सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने लेखा समितिकाे सभापतिमा काङ्ग्रेकाे दाबी रहन्छ : आङ्देम्बे
काठमाडाै । नेपाली काङ्ग्रेसले सार्वजनिक लेखा समितिकाे सभापति दाबी गरेकाे छ ।
प्रमुख विपक्षीले याे समितिकाे सभापति पाउने प्रचलनअनुसार काङ्ग्रेसले दाबी गरेकाे हाे ।
‘सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलकाे हुन्छ र त्यसमा काङ्ग्रेकाे सशक्त दाबी हुन्छ र परम्परा पनि प्रमुख विपक्षी दलले पाउने छ’, प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले बताए ।
राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए/नभएको जाँच पड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य हो ।
त्यसैले याे सर्वाधिक महत्वपूर्ण समिति मानिन्छ । काङ्ग्रेस शीर्ष नेतासमेत रहेका आङ्देम्बेले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्न भए पनि पाउनैपर्ने बताए । ‘प्रमुख विपक्षीले नै सार्वजनिक लेखा समितिमा बसेर सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने हाे,’ आङ्देम्बेले भने ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेखा समिति सभापति काङ्ग्रेसबाटै बनाउन सकारात्मक छ । यसबारे दुई दलबीच लगातार सम्वाद भइरहेकाे पनि आङ्देम्बेले बताए । उनका अनुसार अन्य दुईवटा विषयगत समितिकाे नेतृत्व पनि काङ्ग्रेसले पाउनुपर्छ ।
तर, लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले पनि दाबी गरेकाे छ । परम्परालाई आधार मान्ने हाे भने प्रमुख विपक्षी दलले नै याे समितिकाे नेतृत्व पाउने गर्छ ।
