बालेनको कार्यशैलीले रास्वपामा उकुसमुकुस, अप्ठ्यारोमा रवि(भिडियाे)
काठमाडौं । लामो छलफल र सात बुँदे सहमतिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८२ पुस १३ गते प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई पार्टीमा भित्र्याएको थियो । सभापति रवि लामिछानेसँगको सहमतिपछि रास्वपामा प्रवेश गरेका बालेन अहिले पार्टीका वरिष्ठ नेताको भूमिकामा छन् ।
तर वरिष्ठ नेताको जिम्मेवारीमा पुगेपछि पनि बालेनको पार्टी गतिविधिमा सक्रियता भने देखिएको छैन । उनी न पार्टीका नियमित बैठकमा सहभागी हुन्छन्, न त सभा, सम्मेलन वा अन्तरक्रियामा नै देखिन्छन् । पार्टीभित्र उनी नेता नै नभएको जस्तो व्यवहार देखिने गरेको नेताहरू बताउँछन् ।
अहिले बालेन सरकारको नेतृत्वमा अर्थात् प्रधानमन्त्रीको भूमिकामा छन् । तर चैत १३ गते प्रधानमन्त्री बनेयता उनले संसद्मा उभिएर एक शब्द पनि बोलेका छैनन् । प्रतिपक्षले निरन्तर सदनमा उपस्थित भएर जवाफ दिन माग गरिरहँदा पनि उनी मौन देखिए ।
रास्वपाको सचिवालय बैठकमा समेत उनी प्रायः अनुपस्थित रहने गरेका छन् । बरु उनले आफ्नो तर्फबाट महामन्त्री भूपदेव शाहलाई सचिवालयमा जिम्मेवारी दिएका छन् । पार्टी स्रोतका अनुसार सचिवालयका गतिविधिबारे बालेनले शाहमार्फत जानकारी लिने गरेका छन् ।
रास्वपामा प्रवेश गरेपछि बालेन पहिलोपटक २०८२ माघ ४ गते पार्टी कार्यालय पुगेका थिए । वरिष्ठ नेताको पदभार ग्रहण गर्न पुगेका उनी त्यतिबेला करिब १५ मिनेट मात्रै बसेका थिए । त्यसपछि पनि उनी एकपटक कार्यालय पुगे, तर लामो समय बसेनन् । हालसम्म जम्मा दुईपटक मात्रै पार्टी कार्यालय पुगेका बालेनले भने विभिन्न सार्वजनिक मञ्चमा सक्रिय उपस्थिति जनाइसकेका छन् ।
फागुन २१ गतेको चुनावी प्रचारका क्रममा समेत उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नाम विरलै उच्चारण गरेको नेताहरूको गुनासो छ । पछिल्लोपटक बुधबार र बिहीबार संसद्मा प्रतिपक्षले प्रधानमन्त्रीको खोजी गरिरहँदा पनि उनले उपस्थित हुन आवश्यक ठानेनन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला संसद् छाडेर बाहिरिएको घटनालाई समेत धेरैले अस्वाभाविक भएको टिप्पणी गरे। बालेनको कार्यशैलीप्रति रास्वपाभित्र असन्तुष्टि बढ्दै गएको बताइन्छ । तर नेताहरू खुलेर बोल्न भने डराइरहेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको गैरजिम्मेवार व्यवहारले जनता र सांसदहरूको अपमान हुने बताएका छन् । उनले संविधान र विधिभन्दा बाहिर गएर शासन सञ्चालन गर्न नहुने सुझाव दिएका छन् ।
निर्वाचनअघि ‘चुपचाप घण्टीछाप’ अभियान चलाएका रास्वपाका नेताहरू अहिले बालेनको कार्यशैलीबारे पनि चुपचाप नै देखिएका छन् । पार्टीभित्र गहिरो असन्तुष्टि हुँदाहुँदै नेताहरू खुलेर बोल्न चाहिरहेका छैनन् । केही नेताहरूले प्रधानमन्त्रीसँग आफ्नो पहुँच नरहेको भन्दै सभापति रवि लामिछानेमार्फत गुनासो पुर्याउने गरेको बताएका छन् ।
बालेन किन पार्टी बैठकहरूमा सहभागी हुँदैनन् ? किन संसद्मा उपस्थित भएर जवाफ दिँदैनन् ? भन्ने प्रश्नमा रास्वपाका नेताहरूको मौनता अझै रहस्यमय बनेको छ ।
