`

‘मलाई केही थाहा छैन’ : गर्भवतीको आरोपबारे सांसद कार्कीको प्रतिक्रिया

Nepal One HD ५ जेठ २०८३ १३:०५
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की ले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफू अनभिज्ञ रहेको बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक भइरहेका सामग्रीबारे आफूलाई जानकारी नभएको दाबी गरे। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको समाचारप्रति प्रतिक्रिया दिन आग्रह गरिएपछि उनले आफूमाथि लगाइएको आरोप पुष्टि हुने कुनै प्रमाण नभएको जिकिर गरे।

आफूमाथि फैलाइएको भिडियो र विवरणमा देखाइएको व्यक्तिसँग आफू नमिल्ने दाबी गर्दै उनले शरीरमा ट्याटु नभएको देखाएर आरोपको खण्डन गर्ने प्रयास गरेका थिए। साथै, उनले विषयमा आवश्यक अनुसन्धान भएपछि मात्रै थप प्रतिक्रिया दिने बताए।

कार्कीले आफू लामो समयदेखि नेपालबाहिर बस्दै आएको उल्लेख गर्दै विगतसँग जोडेर गरिएका आरोपहरू आधारहीन भएको दाबी गरे। उनले प्रमाणबिनै आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

यसैबीच, उनी संसद्मा बोल्न नाम टिपाएर पनि नबोलेको विषयसमेत चर्चामा आएको थियो। कार्कीले भने आफूले शून्य समयमा बोल्न हस्ताक्षर नगरेको दाबी गरेका छन्।

संक्षिप्त प्रतिक्रिया दिएपछि उनी मोटरसाइकल चढेर संसद भवनबाट बाहिरिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *