थुनुवा कक्षमा झुन्डिएका युवकको उपचारका क्रममा मृत्यु
सिन्धुली। इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विक थुनुवा कक्षको भेन्टिलेसनमा आफ्नो सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्याइएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
घटनाका बेला थुनुवा कक्षमा विक एक्लै रहेको प्रहरीले जनाएको छ ।
मृतक विक काठमाडौंमा सवारी चालकको रूपमा कार्यरत थिए । उनले खोटाङकी १६ वर्षीया युवतीसँग गत २८ चैतमा प्रेम विवाह गरेका थिए । विवाहपछि युवती नाबालिका रहेको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोपमा ललितपुरको सातदोबाटो प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा उनलाई थप अनुसन्धानका लागि ३ वैशाखमा इलाका प्रहरी कार्यालय खुर्कोट पठाइएको थियो ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले निष्पक्ष र पारदर्शी छानबिनको माग गर्दै इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भएर प्रदर्शन गरेका छन् ।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा प्रहरी प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहितको समिति गठन गरिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।
