`

अर्थमन्त्री सदनमा नदेखिएपछि सत्ता र विपक्षी सांसद रिसाए

Nepal One HD ५ जेठ २०८३ १४:०६
राजनीति

काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिबिना सभामुख डोलप्रसाद अर्यालले मंगलबार छलफल अघि बढाएपछि सदनमा तीव्र असन्तोष उत्पन्न भएको छ ।

सभामुख अर्यालले बैठक सञ्चालन गर्ने क्रममा सत्तारुढ र प्रतिपक्ष दुवै पक्षबाट विरोध भएको छ । अन्ततः बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

सभामुख अर्यालले निर्धारित कार्यसूचीअनुसार विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्दा धेरै सांसदले संसदीय परम्परा र प्रक्रियामाथि प्रश्न उठाए।

प्रतिपक्षी दल एमालेका सांसद राजेन्द्र राईले कडा प्रतिक्रिया जनाए ।
रोस्ट्रममा उभिएर उनले भने, ‘अर्थमन्त्री बिना म बोल्दिनँ ।बजेटमाथि उठ्ने प्रश्नको जवाफ दिने व्यक्ति नै सदनमा उपस्थित छैन भने छलफलको अर्थ के ?’

सभामुख अर्यालले उनलाई मनाउने प्रयास गर्दै ‘तपाईं बोल्दै गर्दा अर्थमन्त्री आइपुग्नुहुन्छ, त्यहीबेलादेखि बोलेको गणना गर्छु,’ भने पनि सांसद राईले प्रस्ताव अस्वीकार गरे।

राई रोस्ट्रममा बसेपछि सभामुख अर्याल बैठक स्थगित गर्न बाध्य भए ।

राईभन्दा अघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्री वाग्लेको अनुपस्थितिलाई ‘संसदीय परम्परामाथिको गम्भीर प्रहार’ भने।

सिंहले सदनमा भने, ‘अर्थमन्त्री बिना बजेटको दफावार छलफल कसरी चल्छ ? २० वर्षको कार्यकालमा यस्तो परम्परा कहिल्यै देखिनँ । यस्तो अभ्यास संसदीय मर्यादा र प्रक्रियाविपरीत हो।’

उनले थपे, ‘संसद प्रक्रियाले चल्छ, कसैको व्यक्तिगत निर्णयले होइन। विनियोजन विधेयक अर्थमन्त्रीकै उपस्थितिमा छलफल हुन्छ भन्ने मूल व्यवस्था नै तोडियो।’

सिंहले नयाँ अभ्यासको नाममा स्थापित परम्परा भत्काउने हो भने संसद र संसदीय प्रणालीको औचित्य नै समाप्त मात्रै हुने बताए । यदि त्यसै गर्ने भए सिहदरबार भत्काउन, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *