`

हराउँदै गएको जङ्गली वंश कोशीटप्पुका अरनामा बढ्दो आनुवंशिक सङ्कट(तस्वीरहरु)

Nepal One HD २७ वैशाख २०८३ ११:३१
फिचर

काठमाडौं। कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो। सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा परिचित छ। जङ्गली अर्नाको मौलिक जीन हराउने खतरा याे क्षेत्रमा अहिले एउटा मौन संकटकाे रुपमा बढिरहेको छ ।

वैज्ञानिक अध्ययनहरूका अनुसार कोशीटप्पु क्षेत्रमा खुल्ला चाैपाया भैँसीको समस्या नयाँ होइन। सन् १९५० को दशकतिर केही घरपालुवा भैँसीहरू छुटेका वा खुला रूपमा छाडिएका कारण फेरल (खुल्ला चाैपाया) काे जनसंख्या विकसित भएको उल्लेख विभिन्न अनुसन्धानमा पाइन्छ। पछि ती भैँसीहरू जङ्गली बथानसँग मिसिँदै गए। अहिले कोशीटप्पु वन्यजन्तु आरक्षभित्र र वरपर हजारौंको संख्यामा घरपालुवा तथा फेरल गाईवस्तु चरिरहेका भेटिन्छन्। यही अवस्थाले जङ्गली अरनाको आनुवंशिक शुद्धतामाथि ठूलो चुनौती खडा गरेको छ।

खुला चरन र नियन्त्रणविहीन पशु प्रवेशका कारण जङ्गली अरना र घरपालुवा भैँसीबीच क्रस–ब्रिडिङ बढिरहेको छ। यसले “जेनेटिक इरोजन” अर्थात् मौलिक जीनको क्रमिक क्षय निम्त्याइरहेको छ। जङ्गली अरनाको विशिष्ट शारीरिक र आनुवंशिक विशेषता विस्तारै हराउँदै जाने जोखिम अहिले संरक्षणको मुख्य चिन्ता बनेको छ।

कोशीटप्पुका मैदानमा देखिने कतिपय भैँसीहरूमा मिश्रित विशेषता स्पष्ट देख्न सकिन्छ। शुद्ध जङ्गली अर्नाको शरीर सामान्यतया ठूलो, कालो र शक्तिशाली हुन्छ। तिनका सिङ बाक्ला र अर्धचन्द्राकार बाहिरतिर फैलिएका हुन्छन्। तर क्रस–ब्रिड भैँसीमा शरीरको अनुपात, सिङको आकार, अनुहारको बनावट र रङमा फरकपन देखिन्छ। यही परिवर्तनले जङ्गली वंश क्रमशः कमजोर बन्दै गएको संकेत दिन्छ।

समस्या केवल आनुवंशिक मात्र छैन। घरपालुवा पशुहरूसँगको निकट सम्पर्कले रोग सर्ने जोखिम पनि बढाएको छ। घरेलु गाईवस्तुबाट विभिन्न सङ्क्रामक रोग जङ्गली अर्नामा फैलिन सक्ने खतरा रहन्छ। यदि रोग फैलियो भने सानो जनसंख्यामा रहेका जङ्गली अरनालाई ठूलो क्षति पुग्न सक्छ।

कोशीटप्पुका घाँसे मैदानमा शान्त देखिने दृश्यभित्र वास्तवमा संरक्षणको गम्भीर संघर्ष लुकेको छ। यदि खुला चरन नियन्त्रण, फेरल पशु व्यवस्थापन र वैज्ञानिक निगरानी प्रभावकारी रूपमा लागू भएन भने भविष्यमा शुद्ध जङ्गली अर्ना केवल इतिहासका पानामा सीमित हुन सक्छन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *