्लेखनीय मानिन्छ। कन्फ्युशियसले लाओत्सेलाई ‘महान ऋषि’ भनेर सम्मान गरेका थिए भनिन्छ र यस भेटले कन्फ्युशियसका विचारहरूमा पनि प्रभाव पारेको मानिन्छ।
समग्रमा, लाओत्सेको ताओवादले मानव जीवनलाई सरल, स्वाभाविक र सन्तुलित रूपमा जिउन प्रेरित गर्दछ। उनले अत्यधिक महत्वाकांक्षा, बाह्य प्रदर्शन र कृत्रिम प्रतिस्पर्धाबाट टाढा रहन सिकाएका छन्। उनका अनुसार साँचो शान्ति र ज्ञान प्रकृतिसँगको सामञ्जस्य र आत्मबोधबाट प्राप्त हुन्छ। उनका विचारहरू आज पनि विश्वभर प्रेरणादायी छन् र मानव जीवनलाई बुझ्न गहिरो दार्शनिक आधार प्रदान गर्छन्।
